विजयपुर । जोगवनी–किमाथाङ्का व्यापारिक राजमार्ग अन्तर्गत धरान बजारमा पर्ने ५ किलोमिटर सडक निर्माण अझै अन्यौल छ ।धरान बजारभित्रको ५ किलोमिटर सडक आसपासका स्थानीयले बाइपास गर्नुपर्ने माग गर्दै आएका छन् भने बजारमा नपर्नेहरूले निर्धारित ठाउँमा नै कम्तिमा ४ लेनको सडक निर्माण गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
सडकछेउका स्थानीयले कुनै पनि अवस्थामा सडक बाइपास गर्नुपर्ने अडान लिँदै आएका छन् । बाइपास गर्दा धरान बजार उपेक्षित हुने एक पक्षको चिन्ता छ भने सडक प्रभावित क्षेत्रकाहरू भने आफ्नो घरजग्गा जाने चिन्तामा छन् ।
राजमार्ग कहाँ बाइपास गर्ने भन्ने निर्विवादित स्थान पनि नभएकाले राजमार्ग निर्माण झनै अन्यौलतातिर धकेलिएको छ । अन्यौलताकाबीच धरानका नगरप्रमुख हर्कराज राईले भानुचोक दक्षिणतर्फ ७२ फिट निर्माण गर्न आयोजनालाई पत्राचार गरेका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख राईले ७२ फिट निर्माण गर्न आयोजनालाई पत्राचार गरेको बताए । उनले भने, ‘भानुचोदेखि दक्षिण विवाद नभएकाले ७२ फिट निर्माणका लागि पत्राचार गरेको छु । निर्माण गर्ने वा नगर्ने आयोजनाको कुरा भयो । पत्राचार गर्दैमा निर्माण गरिहाल्छ भन्ने छैन ।’
नगरको ७२ फिट निर्माण गर्ने पत्र आए पनि तत्काल निर्माण कार्य सुरु नहुने आयोजना प्रमुख दानबहादुर शाक्यले बताए । उनले नगरको पत्र प्राप्त भएकाले प्रक्रियामा जाने बताए । उनले भने, ‘कम्तिमा १ सय फिट माग गरेका थियौँ । नगरले ७२ फिटमा निर्माण गर्नू भन्ने पत्राचार गरेकोले मन्त्रालय र विभागमा जानकारी पठाउँछौँ । स्वीकृत भई आएमा काम सुरु गर्छौं । स्वीकृति नआए र १ सय फिट खाली नगरे बनाउँदैनौं ।’
नेपाल सरकारले २०३१ सालमा सडक ऐन बनाई राजपत्रमा प्रकाशित गरेको थियो । उक्त राजपत्रमा स्पष्टसँग कोसी राजमार्ग सडकको केन्द्रबाट ३१–३१ मिटर सडक निर्माण गर्ने भनी निर्णयसहितको सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।
२०३१ सालमा नै राजमार्गको मापदण्ड केन्द्रबाट दायाँबायाँ ३१–३१ मिटरको हुने राजपत्रमा प्रकाशित गरे पनि तत्कालीन समयमा नगरले घर निर्माणका लागि नक्सा पास गरी इजाजत दिएका कारणले अहिले तिनै संरचना नगरको टाउको दुखाइको विषय बनेको हो ।
धरान नगर कार्यालयको तथ्याङ्कअनुसार बजार क्षेत्रमा हाल ६ वटा वडाका १ हजार १ सय १४ वटा घर पर्छन् । तथ्याङ्क भने केही तलमाथि हुनसक्ने नगरको सहरी पूर्वाधार विकास महाशाखाले जनाएको छ । आयोजनाले २०३१ सालमा राजमार्गको क्षेत्र सार्वजनिक गर्दै मुआब्जाका लागि दाबी गर्न पनि सूचना प्रकाशित गरेको बताउँदै आएको छ ।
आयोजनाले कतिपयले मुआब्जा पाएको र कतिपय स्थानीयले सूचना नहेरेका हुनसक्ने जनाउँदै आएको छ । असारसम्म राजमार्गको काम अघि नबढे योजनाले निर्माणको काम छाडेर जानेछ ।