धरान । चोरी घटनामा प्रहरीको क्षमतामाथि पीडितले प्रश्न उठाउन थालेका छन् ।

धरान–११ को एप्पल मन्टेस्वरीमा माघ १४ गते चोरीको प्रयास भयो । चोरको समूहले मन्टेस्वरीको ढोकाको चाबी फोडी स्कुलभित्र प्रवेश गरेर तोडफोड गरेको सिसीटिभी फुटेजमा देखिन्छ । तर, बहुमूल्य सामग्री चोरी गर्न नपाएको मन्टेस्वरीका व्यवस्थापक दीपक साम्सोहाङ बताउँछन् । उक्त घटना भएको भोलिपल्टै इलाका प्रहरी कार्यालय धरानमा गई निवेदन दिएको उनी बताउँछन् । तर, हालसम्म पनि उक्त घटनामा संलग्न पक्राउ परेको नसुनिएको र प्रहरीहरू हालसम्म पनि सर्जमिन गर्न स्कुल परिसरमा नआएको उनको भनाइ छ । ‘चोरी भएको भोलिपल्टै निवेदन दिएका थियौँ, प्रहरीबाट केही रेस्पोन्स आएको छैन’ उनले भने, ‘पुलिस प्रशासन मौन नै देखियो । सर्जमिन केही भएन ।’ उनका अनुसार सिसीटीभीको फुटेजसमेत प्रहरीलाई दिइएको थियो ।

उक्त क्षेत्रमा मात्रै पछिल्लो २० दिनमा दुई स्थानमा चोरी भएको छ । ‘यो लाइनमा चोरी हुँदै छ है भनेर प्रहरीलाई जानकारी गराएका थियौँ, प्रहरीले हुन्छ हामी आउँछौँ भनेको तर, अहिलेसम्म आएको छैन’–उनले भने । हाल बेलायतमा बस्दै आएका ध्रुव सुनुवारको घरमा प्रवेश गरेर ग्यास सिलिन्डरलगायतका थुप्रै सामान चोरी भएको स्थानीय गायत्रीप्रसाद दाहालले बताए । ‘यहाँचाहिँ कोही पनि छैन, सामान के कति थियो, डाङ्डुङ ताला फोडेको थियो’–उनले भने । माघ २६ गते बिहानको राति धरान–१७ इन्द्रेणी मार्गमा सन्तोष बराइलीको करिब साढे ६ तोला बराबरको सुनका गहना चोरी भएको छ । सन्तोषका भाइ अर्जुनकुमार विकका अनुसार बेहुली भिœयाएको रात बिहे भोज गरिरहेको समयमा सुनका विभिन्न गहना राखेको सुटकेस नै चोरी भएको थियो । घटना रातको करिब १ बजेतिर भएको उनको भनाइ छ । घटना भएको भोलिपल्ट अर्थात् माघ २७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेको भए पनि हालसम्म कोही पक्राउ नपरेको उनले बताए । ‘प्रहरीले जोमाथि शङ्का लाग्छ, निगरानी गर्दै गर्नू भनेर भन्नुहुन्छ’–उनले भने । सुटकेसमा राखेको तीनजनाको सुन चोरी भएको छ ।

धरान–१८ का सुदीप बास्फोरका अनुसार माघ ४ गते रातको समयमा तीनवटा फोन चोरी भएको थियो । चोरी भएलगत्तै माघ ५ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको उनले बताए । ‘माघ ४ गते राति एक बजेदेखि लिएर साढे ५ बजेको बीचमा तीनवटा फोन चोरी भयो । एउटा साधारण फोन थियो । अरू दुइटा चाहिँ पोको एक्स थ्री र हुवावे कम्पनीको थियो’–उनले भने । यसबारेमा हालसम्म पनि प्रहरीले केही कारबाही गरेको आफूलाई जानकारी नआएको बताए । उजुरी दिन गएको बेला आइएमई नम्बरबाट पनि पत्ता लाग्ने भन्दै आफूहरूलाई आश्वासन दिएको बताए । शृङ्खलाबद्ध चोरीको घटना बढे पनि प्रहरीको क्षमतामाथि चोरीबाट पीडित बनेकाहरूले प्रश्न गरेका छन् । ‘चोरीको घटना यतिबिघ्न बढ्दा पनि प्रहरी प्रशासनले कुनै ध्यान दिएको छैन’ चोरीबाट पीडित बनेका धरान–१८ का सन्तोष कोइरालाले भने, ‘धरानमा प्रहरी प्रशासन छैन जस्तो अवस्था आएको छ । चोरीको घटना मात्रै हैन, कट्टी, छुरी आतङ्क पनि बढेको छ ।’

चोरीको घटनामा चोर पक्राउ नपरेको घटना यी मात्रै होइनन् । यसअघि पनि शृङ्खलाबद्ध चोरी भए पनि चोर पक्राउ नपरेको थुप्रै उदाहरण छन् । यो नै पहिलो र अन्तिम घटना भने होइन । चोरी र लुटपाटमा भने प्रहरी हरेक पटक चुकेको छ । प्रहरी असफल भएका प्रतिनिधि घटनाबाहेक पनि थुप्रै ठूला चोरीको घटनामा प्रहरी असफल भएको छ । आखिर किन चुक्छन् त प्रहरी ? हालै अवकाशप्राप्त इन्स्पेक्टर दुर्गाप्रसाद पराजुली भन्छन्, ‘चोरीको अपराध अन्य अपराधभन्दा फरक हुन्छ । यसमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने हुन्छ । शङ्काकै आधारमा कसैलाई ल्याएर थुन्न पाइँदैन । सबुतसहित प्रमाण पेश गर्नुपर्छ । घटनास्थलमा बरामद भएको प्रमाणले पुष्टि गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार प्रहरीको सक्रियता व्यापक हुनुपर्ने र सम्बन्धित व्यक्ति नै पनि सचेत हुन आवश्यक हुन्छ । ‘प्रहरीले चौबीसै घण्टा निगरानी गर्नुप¥यो, तैनाथ हुनुप¥यो । चोरीको घटनामा व्यक्ति आफै पनि चङ्ख हुनुप¥यो’–उनले भने ।

इलाका प्रहरी कार्यालय धरानमा हालै सरुवा भई आएका डिएसपी नवराज मल्लका अनुसार केही चोरीको घटनाको विषयमा आफूलाई रिपोर्टिङ भएको छ । ‘घर फोड्नेलगायतको सूचना पाएको छैन । गाडीको ब्याट्री चोरेको रिपोर्टिङ भएको छ’–उनले भने । चोरीको घटनामा किन पक्राउ पर्न सक्दैनन् भन्ने प्रश्नमा उनले थपे, ‘चोरीको घटनामा पहिलो चाहिँ चोरी भएको दशीको सामान फेला पर्नुपर्छ । नर्मल्ली चोरीको मुद्दा दर्ता नै कमी हुन्छ । चोर आइडेन्टीफाइङ गर्न पनि गाह्रो हुन्छ । चोरीको घटनामा चोर पक्राउ परेको चाहिँ कम होला । तर, प्राथमिकता कम भएको भन्ने चाहिँ होइन ।’

प्रहरी असफल भएका विगतका ठूला चोरी घटना
घटना नम्बर १ः डिएसपी सुदम सिजापतीको पालामा २०७२ साउन ११ गते केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापक पशुपति मिश्रको ८ तोला सुन तथा चाँदी, २ वटा ट्याबलेट, ज्याकेटलगायतका सामग्री चोरी भए । अपरान्ह १२ बजेदेखि २ बजेको समयमा भएको उक्त घटनामा तत्कालीन डिएसपी सिजापतीले अनुसन्धान गरे पनि चोर पत्ता लगाउन सकेनन् । त्यो हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।

घटना नम्बर २ः डिएसपी ढकेन्द्र खतिवडा रहेको समयमा २०७४ चैत्र ४ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताको सनराइज बैङ्कको काउन्टरको सटर फोडेर चोरी भयो । तत्कालीन समयमा बैङ्कले दिएको जानकारीअनुसार ४ लाख ४७ हजार २ सय ६६ रुपैयाँ चोरी भएको थियो । २४ सै घण्टा सुरक्षागार्ड र प्रहरीको निगरानी हुने बैङ्कको काउन्टर चोरीको घटनाका आरोपित हालसम्म नियन्त्रणमा आउन सकेका छैनन् ।

घटना नम्बर ३ः डिएसपी ढकेन्द्र खतिवडा नै रहेका बेला २०७४ चैत्र १५ गते कलेज रोडस्थित विपेन्द्र भट्टराईद्वारा सञ्चालित मोबाइल पसलमा सटर फोडेर चोरी गरे । चोरीमा दुईजना संलग्न भएकोसम्म बजारमा राखिएको सिसीटीभी फुटेजमा देखिएको थियो । जहाँ भट्टराईको करिब १३ लाख रुपैयाँ बराबरको विभिन्न कम्पनीमा मोबाइल चोरी भएका थिए । त्यो घटनाका आरोपित अहिले पनि नियन्त्रणमा आउन नसकेको तेस्रो ठूलो घटना हो ।

त्यसैबीचमा पत्रकार सन्तोष काफ्लेको ल्यापटप र डिएसएलआर क्यामेरा चोरी भयो । डिएसपी खतिवडा सरुवा भएर जाने समयमा भएको त्यो घटनाको आरोपित पनि हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।