विराटनगर । विराटनगर विमानस्थलको नयाँ अत्याधुनिक सुविधा सम्पन्न टर्मिनल भवन निर्माण प्रक्रियाको काम सुरु भएको छ ।
टर्मिनल भवन भ्याटबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार लागतमा निर्माण सुरु भएको हो । उक्त टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शिलान्यास गरे ।

१८ सय यात्रु क्षमताको टर्मिनल भवन निर्माणका लागि केसी–डाँफे जेभी निर्माण कम्पनीले गत मङ्सिर ११ गते ठेक्का सम्झौता गरेको छ । मुलुकमा नवनिर्मित पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय टर्मिनल भवनभन्दा ठूलो १६ हजार २ सय ७७ दशमलव ८३ वर्गमिटरमा उक्त टर्मिनल भवन निर्माण सुरु भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्गमिटरको छ । गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्गमिटरको छ । विमानस्थलको दीर्घकालीन विकासका लागि देशकै ठूलो टर्मिनल भवन निर्माण गर्न लागिएको उनले बताए । विराटनगरमा बन्दै गरेको टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको बताइएको छ ।

विमानस्थलको धावनमार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर, बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो । विमानस्थल विस्तारको योजना तत्काल अघि नबढे पनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो ।

तीन वर्षभित्र टर्मिनल भवन निर्माण पूरा गरिसक्नुपर्नेछ ।  यसअघि २०२५ साल असार ९ गते विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो । ५० वर्ष पुरानो भवन विस्थापित गरेर नयाँ अत्याधुनिक टर्मिनल भवन बन्न लागेको हो ।

टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हललगायतको अत्याधुनिक सुविधा रहनेछन् । पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङस्थल बनाउने तयारी छ ।

यसअघि १३ अर्बको गुरुयोजना निर्माण गरी विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको विमानस्थलको रूपमा विस्तारका लागि तीन तहको सरकारबीच सम्झौता भएर जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषद्को २०७७ कात्तिक २७ गतेको निर्णयले १ सय २६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले जग्गाधनीहरूलाई मुआब्जा वितरणका लागि सूचनासमेत सार्वजनिक गरिसकेका थिए । तर, अघिल्ला सङ्घीय सरकारले मुआब्जा वितरणका लागि बजेट विनियोजन नगरेपछि जग्गाधनीको दबावमा मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयले अघिल्लो निर्णय फिर्ता लिएको थियो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, विराटनगर महानगर प्रमुख भीम पराजुलीलगायतको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरबीच त्रिपक्षीय सम्झौता भएको थियो । विमानस्थलको हाल रहेको एक हजार पाँच सय मिटर लम्बाइको धावनमार्गलाई तीन हजार मिटरमा विस्तार गर्न सम्झौता गरेको थियो । विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सङ्घीय सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत साझेदारी गर्ने समझदारी पत्रमा उल्लेख थियो ।

विराटनगर विमानस्थलबाट हाल यती एयरलाइन्सको ४, बुद्ध एयरलाइन्सको ७, सौर्यको २ र श्री एयरलाइन्सको ३ गरी दैनिक १६ वटा उडान भइरहेको छ ।

विमानस्थलको टर्मिनल भवनको शिलान्यास गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नयाँ बन्ने टर्मिनल भवनले प्रदेश १ को विकासमा कोसेढुङ्गा सावित हुने बताए । उनले ठेकेदारलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिए । ‘कुनै पनि काम सुरु गर्नु ठूलो कुरा हो । त्योभन्दा पनि ठूलो कुरा समयमै सम्पन्न गर्नु हो । समयमै सम्पन्न गरी गुणस्तरीय काम हुनुपर्दछ’–मन्त्री किरातीले भने । नयाँ बन्ने सुविधा सम्पन्न टर्मिनल भवन सहज तरिकाले देश र जनताको पक्षमा गर्नुपर्ने उनले बताए ।