धनकुटा । धनकुटा महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घ धनकुटा महोत्सवको थपिएको दुई दिनको अवधिलाई बीचमा नै टुङ्ग्याउन बाध्य भएको छ । शनिबार राति महोत्सवमा ठेलमठेलको स्थिति आउँदा ३१ जना घाइते हुने अवस्था आएपछि प्रशासनले महोत्सव बन्द गर्न निर्देशन दिएको हो ।
आयोजकले धनकुटा महोत्सवको अवधि १० बाट थप गरी १२ दिन पु¥याएको थियो । दुई दिनअघि मात्रै माघ १८ गतेसम्म महोत्सव लगाउने निर्णय गरेको थियो अर्थात् २ दिन थप गरिएको थियो । यसअघि निर्धारण गरिएअनुसार आज (सोमबार) नै महोत्सव समापन गरिने तयारी थियो । तर, सेवाग्राहीको भीड र मागलाई मध्यनजर गर्दै २ दिन थप गर्ने निर्णय गरेको थियो । तर, शनिबार रातिको साङ्गीतिक कार्यक्रममा थामिनक्नु भीड आएपछि स्थिति बाहिर गएको थियो । जसका कारण प्रवेशद्वारमा ठेलमठेलको स्थिति आउँदा चेपिएर ३१ जना घाइते भएका थिए भने दुईजनाको अवस्था गम्भीर बनेको थियो ।
शनिबार गायक प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम तय भएको थियो । हालसम्म घाइते भएकामध्ये २१ जना उपचारपछि घर फर्किएको आयोजकले जनाएको छ र पूर्वनिर्धारित समय तालिकाअनुसार नै महोत्सवको समापन आज गरिन लागिएको अध्यक्ष विजयसन्तोषी राईले बताए । उनले आइतबार पत्रकार सम्मेलन गरी प्रशासनले अनुमति दिनै नसक्ने र बन्द गर्न आग्रह गरिएकाले सोमबार नै समापन गर्न बाध्य भएको बताए । धनकुटा–५ स्थित टुँडिखेलमा महोत्सव लागिरहेको छ । एभोकाडो तथा पाँचौँ धनकुटा महोत्सवमा साङ्गीतिक प्रस्तुति हुनुअघि नै घटना भएको थियो ।
दर्शकको थामिनसक्नु भीडका कारण पनि घटना घटेको थियो । जहाँ ४ वर्षीय बालक छथरजोरपाटीका सोनाम लिम्बू र धनकुटा ५ का ६ वर्षीय आबुहाङ लिम्बूको अवस्था गम्भीर बनेको थियो । हाल स्वास्थ्यमा सुधार भएको अध्यक्ष राईले बताए । घाइते बालकहरूको मोरङ विराटनगरस्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको छ ।
४ वर्षीय बालक सोनामलाई अस्पतालले डिस्चार्ज गरेको छ । त्यस्तै अर्का घाइते भीमा लिम्बूको पनि गोल्डेन हस्पिटल विराटनगरमै टाउकोको शल्यक्रिया गरी उपचारपछि डिस्चार्ज भएको अध्यक्ष राईले बताए । उनले बाँकी ९ जना घाइतेहरूको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको बताए । उनले घाइतेहरूको एमआरआई, सिटी स्क्यान, एक्स–रेलगायतको स्वास्थ्य उपचार माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा निःशुल्क गरिएको बताए ।
नियन्त्रणभन्दा बाहिर रहेको भीडका कारण नजिकैका केही पसलहरूका सामान हराएको स्टल सञ्चालक व्यापारीहरूले बताएका छन् । मुख्य प्रवेशद्वारको बायाँपट्टि रहेको पूर्ण फास्टफुड पसलमा अनियन्त्रित् भीडमा भागाभाग हुँदा ५० हजार बराबरको खाद्य तथा पेयपदार्थ र किचनको सामग्री हराएको सञ्चालक पूर्ण लिम्बूले बताए । त्यसैगरी बायाँपट्टि रहेको फेमस पान पसलबाट पनि ७ कार्टुन पानी र ५ हजार बराबरको चाउचाउ, रेडबुल, चक्लेटका बट्टाहरू र अन्य खाद्य सामग्री चोरी भएको सञ्चालक पारस साहले बताए । त्यसैगरी धराने दुर्गा होटलका सञ्चालक ऋषिराम पोख्रेलले आफूलाई हातपात गर्नुको साथै पसलमा रहेको कुर्सी भाँचिदिएको बताए । उनले आफ्नो पसलमा रहेको सेकुवा पोल्ने भाँडा र मासुसमेत फ्याँकिदिएको गुनासो गरे ।
उता काठमाडौंबाट कपडा पसल गर्न आएका रिया इम्पेक्सका सञ्चालक सुमित वाग्लेले आफूलाई मानव भीडले थिचेर झण्डै ज्यान गएको बताए । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) धनकुटा शाखाकी अध्यक्ष विनु चेम्जोङले छोराछोरी लिएर महोत्सवस्थलमा गएको अवस्थामा भीडले चेपिँदा निसासिएर छोराको झण्डै ज्यान गएको बताइन ।
पत्रकार सम्मेलनमा पत्रकारहरूले सुरक्षा संवेदशीलतालाई महोत्सव आयोजकले ध्यान नदिएको, भीड नियन्त्रण गर्नको लागि पर्याप्त सुरक्षाकर्मी परिचालन नगरेको, सेक्युरिटीको भरमा प्रवेशद्वारमा जिम्मेवारी छोड्दा दर्शक र सेक्युरिटीबीच झडपको स्थितिले घटना घटेको औंल्याएका छन् । उनीहरूले ३ हजार दर्शक क्षमताको महोत्सवस्थलमा ७ हजारभन्दा बढी मान्छे प्रवेश गर्दा पनि सुरक्षा प्रबन्धमा आयोजकले ध्यान नदिएको गुनासो गरे । यता स्टलका व्यापारीहरूले भने आफूहरूलाई घाटा भएको भन्दै थप २ दिन महोत्सव निरन्तरताको माग गर्दै आएका छन् । आयोजकले २ दिन थप गर्ने भनेपछि आफूहरूले खाद्य सामग्री खरिद गरेको चित्रे खाजा घरका सञ्चालक गुणराज राईले बताए ।
यसैबीच घटनाबारे जिल्ला सुरक्षा समितिको आइतबार बैठक बसेर घटनाको समीक्षा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् । आइतबार बिहान ११ बजे समितिको बैठक बसेर महोत्सव सोमबार १ बजे औपचारिकरूपमा समापन गर्ने निर्णय भएको जनाइन् । महोत्सव आयोजक, प्रशासन र सुरक्षा निकायको बैठकले सो निर्णय गरेको हो ।
उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले आज (सोमबार) १ बजेदेखि महोत्सव समापन गर्ने बताए । यता लोकप्रिय गायक प्रमोद खरेलले आफू धनकुटा महोत्सवमा आएको दिन यस्तो घटना घटेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले महोत्सवमा आए बापत लिने पारिश्रमिक घटनामा परी घाइते भएका बिरामीको उपचारमा खर्च गर्न आयोजकलाई सहयोग गरेको बताएका छन् । उनले आफ्नो पारिश्रमिक कति हो र कति सहयोग आयोजक र घाइतेलाई भयो भन्ने बारेमा भने बोल्न चाहेनन् । उनले सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।