वराहक्षेत्र । चतरा बसपार्कमा रहेको सार्वजनिक शौचालय प्रयोग गर्न नसकिने गरी फोहोर भए पनि सरसफाइ नगरिएको स्थानीय तथा व्यापारीहरूले गुनासो गरेका छन् ।

समस्या भएको महिनौं बितिसक्दा पनि सराकोरवालाले कुनै चासो नदिएपछि दिसा पिसाब गर्न ठूलै समस्या भएको तर, सफाइ गर्न कुनै चासो नदिएकोमा उनीहरूले गुनासो गरेका हुन् ।

चतरास्थित बसपार्क रहेको स्थानमा प्रत्येक सोमबार साप्ताहिक हाट लाग्ने गरेको छ । हाटमा व्यापार गर्न आउने टाढाका व्यापारीहरूका लागि सबैभन्दा ठूलो समस्या दिसा पिसाबको भएको चक्रघट्टीका कपडा व्यापारी गणेश गुप्ता रौनियारले बताए ।

‘बजारमा अरू ठाउँमा शौचालय छैन, भएको यो शौचालय पनि यति फोहोर र दुर्गन्धित बनेको छ । साह्रै समस्या छ भनेर भन्न गयो, घरी यता जानू, घरी उता जानू मात्र भन्छन्, हामीले व्यापार गर्नु कि गुनासो लिएर कार्यालय धाउनु ?’ –गणेशले गुनासो गरे । अर्का कपडा व्यापारी मनोज भुजेल भन्छन्, ‘अर्को विकल्प नै छैन तर, प्रयोग गर्न त परै जाओस्, नजिक जान पनि नसकिने अवस्था छ  ।’

‘शौचालय यति बिघ्न फोहोर छ कि जानै सकिँदैन, अरू खुल्ला ठाउँमा जान सकिँदैन । होटलमा गएर नास्ता खाएपछि बल्ल बाथरुम प्रयोग गर्न पाइन्छ । पटकैपिच्छे शौचालय जान नास्ता खानुपर्ने बाध्यताले अब त चतरा नआउने विचारमा पुगेको तरकारी व्यापारी श्यामकुमारी मेहताले बताइन् । ‘हाटको कर हामीसँग लिने तर, दिसा पिसाबको लागि हामीले सय रुपैयाँको नास्ता खानुपर्ने बाध्यता छ । पिउने पानीको समेत व्यवस्था छैन’–उनले भनिन् ।

यस सम्बन्धमा बुझ्दा वडा नं. १ का अध्यक्ष किसन थापा मगरले आदर्श माविको जग्गामा बनेको सो शौचालयको व्यवस्थापनको जिम्मा अन्यलाई दिइएको बताए । ‘त्यहाँबाट वार्षिक ४ लाख रुपैयाँ बढी भाडा उठाएपछि सरसफाइ चाहिँ वडाले गर्ने हो र ?’–उनले प्रतिप्रश्न गरे ।

यता आदर्श माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतमले समस्याको बारेमा गुनासो आएको भन्दै वडा नं.१ को कार्यालय, शौचालय ठेकेदार राजगोपाल श्रेष्ठ र विद्यालयबीच छलफल गरी चाँडै समस्याको समाधान गर्ने बताए ।

बसपार्क रहेको आदर्श माविको सो जग्गामा वराहक्षेत्र नगरपालिकाले पक्की शौचालय निर्माण गरिदिएको हो । विद्यालयले हाटकर र शौचालयसहितको ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँमा तीन वर्षको लागि ठेक्का लगाएको छ ।