विजयपुर । ३३ केभी प्रसारण लाइनबाट धरान उपमहानगरका ४ वटा वडाका स्थानीय ४ दशकदेखि पीडित बन्दै आएका छन् । ३३ केभी विद्युत् प्रसारण लाइनको कारणले स्थानीयले अङ्गभङ्गदेखि मृत्युवरणसम्म गर्नुपरेको छ ।

धरानका ४, १३, १४ र १५ नं. वडाका स्थानीयहरूको घरनजिक र जग्गाबाट ३३ केभी विद्युत् प्रसारण लाइन जाँदा स्थानीयहरू पीडित बन्दै आएका हुन् । हाई भोल्टेज विद्युत् लाइन स्थानान्तरण पहल समितिका संयोजकसमेत रहेका धरान–१३ का स्थानीय जीवनदीप सुब्बा ३३ केभी विद्युत् प्रसारण लाइनबाट ४० वर्षदेखि पीडित बन्दै आएको बताउँछन् । उनी भन्छन्, ‘घरनजिकबाट हाई भोल्टेज विद्युत्को लाइन प्रसारण गर्दा पीडित बन्यौँ ।’ २०७६ सालमा सुब्बा आफै पनि घरनजिकै भएको हाई भोल्टेज विद्युत् प्रसारण लाइनबाट करेण्ट लागेर घाइते भएका थिए । उनी भन्छन्, ‘४० प्रतिशत डढेँ । मरेर बाँचेँको म ।’ उनलाई घरमा काम गर्दैगर्दा करेण्ट लागेका थियो । घरदेखि १ मिटरनजिकै तार भएकाले कसरी करेण्ट लाग्यो भनेर उनलाई जानकारी छैन । उनी मात्रै होइन, ३३ केभी विद्युत् प्रसारण लाइनबाट ४ वटा वडाका ९ सय ५० घरधुरी, २ हजार ५ सय जना मानिस पीडित बनेका छन् । संयोजक सुब्बा भन्छन्, ‘४ वटा वडाका स्थानीयको करिब २९ बिघा जग्गा ३३ केभी प्रसारण लाइनका कारणले खरिदबिक्रीमा समेत समस्या छ । अव्यवस्थित तरिकाले तार कुदाउँदा अन्त्यन्तै पीडित बनेका छौँ ।’

पहल समितिका पूर्र्व संयोजक तथा धरान–१५ का स्थानीय विमल श्रेष्ठ ४० वर्षदेखि ३३ केभी प्रसारण लाइनको त्रासमा बस्नुपरेको बताउँछन् । उनी भन्छन्, ‘चट्याङ् हान्दा, बिजुली चम्कँदा, पानी पर्दा त्रसित भएर बस्नुपरेको छ । विद्युत्को तारबाट पानी चुहेर पनि करेण्ट लाग्दो रहेछ । ४० वर्षदेखि पीडा सहँदै आएका छौँ ।’ उनी हालसम्म करेण्ट लागेर करिब १५ जनाको मृत्यु भएको बताउँछन् । उनी भन्छन्, ‘पानी परेको बेला तारको छेउछाउमा हिँड्न हुँदैन । छतमाथिबाट, आँगनमाथिबाट तार लगिएको छ नहिँडेर के गर्ने ? ४० वर्षदेखि रोएर हिँडेका छौँ ।’

धरान–१४ का स्थानीय प्रेम खापुङ विद्युत् प्रसारण लाइन स्थानान्तरण गर्नका लागि पीडितहरूले नै खर्च व्यहोर्नु पर्ने कुरा उठिरहेको बताउँदै भन्छन्, ‘व्यक्तिगत लागतमा स्थानान्तरण गर्न सम्भव हुँदैन । धेरै लागतको राष्ट्रिय योजना भएकाले सरकारकै लागतमा स्थानान्तरण हुनुपर्छ । उनी थप्छन्, ‘पीडितमाथि झन् पीडित त बनाउनु त भएन नि ।’ यता प्रसारण लाइन जाँचबुझ समितिका संयोजकसमेत रहेका विद्युत् प्राधिकरण धरान शाखाका प्रमुख साजन महर्जन विद्युतीय संरचना स्थानान्तरण कार्यविधि २०७६ अनुसार तत्काल जग्गाबाट पोल बाहिर निकाल्न चाहने सम्बन्धित आवेदकले लागत खर्च व्यहोर्नु पर्ने बताउँछन् ।

लामो समयदेखि पीडित बनेपछि स्थानीयहरू २०७२ सालदेखि स्थानान्तरणका लागि पहलमा लागे । २०७५ सालमा ३३ केभी विद्युत् प्रसारण लाइन स्थानान्तरण पहल समिति गठन गरेर नै लागिपर्दै आएका छन् । पीडितहरू ३३ केभी प्रसारण विद्युत् लाइन स्थानान्तरण गर्नका लागि थुप्रै सरकारी निकाय पुगे । तर, हालसम्म उनीहरूको कुरा कतै सुनुवाइ भएको छैन । पहल समितिका संयोजक जीवनदीप सुब्बा भन्छन्, ‘प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालयदेखि विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङलाई पनि भेट्यौँ । तर, हाम्रो कुरा कतै सुनुवाइ भएन ।’ ४ वटा वडामा ९६ वटा ३३ केभी विद्युत् प्रसारण लाइनका पोलहरू रहेको संयोजक सुब्बाले जानकारी दिए ।

आफ्नो कुरा कतै सुनुवाइ नभएपछि पीडितहरू धरान नगरमा पुगेका थिए । नगरप्रमुख हर्कराज राईले प्रसारण लाइन प्रभावित क्षेत्रको अध्ययन गर्न माघ १२ गते निरीक्षण कार्यदल गठन गरिदिएका थिए । जीवनदीप सुब्बाको संयोजकत्वको समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको छ । समितिको प्रतिवेदनले ३३ केभी विद्युत् प्रसारण लाइन स्थानान्तरण गर्न सुझाव दिएको छ । प्रतिवेदनले तीनकुने जङ्गलबाट सेउती खोला किनार– केके स्कुल– बगरकोट पुल– खत्रीधारा– विजयपुरफेदी– भालुखोला– शिखरबास हुँदै स्थानान्तरण गर्न सुझाएको छ । यो विवादरहित विकल्प भएको समितिले दाबी गरेको छ ।

प्रसारण लाइन स्थानान्तरण पहल समितिले विकल्पसहित स्थानान्तरणको सुझाव दिएपछि प्राधिकरणले पनि जाँझबुझ समिति बनाएको थियो । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख प्रकाशनारायण सिंहको संयोजकत्वमा ४ सदस्यीय जाँझबुझ समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको छ ।

जाँझबुझ समितिका सदस्यसमेत रहेका विद्युत् प्राधिकरण धरान शाखाका प्रमुख साजन महर्जन पहल समितिको मागअनुसार तत्काल स्थानान्तरण सम्भव नरहेको बताउँछन् । उनी भन्छन्, ‘तार लानका लागि जङ्गलका तारको दायाँबायाँ ६ मिटरभित्र रहेका  रुख काट्न वन कार्यालयको अनुमति लिनुपर्छ । पहलसमितिको मागअनुसार तार लाने हो भने खोरियाबस्तीदेखि उत्तर प्रायः घरमाथि तार पर्छ । घरछेउबाट तार लान मिल्दैन र विवाद पनि आउँछ’ उनी थप्छन्, ‘खोलाको छेउछेउ लान पनि सक्ने अवस्था छैन ।’ विद्युत् प्राधिकरणका एक प्राविधिक धरान–१७ मा बन्दै गरेको स्टेशनदेखि शिखरबास निकाल्दा उत्तम विकल्प हुने बताउँछन् ।

यस्तै ११ केभी प्रसारण लाइनबाट धरानका ३ वटा वडाका स्थानीय पीडित बन्दै आएका छन् । धरान–८, ५ र १९ का बासिन्दा पीडित बन्दै आएका हुन् । पहल समितिको प्रतिवेदनअनुसार ३ वटा वडाका १ सय ५० घरपरिवार जोखिममा रहेका छन् । प्रसारण लाइनका कारणले घर स्तरोन्नतिलगायत जग्गाको कारोबार गर्न नपाएको स्थानीयले बताएका छन् ।

११ केभी विद्युत् प्रसारण लाइन हरियाली सवस्टेशनबाट निर्माणाधीन मदन भण्डारी राजमार्गको दक्षिणपट्टिबाट लान समितिले सुझाएको छ । विद्युत् प्राधिकरण धरान शाखाका प्रमुख महर्जन स्थानान्तरण गर्न सकिने व्यवस्था भए पनि विवादरहित विकल्प र आर्थिक कारणले तत्काल सम्भव नभएको बताउँछन् । उनी भन्छन्, ‘नीतिगत रूपमा स्वीकृति लिनैपर्छ । बाटो पनि चाहियो ।’