भद्रपुर । झापाको धुलाबारीमा बसेर लामो समयदेखि कपडा धुने व्यवसाय गर्दै आएका विश्वेश्वर बैठा धोबी अन्यायको कठघरामा उभिएका छन् ।
अरूका लुगा धोएर जोडेको आनासुकी भेला गरी ५ वर्षअगि मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुलछेउमा १० धुर जग्गा खरिद गर्न ५ लाख २५ हजार बैना गरेका थिए । जग्गाको कुल लागत ७ लाख ५० हजार रुपैयाँ तोकिएको थियो । सोहीअनुसार कागजात पनि गरियो । तर, धोबी अहिले आएर अन्यायमा परेका छन् ।
मर्ने बेलासम्ममा आफ्नो नाममा एउटा झुप्रोसम्म बनाउने सपना पालेका उनी अहिले न्यायको खोजीमा भौंतारिरहेका छन् । अन्याय परेको उजुरी लिएर विश्वेश्वर राजनीतिक दल, जिल्ला प्रशासन कार्यालयदेखि मेचीनगर नगरपालिकासम्म पटक–पटक धाइसके तर, उनले न्याय पाउन सकेनन् ।
जग्गाधनीले जुन जग्गा देखाएर बैना र कागज गरेका थिए, पछिल्लो समय उनलाई बैनाअनुसारको जग्गा नदिई टिमाई खोलाभित्रको जग्गा देखाएको धोबीको भनाइ छ । जग्गाधनी निर्मल श्रेष्ठसँग बैनाको कागज गर्दा कित्ता नं. १४३ को जग्गा दिने उल्लेख छ । तर, सहमति विपरीत जग्गाधनी श्रेष्ठले सुनिल साहलाई थाहै नदिई बिक्री गरे ।
अहिले आएर धोबीलाई कित्ता नं. ७२ को जग्गा बिक्री गरेको अडान लिँदै आएपछि उनी अन्यायमा परेका हुन् । उनका अनुसार आफूलाई कित्ता नं. १४३ भनेर कित्ता नम्बर ७२ को जग्गा झुक्याई पास गरेको छ । उक्त जग्गा अहिले टिमाई खोलामा पर्छ । बैनाअनुसारको जग्गा नभएपछि धोबी स्थानीय अगुवा, राजनीतिक दल, जिल्ला प्रशासन र मेचीनगर नगरपालिकामा समेत पटक–पटक गएर आफूमाथि अन्याय भएको बताउँदै आएका छन् । तर, आफ्नो गुनासो कतैबाट सुनुवाइ नभएको उनको दुःखेसो छ ।
जिन्दगीभर अरूको लुगा धोएर खाई नखाई बचाएको पैसाबाट किनेको जग्गासमेत नपाउँदा आफू पीडित भएको उनले बताए । अहिले आएर न्याय पाउने आश पनि मर्दै गएको बताएका छन् । धोबीका अनुसार पहिला जग्गा स्थानीय निर्मल श्रेष्ठसँग लिए र बैनाको कागज श्रेष्ठसँग गरिएको भए पनि पछि श्रेष्ठको जग्गा राकेश साह हुँदै सुनिल साहले खरिद गरेका थिए । सुनिलले आफूलाई कित्ता नं. ७२ को जग्गा झुक्याएर पास गराएको र पछि मात्रै आफूले थाहा पाएको उनको भनाइ छ । एउटा जग्गा देखाएर अर्कै जग्गा पास गराएपछि सबैतिर हारगुहार गरेको उनले बताए ।
मेचीनगरपालिका–१० का वडाध्यक्ष नारायण खनालले धोबीमाथि अन्याय भएकाले यस विषयमा गम्भीर रूपमा आफूले हेरेको बताए । उनले यो अवस्था र उमेरका मान्छेमाथि भएको अन्यायका विषयमा चुप लागेर नबस्ने बताए । धोबीलाई न्याय दिन र उनलाई झुक्याएर ठगी गर्नेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन पहल गर्ने वडाध्यक्ष खनालले बताए । स्थानीय उमेश पोद्दारले धोबीमाथि अन्याय भएकोले उनलाई न्याय दिनुपर्ने बताए । ‘एउटा जग्गा देखाएर अर्को जग्गा पास गराउनु कति न्यायोचित छ ?’–उनले प्रश्न गरे । यता जग्गाधनी श्रेष्ठसँग ब्लाष्टकर्मीले सम्पर्क गर्ने प्रयास गरेको भए पनि सम्पर्क हुन सकेको छैन ।