विराटनगर । मोरङको वन क्षेत्रहरूबाट वन्यजन्तुको चोरीसिकार व्यापकरूपमा बढेकोे छ ।
दुर्लभ वन्यजन्तुको संरक्षण गरिनुपर्नेमा यहाँको सामुदायिक, साझेदारी र पूर्व–पश्चिम राजमार्गमा रहेको चारकोसे वनक्षेत्रबाट वन्यजन्तुको चोरीसिकार व्यापकरूपमा बढेको पाइएको हो ।
मोरङको कानेपोखरी, लेटाङ, केराबारी, बेलबारी, पथरी र उर्लाबारीलगायतका क्षेत्रहरूमा रहेका वनहरूबाट अहिले मृग, जरायो, चित्तल, हरिण, बँदेलजस्ता वन्यजन्तुको चोरीसिकार हुने गरेको छ भने बेलाबखत दुर्लभ रेडपाण्डा, निलगाईलगायतका वन्यजन्तुहरूको अवैध व्यापार हुने गरेको छ ।
कानेपोखरी गाउँपालिकाभित्र पर्ने ग्रामीण सुधार सामुदायिक वनमा वन्यजन्तुको चोरीसिकार गर्ने क्रम झन् बढेको स्थानीय बताउँछन् । सम्बन्धित निकाय मौन रहँदा वन्यजन्तुको सिकार यहाँका सिकारीहरूले गर्दै आएका छन् । पछिल्लो समय एक हप्तामा दुईओटा हरिण सिकारीको गोली लागेको अवस्थामा भेटिएको छ ।
कानेपोखरी गाउँपालिका–७ स्थित शुक्रबारेमा गोली लागेको अवस्थामा दुई वर्षको पोथी हरिण घाइते अवस्थामा फेला परेको थियो । गर्भ रहेको सो हरिणको तिघ्रामा गोली लागेको थियो ।
सिकारीको गोली लागेपछि गाउँ पसेको हरिण कुकुरले खेदाउँदै गर्दा गाउँलेहरूले फेला पारी नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरीले घाइते हरिणको उद्धार गरी उपचारका लागि कानेपोखरी गाउँपालिकामा ल्याएका थिए । जीवित हरिणको कानेपोखरी पशु शाखाले उपचार गर्दागर्दै केही छिनमा मृत्यु भएको थियो । एकहप्ताअघि पनि सिकारीको गोली लागेर एक भाले हरिण पूर्व–पश्चिम राजमार्गमा घाइते अवस्थामा सडकमा भेटिएको थियो ।
घाइते भेटिएको हरिण केहीबेरपछि मरेको थियो । वनक्षेत्रमा हुने यस्ता अवैध क्रियाकलाप नियन्त्रण गरी समग्र वन्यजन्तुको संरक्षण, सम्बर्धन र व्यवस्थापन गरिनुपर्नेमा अहिले चोरीसिकार बढेको हो । वनभित्र रहेको विभिन्न प्रजातिका वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व पनि बढेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा सिकारबाट ८ वटा मृग घाइते भएको डिभिजन वन कार्यालय मोरङको अभिलेखमा देखिन्छ । यस्तै निर बिरालो २, गिद्ध, सिलु बिरालो, कछुवा, भुँडीफोर निलगाई सिकारीको गोली लागेर १–१ वटा घाइते अवस्थामा भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको फागुन १ गतेसम्ममा तस्कर समूहले वन्यजन्तुको सिङ तस्करी गर्ने क्रममा प्रहरीले दुई थान हरिण र चित्तलको सिङ बरामद गरेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए । आर्थिक वर्ष २०७८÷०७९ मा सुगा पंक्षी २२ थान, हरिणको सिङ ५ थान, सुनगोहोरो बरामद गरेको उनले बताए ।
वन्यजन्तुसँगै वन क्षेत्रबाट काठ पनि तस्करी हुने गरेको छ । रातपरेपछि वन क्षेत्रबाट बहुमूल्य साल प्रजातिका काठ तस्करी हुने गरेको हो । वन्यजन्तु चोरी सिकार र वनपैदावर तस्करी मौलाएसँगै डिभिजन वन कार्यालयले रातदिन गस्ती बढाइरहेको सूचना अधिकारी ठाकुरले बताए । जिल्लास्थित १२ वटै सवडिभिजन कार्यालयबाट सबै कर्मचारीले चरणबद्ध रूपमा गस्ती गर्ने गरिएको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी ठाकुरले बताए ।
‘मोरङमा १२ वटा सवडिभिजनहरू रहेका छन् । त्यहाँबाट दैनिक गस्ती हुने गरेको छ । सिकारीहरूले दिउँसोभन्दा पनि साँझ परेपछि वन्यजन्तुलाई पासो थाप्ने गरेको पाइएको छ’–उनले भने । मोरङमा सामुदायिक १ सय ३४, साझेदारी ४ र धार्मिक वन १२ वटा रहेका छन् । अहिले सामुदायिक, साझेदारी र चारकोसे जङ्गलबाट बढी चोरीसिकार हुने गरेको छ ।