वराहक्षेत्र । कोसी नदी र चतरा नहरमा गत तीन वर्षयता करिब ३ दर्जन व्यक्तिले ज्यान गुमाएका छन् । कोसी नदी र सुनसरी – मोरङ सिंचाइ योजनाको चतरा नहरमा अहिलेसम्म १९ पुरुष र १४ महिलाको मत्यु भएको हो ।
मृत्यु हुनेमा १५ महिने शिशुदेखि लिएर किशोर, युवा र ६६ वर्षीया वृद्धा रहेकी छन् । आर्थिक वर्ष २०७६/०७७ देखि अहिले सम्म सबैभन्दा बढी वडा नं. ८ मा ६ जना, ७ मा ४, यसैगरी ३ र ९ मा २ – २ जना, १, ४ र ६ नम्बर वडामा ३ – ३ र ५ नं. वडाका १ जना रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले जानकारी दिए । प्रहरीमा दर्ता गरिएका घटनामा सबैभन्दा बढी कोसी नदीमा डुबेर १३ जनामध्ये ७ जना बेवारिसे रहेका छन् भने नहरमा डुबेर ५ जना, पैनीमा डुबेर २ जना, खोला र नदीमा डुबेर २ यसैगरी १ जना शिशु, आत्महत्या र टिकटक भिडियो बनाउने क्रममा नदीमा डुबेर १ जनाले ज्यान गुमाएको प्रनि दत्तले बताए ।
नदी, नहरमा डुबेर मृत्यु हुनेमा १५ वर्र्षीया शिशु ढिकझोडाकी आशा अधिकारीदेखि ६६ वर्षीया वृद्धा दुर्गामाया राउत, दुर्गा खड्का कटुवाल, शान्तिदेवी विक, खेमराज दङ्गाल, पवित्रा विक, गणेश तामाङ, लक्ष्मण अधिकारी, सहारा राजधामी, मोहन खत्री, देवेन्द्र श्रेष्ठ, पवित्रा लिम्बू, सुन्दर देवान, लन्डु उराव, खड्गबहादुर कटुवाल, लीलादेवी लिम्बू, शालिग्राम निरौला, नेदिमान राई, कुसुम ऋषिदेव, अनु श्रेष्ठ, बालकुमार, नायुमा र मनलक्ष्मी राई र विजय मगरलगायत रहेका छन् । प्रहरीले दर्ता गरेका घटनाहरूमा नदीले पहाडी जिल्लाहरूबाट बगाएर ल्याउने गरेकोले कुहिएको र सडेको अवस्थामा भेटिने हुँदा लाशको पहिचान गर्न नसकिने बताए । नुहाउँने क्रममा कहिलेकाहीँ असावधानीले डुबेर मृत्यु हुने गरेको पनि उनले बताए ।
कोसी नदी र नहरमा डुबेर धेरैको ज्यान गएको बताउँदै यसरी हुने मानवीय क्षतिको न्यूनीकरण गर्न व्यक्ति स्वयम् र परिवारका सदस्य सजग र चनाखो हुनुपर्ने इन्स्पेक्टर दत्तले बताए । यस्ता घटना हुन नदिन प्रहरीले सचेतनाको प्रयास गरेको साथै स्थानीयवासीले पनि साथसहयोग गर्नुपर्ने बताए ।
प्रहरीमा दर्ता भएको घटनाको विवरण हेर्दा सबै उमेर समूहका व्यक्ति नहर र नदीले बगाएर, डुबेर र हाम्फालेर आत्महत्या गर्दा ज्यान गुमाएको देखिन्छ । नदीले बगाएर ल्याउने बेवारिसेबाहेक डुबेर मुत्यु हुन नदिन र घटना न्यूनीकरणका लागि नगरमा सचेतना जगाउनु पर्ने स्थानीयवासी बताउँछन् ।