सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकामा करारमा कार्यरत एकजना कर्मचारीको विषयमा सूचना माग गर्दै इनरुवा नगरपालिका वडानम्बर ९ का यदुनन्दन यादवले २०७९ मङ्सिर १२ गते निवेदन दिए ।

सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्दै यादवले भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयमा निवेदन पेस गरेको तीन महिना बितिसक्यो । नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम उनले निवेदन दिएका थिए ।

सो निवेदनमा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले दर्ता गरी प्रशासन शाखामा बुझाउन भन्दै निवेदन पेस गरेको एक महिना ९ दिनपछि २०७९ साल पुस २१ गते तोक लगाए । तर, आफूले हालसम्म सो सूचना पाउन नसकेको निवेदक यादवले फोन सम्पर्कमा भने ।

‘जिल्ला प्रशासन कार्यालय सुनसरी, सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार काठमाडौं, राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाललाई बोधार्थ राख्दै निवेदन दिए पनि सोही सूचना पाउन पटक–पटक कार्यालय धाउँदै आएको छु’ उनले भने, ‘तर, कार्यालय प्रमुखले सल्लाह गरेर दिन्छु भन्दै पन्छिँदै आएका छन् ।’ भोक्राहा नरसिंह गाउँपालिकामा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि जितेर आएपछि मनोमानी हिसाबले काम गर्ने गरेको आरोप लगाउँदै अर्का स्थानीय धीरज मेहताले सूचना माग्दा आलटाल गरी पन्छिने गरेको गुनासो गरे ।

आफूले पाउनुपर्ने सूचना नपाएको भन्दै यही फागुन ११ गते बिहीबारका दिन भोक्राहा नरसिंह गाउँपालिकाका प्रवक्ता हारुन अन्सारीले पदबाट राजीनामा दिएका थिए । राजीनामा दिँदै उनले आफूले पटक–पटक ध्यानाकर्षण गराउँदासमेत प्रवक्ताले आफ्नो दायित्व निर्वाह गर्न नदिएपछि पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको बताए ।

भोक्राहा नरसिंह गाउँपालिकाले आफूलाई प्रवक्ता पदमा मनोनयन गरेको नौ महिना बितिसक्दा पनि हालसम्म कार्यपालिकाको कुनै पनि निर्णय सूचना र प्रगति विवरण आधिकारिक तवरबाट बाहिर ल्याउन नदिई गोप्य तवरबाट गर्दै आएको अन्सारीले राजीनामा पत्रमार्फत् आरोप लगाए ।

सोही कारण भोक्राहा नरसिंह गाउँबासीलाई प्रवक्ताबाट हुने गतिविधि तथा जनताको सूचनाको हकअधिकार सुनिश्चित गराउन नसकेको हुनाले प्रवक्ता पदमा बसिरहन उचित नदेखिएको अन्सारीले राजीनामा दिएको उनले बताए । ‘यदि सूचना दिने व्यक्ति आफैले सूचना नपाई राजीनामा दिन्छन् भने त्यहाँका सर्वसाधारण नागरिकको अवस्था के होला ?’–अर्का स्थानीय अन्सारीले भने । ‘केही सीमित कर्मचारी र जनप्रतिनिधिहरू विकास निर्माण कार्य गर्नुभन्दा पनि कमाउ धन्दामा लागेका छन्’–अन्सारीले आरोप लगाउँदै भने । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले आफ्नो नजिकका मान्छेलाई जागिर लगाइदिनेदेखि लिएर विना सूचना आफ्ना परिवारका सदस्यहरूमार्फत् लाखौं लाखको कारोबार गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा अर्का एक स्थानीयले आरोप लगाए ।

भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ४ का वडाध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता हारुन अन्सारीले राजीनामा दिँदै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद केही सीमित व्यक्तिको इसारामा चलेको हुनाले निर्वाचित भएको एक वर्ष पुग्न लाग्दा पनि ठोस काम हुन नसकेको आरोप लगाएका थिए ।

यता भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे कानूनअनुसार दिन मिल्ने सूचना दिन आफूहरू तयार रहेको बताउँछन् । भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरत एक कर्मचारीको विषय निवेदन परेको यथार्थ भए पनि सूचना माग्ने व्यक्ति पुनः सूचना लिन भने नआएको उनको भनाइ छ । ‘एकजनाले सूचना माग्दै निवेदन दिनुभएको हो’ उनले भने, ‘त्यसमा मैले तोक लगाएर प्रशासन शाखामा पठाएको हुँ । त्यसपछि के भयो भन्ने विषयमा जानकारी छैन । यदि प्रशासनले दिनुपर्ने सूचना नदिएको खण्डमा माथिल्लो निकाय अर्थात् कार्यालय प्रमुखसमक्ष आउनुपर्यो नि ?’ कानूनअनुसार कोही कसैले सूचना माग गरेमा आफूहरूले छिटोमा ७ र सूचनाको गम्भीरता हेरेर १५ दिनभित्र सूचना दिनुपर्ने प्रावधान भएको उनले बताए । साथै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सूचना अधिकारी र प्रवक्ताको काम फरक–फरक भएको बताए ।

‘सूचना अधिकारीले कार्यालयभित्र भए गरेका गतिविधिका बारेमा जानकारी गराउने हो’ उनले भने, ‘प्रवक्ता भनेको गाउँपालिकाभित्र भएका गतिविधिका बारेमा कोही कसैले जिज्ञासा राखेको अवस्थामा नीतिगत निर्णयमा भएका विषयहरूको बारेमा जानकारी गराउने हो ।’ भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता हारुन अन्सारीले राजीनामा दिए पनि हालसम्म स्वीकृत नभएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

यता भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद भने आफू निर्वाचित भएर आएपछि हरेक कुरा पारदर्शी तवरबाट गर्दै आएको बताउने गरेका छन् । अध्यक्ष आजादले आफू र आफ्नो परिवारलाई बदनाम गराउन राजनीतिक षड्यन्त्र भइरहेकोे दाबी गरे । ‘निर्वाचित भएको छोटो समयमै आफ्नो नेतृत्वमा शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारीजस्ता जनमुखी काम गर्न थालेपछि केही व्यक्तिलाई सो कुरा मन परेको छैन’ उनले भने, ‘त्यसैले म र मेरो परिवारका सदस्यहरूलाई बदनाम गराउने उद्देश्यले राजनीतिक षड्यन्त्र भइरहेको छ ।’