वराहक्षेत्र । धरान–चतरा सडक कालेपत्रे नहुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन् । सडकको दुरावस्थाका कारण टाढाबाट प्रसिद्ध धार्मिकस्थल वराहक्षेत्र र चतराधाम आउने तीर्थालुहरूले पनि वर्षौंदेखि समस्या भोग्दै आएका छन् ।

सप्तकोसी नदीमा पुल बनेपछि धरानबाट चतरा हुँदै उदयपुर र अन्य जिल्ला जाने गाडी पनि यही बाटोमा सञ्चालन हुन्छन् । वराहक्षेत्रको हाटखोलासम्म र धरानको पटनालीसम्म कालोपत्रे सडक भए पनि बीचको भागमा पर्ने बगुवादेखि खारखोलासम्म सडक कालोपत्रे हुन सकेको छैन । यात्रुले सबैभन्दा बढी समस्या यही क्षेत्रमा भोग्नुपर्छ ।

वराहक्षेत्रवासीको सहरसँग जोडिने सबैभन्दा छोटो बाटो धरान–चतरा सडक नै हो । चतराका बासिन्दाहरू स्वास्थ्य उपचारदेखि व्यापार–व्यवसायका लागि पनि धरान ओहोर–दोहोर गर्नुपर्छ । तर, खाल्डाखुल्डी र धुलाम्य सडकका कारण यात्रा गर्न कठिन छ । स्थानीय यातायात व्यवसायी हरि लम्साल धरान–चतरा सडकमा हिउँदमा धुलो र वर्षामा खोलाले समस्या निम्त्याउने बताउँछन् । सडकसँगै बाघखोला र बगुवा खोलामा पुल बन्न नसक्दा जोखिम मोलेर खोलामा गाडी कुदाउनु परेको उनको भनाइ छ । उनी भन्छन्, ‘वर्षायाममा खोला उर्लेर आउँछ । बाटो नै बन्द हुँदा नहडा घुमेर जानुपर्ने बाध्यता छ ।’

धरान–चतरा सडक बनाउने विषयमा चर्चा हुन थालेको धेरै वर्ष बितिसक्यो । यो सडक बनाउन सरोकारवालाले चासो नदिएको स्थानीय व्यवसायी कृष्ण कट्टेल बताउँछन् । उनी भन्छन्, ‘नगरपालिकाले सडक छिटो बनाउनका लागि पहल गर्नुपर्छ ।’

२०७० सालमा धरान–चतरा पक्की सडकका लागि चतरादेखि सर्दुखोलासम्म साढे १२ किलोमिटर सडकका लागि काठमाडौंको बालाजुस्थित नागार्जुन कन्स्ट्रक्सनले ६ करोड ४२ लाख १७ हजार १ सय १ रुपैयाँमा ठेक्का पाएको थियो । तर, नागार्जुनले सडक अलपत्र पारेर बीचैमा छाडेपछि हजबुल मियाँ अन्सारीको एचएम विल्डर्सले सडक निर्माणको ठेक्का पायो । तर, बनेको केही महिना नबित्दै सडक धेरै ठाउँमा उप्किएको थियो ।

पछि सङ्घीय सरकारले चुरे र भित्री मधेसलाई काठमाडौंसँग जोड्ने मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको थियो । दुई लेन सडकको राजमार्ग धरान–चतरा–गाईघाट खण्डको अरू स्थानमा काम भइरहेको छ । तर, धरानको सर्दु खोलादेखि वराहक्षेत्र नगरपालिका–१ को खारखोलासम्म करिब ९ किलोमिटर सडकको काम भने अझै सुरु हुन सकेको छैन ।

वराहक्षेत्र–१ का अध्यक्ष किसन थापा मगरले सडकको सम्बन्धमा स्थानीयसँग छलफल गरिएको बताए । वराहक्षेत्र–१ बगुवाका स्थानीय ईश्वर थापाले  सडकको दायाँ र बायाँ दुवै किनारमा अढाई मिटर जग्गा दिने सहमति भएको बताए ।

राजमार्गको सर्दु र बगुवाखोला खण्डको ‘कालोपत्रे स्तरोन्नति गर्ने कार्य’ को ठेक्का काठमाडौंको महाराजगञ्जस्थित श्रेष्ठ–मोतीदान ज्वाइन्ट भेन्चरले ७४ करोड ६३ लाख ३६ हजार ६ सय ८५ रुपैयाँमा  लिएको हो । २०७८ असार २८ गते सम्झौता भएर २०८० साल पुस २८ गते निर्माण समाप्त हुने भनिएको सडकको काम अझै सुरु भएको छैन ।

काम किन सुरु नभएको भनेर जिज्ञासा राख्दा चाकुपाट ललितपुरस्थित मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका इन्जिनियर शिवशरण तिमिल्सिनाले अर्थ मन्त्रालयबाट सडकको लागि बजेट पास नभएको बताए । उनले सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भएको र वातावरणीय अध्ययनको काम भइरहेको भन्दै त्यसपछि मात्र बजेटको सहमति हुने बताए ।

उता सडक विभागले सडक–खण्डको बाघखोला र बगुवा खोलामा बनाइने पुलको ठेक्का लगाएको छ । त्यसको डिजाइन पनि तयार भएको तिमिल्सिनाले बताए । बाघखोलाको धर्मद्वार भनिने स्थानमा ६० मिटर लम्बाइ र ११ मिटर चौडाइ तथा बगुवाखोलामा ३० मिटर लामो पुल बन्ने उनले बताए ।

एकातिर धरान–चतरा सडक–खण्ड राजमार्गको स्तरोन्नतिको लागि ठेक्का लागेर पनि बजेट पास हुन नसकेपछि काम सुरु हुन सकेको छैन भने अर्कोतर्फ सडक–खण्डको दुवै खोलामा बनाइने भनिएको पक्की पुलको डिजाइन तयार भएर पनि काम अगाडि बढ्न सकेको छैन् । पुलको ठेक्का सूर्य एण्ड सन्सले लिएको बुझिएको छ ।