इनरुवा । नेपाल–भारत दुई देशीय रेल सेवा सञ्चालनको मागसहित संयुक्त आन्दोलनको तयारी थालिएको छ ।  

भारतीय पक्षले नेपाली समर्थन जुटाएर दुई देशीय मोर्चाबन्दीमा आन्दोलनका कार्यक्रम संयुक्तरूपमा अघि बढाउन लागेको हो । कोसी ब्यारेजस्थित नेपाल–भारत सीमामा बसेको दुई देशीय प्रतिनिधि सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।

सो बैठकले वि.सं.२०११ मा सम्पन्न कोसी सम्झौताअनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेलवे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाव सिर्जना गर्ने गरी आन्दोलनका कार्यक्रम अघि बढाउने सहमति जुटाएको छ ।

भेलाले सङ्घर्ष समितिलाई विस्तार गरी अघि बढ्ने निर्णयसमेत गरेको छ । कोसी ब्यारेजमा सम्पन्न भेलामा भारत सरकारका पूर्वकेन्द्रीय सांसद् सुकदेव पासवान, बिहारका पूर्वविधायक उदयप्रकाश गोइत, भारततर्फको रेल आन्दोलन सङ्र्घष समितिका अध्यक्ष मोहनप्रसाद रस्तोगीसहित सरोकारवाला अगुवाहरू र मुखियालगायतको उपस्थिति रहेको थियो ।

भीमनगरसम्म रेलमार्ग जोडिनु पर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकारविरुद्ध सङ्घर्षमा छन् । सोही मुद्दालाई दुई देशीय चासोका साथ उठाउन संयुक्त भेला डाकिएको मोहनप्रसाद रस्तोगीले बताए । उनले रेल आन्दोलन दुवै देशका बासिन्दाको हितमा रहेको विषय भएकाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

पूर्व केन्द्रीय सांसद् सुकदेव पासवान र बिहारका पूर्व विधायक उदयप्रकाश गोइतले रोटीबेटीको सम्बन्ध रहेको नेपाल र भारतबीच रेल सेवाको सहजता धेरै अर्थमा उपलब्धिमूलक ठहरिने बताए । उनीहरूले यसअघि नै भीमनगर–धरान रेल चलिसकेकाले सोही आधारमा पुनः सञ्चालनमा ल्याइनु पर्ने माग गरे ।

बैठकमा सहभागीहरूले पुरानो संरचनालाई आधार मानेर अघि बढ्दा जग्गा अधिग्रहणसमेत गर्नु नपर्ने विषय उठाएका थिए । सो रेल सञ्चालनका विषयमा दुई देशको सरकारलाई झक्झक्याउन दबावमूलक आन्दोलन आवश्यक रहेको उनीहरूको भनाइ छ । 

रेल आन्दोलनमा नेपालतर्फबाट प्रदेश १ का पूर्व पर्यटन मन्त्री जगदीश कुसियतले नेतृत्व लिएका छन् । कुुसियतले नेपाल–भारत संयुक्त रेल आन्दोलनको आवश्यकता महसुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताए । उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक भएको बताए ।

कोसी प्रोजेक्ट अन्तर्गत भारतले सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगरदेखि धरानको रेलवे लाइन र चकरघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो ।  त्यस बखत कोसी ब्यारेज पुल बनाउन ढुङ्गा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपालतर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बाङ्गे र घोपा क्याम्पमा रेल स्टेशन राखिएको थियो ।