धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयका प्रमुख तीर्थराज चिलुवालले ३२ औँ स्थापना दिवसमा भ्रष्टाचारको प्रकृति र प्रवृत्ति परिवर्तन भएको भन्दै चिन्ता व्यक्त गरे ।
बर्सेनि ‘ट्रान्सपरेन्सी इन्टरनेसन’ ले सार्वजनिक गर्ने भ्रष्टाचार अनुभूति सूचकाङ्कमा पनि नेपाल भ्रष्टाचारको दलदलमा फसेको देखाउँछ । सन् २०२२ को सूचकाङ्कमा ३४ अङ्क प्राप्त गर्दै नेपाल ११० औँ नम्बरमा छ । उनले थप इङ्गित गर्दै भने, ‘अहिले नीतिगत रूपमा भ्रष्टाचार हुँदै आएको छ । सूचना प्रविधिका कारणले कतिपय विषय फरक ढङ्गले गरेको अवस्था छ । हिजो आफै गर्थे भने अहिले तेस्रो, चौथो लेयरबाट गर्ने । नगद नलिएर जिन्सी सामान लिने ।’ अख्तियारको इटहरीस्थित कार्यालयमा मात्रै बर्सेनि अख्तियार दुरुपयोग गरेको उजुरी बढ्दो क्रममा छ । गत आर्थिक वर्षमा २ हजार २४ वटा उजुरी परेकोमा चालू आर्थिक वर्षको ६ महिनामा एक हजार ६ सय ३३ वटा उजुरी परिसकेका छन् ।
उनले भने, ‘भ्रष्टाचार अनुभूति सूचकाङ्क २०२२ को प्रतिवेदनअनुसार नेपाल ११० औँ स्थानमा रहनुले भ्रष्टाचारको भयावह अवस्था रहेको छ ।’ आयोगका प्रवक्ता निरजकुमार देवले शनिबार सम्पन्न ३२ औँ स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङ्कमा गत आर्थिक वर्षमा २ हजार २४ वटा उजुरी परेकोमा १ हजार ८० वटा फछ्र्यौट भएको बताए । उनका अनुसार अझै ९ सय ४४ वटा उजुरी फछ्र्यौटको क्रममा छन् । त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा पनि १ हजार ६ सय ३३ वटा उजुरी परेकोमा ६ सय ७४ वटा उजुरी पछ्र्यौट गरिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अख्तियारलाई सघाउन तीन जिल्लामा निगरानी संस्था
आयोगको इटहरीस्थित कार्यालयलाई सहयोग पुर्याउने उद्देश्यले प्रदेश १ का तीन जिल्लामा नागरिक निगरानी संस्था गठन गरिएको छ । यसले भ्रष्टाचारविरुद्धको कार्यमा सहकार्य गर्दै आएको छ । कार्यालयका प्रमुख चिलुवालका अनुसार सुनसरी, मोरङ र इलाममा नागरिक निगरानी संस्था गठन भएको छ । उनका अनुसार अहिले ढुङ्गागिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोतको दोहन अत्यधिक बढेको भनी गुनासो आउने गरेको छ । उनले भने, ‘भ्रष्टाचारजन्य कार्य गर्ने उपर निर्मम रूपमा छानबिन तथा अनुसन्धान गरिरहेका छौँ ।’
आयोगले रातदिन काम गर्दा पनि सेवा प्रवाहको अवस्था गुनासोरहित हुन नसकेको, सार्वजनिक स्रोतको परिचालनमा व्यापक अनियमितता हुने गरेको छ । त्यस्तै विकास व्यवस्थापनको प्रक्रियामा सङ्गठित रूपमा अनियमितता बढेको, गुणस्तर खस्किँदै गएकोले सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको उनले औंल्याए । भ्रष्टाचार नियन्त्रणका लागि आयोगको मात्र उपस्थिति, सक्रियता र भूमिका पर्याप्त नहुने भएकोले सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र सञ्चारजगत् लगायत सबैको बहुपक्षीय भूमिका र सहकार्य आवश्यकता रहेको उनले बताए ।
निबन्ध तथा रक्तदान
स्थापना दिवसको अवसरमा सामुदायिक स्कुलका विद्यार्थीहरूबीच निबन्ध प्रतियोगिता गरिएको छ । ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन’ शीर्षकमा गरिएको निबन्ध प्रतियोगितामा सुनसरी वराहक्षेत्र नगरपालिकाको जडेज माविकी कक्षा ९ का छात्रा कञ्चन पौडेल प्रथम हुँदै नगद १२ हजार रुपैयाँ जितिन् । त्यस्तै बालकल्याण विद्यामन्दिर मोरङका कक्षा १२ का छात्रा अनुष्का रेग्मी दोस्रो भइन् । उनले नगद ९ हजार रुपैयाँ पाइन् भने कवि शिरोमणि मावि झापाका कक्षा ११ मा अध्ययरत छात्रा उषा निरौला तेस्रो भइन् । उनले ७ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र पाइन् ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको छ । यस्तै कार्यालयमा कार्यरत कर्मचारीहरूबीच विभिन्न विधाका खेलकुद प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा विजेताहरूलाई प्रमाण–पत्र वितरण गरिएको छ । यसैबीच अर्धवार्षिक अवधिमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई मापदण्डका आधारबाट मूल्याङ्कन गरी उत्कृष्ट हुने कर्मचारीलाई नगदसहितले पुरस्कृत गरिएको छ । कार्यालयमा लामो समयदेखि कर्तव्यनिष्ठ कर्मचारीलाई दोसल्ला ओढाई सम्मानित गरियो ।