वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित चतरा बसपार्कमा रहेको सार्वजनिक शौचालय दुर्गन्धित भएको समाचार प्राकशित भएपछि शौचालय सफा गरिएको छ ।

बसपार्कको एक मात्र शौचालय प्रयोग गर्न नसकिने गरी फोहोर भएको सोमबारे हाट बजारका व्यापारीहरूबाट गुनासो आएपछि ब्लाष्ट दैनिकले माघ २२ गते समाचार छापेको थियो ।

समाचार प्रकाशित भएपछि तुरुन्तै सक्रियता देखाउँदै आदर्श माविको व्यवस्थापन समिति र सोमबारे हाट्करका ठेकेदारले शौचालय सफा गर्न लगाएको आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष यादव गौतमले बताए ।

शौचालयमा वासबेसिन र पानी ट्याङ्कीमा धाराको टुटी लगाएको तथा प्लास्टिकको बाल्टीहरू राखिएको ठेकेदार राजगोपाल श्रेष्ठले जानकारी दिए । शौचालयको दीर्घकालीन व्यवस्थापन र दैनिक सफाइको लागि छिट्टै कर्मचारी राखिने जनाइएको छ ।