धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा बर्सेनि २ हजारभन्दा बढी उजुरी पर्दै आएको कार्यालयले जनाएको छ । 

नेपाल भ्रष्टाचार अनुभूति सूचकाङ्कमा ११० औँ स्थानमा छ । भ्रष्टाचारको प्रकृति र प्रवृत्ति पनि परिवर्तन हुँदै गएको सन्दर्भमा आयोगले ३२ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवस मनाउने क्रममा गत वर्ष २ हजार २४ वटा उजुरी परेकामध्ये आधा अर्थात १ हजार ८० मात्रै फर्छ्यौट गरेको प्रवक्ता निरजकुमार देवले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

अझै ९ सय ४४ वटा उजुरी फर्छ्यौटका क्रममा छन् । चालू आर्थिक वर्षको ६ महिनामा पनि १ हजार ६ सय ३३ वटा उजुरी परिसकेकोमा ६ सय ७४ वटा उजुरी पर्छ्यौट गरिएको उनले जनाए । भ्रष्टाचारको प्रवृत्ति र प्रकृति पनि परिवर्तन हुँदै गएकाले चिन्ताको विषय भएको इटहरीका अख्तियार प्रमुख तीर्थराज चिलुवालले जानकारी दिए । उनले भने, ‘कार्यालयले लक्ष्य निर्धारण गरी कार्ययोजना अनुरूप पर्छ्यौट गर्दै आएको छ । कार्यालयले भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

इटहरीस्थित कार्यालयलाई सहयोग पु¥याउनका लागि तीन वटा जिल्लामा नागरिक निगरानी संस्था गठन गरी भ्रष्टाचारका विरुद्धको कार्यमा सहकार्य गर्दै आएको उनले जानकारी दिए । उनले भने, ‘भ्रष्टाचार अनुभूति सूचाकाङ्क २०२२ को प्रतिवेदनअनुसार नेपाल अझै ३४ अङ्कका साथ ११०औँ स्थानमा रहनुले भ्रष्टाचारको भयावह अवस्था रहेको छ ।’

Ithari_akhatiya_news (3)

उनले भ्रष्टाचारजन्य कार्य गर्ने उपर निर्मम रूपमा छानविन तथा अनुसन्धान गरिरहेको बताए । उनले अझै पनि सेवा प्रवाहको अवस्था गुनासोरहित हुन नसकेको, सार्वजनिक स्रोतको परिचालनमा व्यापक अनियमितता हुने गरेको, विकास व्यवस्थापनको प्रक्रियामा सङ्गठित रूपमा अनियमितता बढेको, गुणस्तर खस्किदै गएको,  ढुङ्गा, गिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोतको दोहन अत्याधिक बढेकोले यस्ता कार्यमा नियन्त्रण गर्न र खबरदारी गर्न सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको औल्याए । 

भ्रष्टाचार नियन्त्रणका लागि आयोगको मात्र उपस्थिति, सक्रियता र भूमिका पर्याप्त नहुने भएकोले सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगत् लगायत सबैको बहुपक्षीय भूमिका र सहकार्य आवश्यकता रहेको बताए । 

निबन्ध तथा रक्तदान कार्यक्रम

३२ औँ स्थापना दिवसको अवसर पारेर सामुदायिक स्कुलका विद्यार्थीहरूबीच निबन्ध प्रतियोगिता गरिएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन’ शीर्षकमा रही तयार पारिएको निबन्धमा सुनसरी वराहक्षेत्र नगरपालिकाको जडेज माविकी कक्षा ९ का छात्रा कन्चन पौडेल प्रथम भएकी छन् । उनले नगद १२ हजार रुपैयाँसहित प्रमाण पत्र पाइन् ।

त्यस्तै बालकल्याण विद्या मन्दिर मोरङका कक्षा १२ का छात्रा अनुष्का रेग्मी दोस्रो भइन् । उनले नगद ९ हजार रुपैयाँ पाइन् भने कवि शिरोमणि मावि झापाका कक्षा ११ मा अध्ययरत छात्रा उषा निरौला तेस्रो भइन् । उनले ७ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र पाइन् । 

यसैबीच नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको छ । यस्तै कार्यालयमा कार्यरत कर्मचारीहरूबीच विभिन्न विधाका खेलकुद प्रतियोगिता गरिएको थियो ।

Ithari_akhatiya_news (2)

उक्त प्रतियोगितामा विजेताहरूलाई प्रमाण–पत्र वितरण गरिएको छ । यसैबीच अर्धवार्षिक अवधिमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई मापदण्डका आधारबाट मूल्याङ्कन गरी उत्कृष्ट हुने कर्मचारीलाई नगदसहितले पुरस्कृत गरिएको छ । कार्यालयमा लामो समयदेखि कर्तव्यनिष्ठ कर्मचारीलाई दोसल्ला ओढाई सम्मानित गरियो ।