देउराली । प्रदेश १ को नामाकरण हुँदै लाग्दा जिल्ला प्रशासन कार्यालय माेरङले प्रदेशको राजधानी विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
प्रदेशसभा सचिवालयमामा प्रदेशको नामाकरणका लागि २ वटा प्रस्ताव दर्ता भएका छन् । आज बस्ने प्रदेशसभाको बैठकले उक्त प्रस्तावमाथि छलफल गरी आजै निर्णय गर्न सक्ने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ ।
प्रदेशको नामाकरणको विषयलाई लिएर असन्तुष्ट पक्षले विराध प्रदर्शन गर्दा झडप हुनसक्ने सम्भावनालाई आकलन गर्दै कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधित क्षेत्र ताेकिएकाे सम्बन्धी सूचना जारी गरेका छन् ।
जारी सूचनामा भनिएको छ ' सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९–११–१७ गते दिउँसो ३ः०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ '
सूचनामा आदेश उल्लङ्घन गरी उल्लेखित कार्यहरू गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताइएको छ । हाल विराटनगरका विभिन्न स्थानमा कडा रूपमा सुरक्षाकर्मी खटाइएको छ ।
एमालेका रामबहादुर मगर प्रस्तावक र काङ्ग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव दर्ता भएको छ भने, ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश गर्नुपर्ने भन्दै नेकपा ९एकीकृत समाजवादी०का सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा अर्को प्रस्ताव दर्ता भएको छ ।