सुनसरी । धरानबाट लागूऔषधसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंहलाई जोगाउन अझै षड्यन्त्र भइरहेको पाइएको छ ।
२०७७ साल मङ्सिर १९ गते ७७ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंहमाथि यथेष्ट प्रमाण हुँदाहुँदैसमेत लागूऔषध मुद्दा अगाडि नबढ्नु र उनी भारतीय भएको भारतीय प्रहरीले नै पुष्टि गर्दासमेत नागरिकता सम्बन्धमा सप्तरी प्रहरीले छानबिन गर्न आलटाल गर्नुले उनलाई जोगाउने षड्यन्त्र भइरहेको गुनासो आएको हो ।
कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठा प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका उनी भारतीय भएको भारतीय प्रहरीले आधिकारिकरूपमै पुष्टि गरे पनि आर्थिक प्रलोभनसँगै राजनीतिक दबाव दिएकै कारण सिंहका सम्बन्धमा कीर्ते नागरकिताबारे अझै छानबिन अगाडि बढाउन सप्तरी प्रहरीले आलटाल गरिरहेको गुनासो आएको हो । जिल्ला अदालत सुनसरीको निर्णयअनुसार उनी अहिले पुर्पक्षका लागि जेलमा छन् । ब्राउनसुगर मुद्दामा सुनसरी जिल्ला अदालतको आदेश उच्चअदालत विराटनगरले समेत सदर गरिदिएपछि पुर्पक्षका लागि जेलमा रहेका भारतीय नागरिक सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको पाइएको छ ।
नेपाली नागरिकको हकमा र विदेशी नागरिकको हकमा छुट्टाछुट्टै कानूनी व्यवस्था छ । यदि लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिंह भारतीय वा विदेशी भएको पुष्टि भएमा उनलाई छुटाउन गाह्रो हुने भएकोले उनी भारतीय भएको आवश्यक प्रमाण हुँदासमेत उनको नागरिकता सम्बन्धमा छानबिन अगाडि नबढाइएको स्रोतको दाबी छ ।
पक्राउ परेका सिंह लागूऔषध गिरोहका सदस्य भएकाले उनी दोषी साबित भएको अवस्थामा अन्य गिरोहका बारेमा समेत खुल्ने डरले छुटाउन ठूलो आर्थिक चलखेलका साथै राजनीतिक दबावसमेत उत्तिकै रहेको स्रोतको दाबी छ ।
लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिए पनि राजनीतिक दबावका कारण उनको बयान हुन सकेको छैन । लागूऔषध कारोबारीसँगै नेपाली र भारतीय गरी दोहोरो नागरिकता लिएका व्यक्ति भएको सबै प्रमाण हुँदाहुँदै पनि राजनीतिक संरक्षण पाएकै कारण सिंहका सम्बन्धमा कारबाही अगाडि नबढाइएको स्रोतको आरोप छ । पक्राउ परेका सिंह पहुँचवाला व्यक्ति भएको बताउँदै स्रोतले भन्यो, ‘उनलाई छुटाउन पुनः ठूलो चलखेल भइरहेकोे छ, जसका लागि बिचौलियाहरूले मुद्दा मिलाइदिने भन्दै मोटो रकमको माग गरेका छन् ।’
जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११० मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकतासम्बन्धी कसुरमा बयान कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालय सप्तरी पठाई पुनः झुम्का कारागारमा फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको थियो । रङ्गेहात पक्राउ परेका सिंहको यथेष्ट प्रमाणका बावजुद महिनौंसम्म नागरिकता सम्बन्धमा छानबिन अघि बढेको छैन ।
सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिएको छ । उनको नेपाली नागरिकता कीर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा उनी भारतीय नागरिक रहेको प्रमाण फेला परेको थियो । सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुबा बनेका ठाकुरप्रसाद सिंह पनि भारत विहारको राज जिरोगा ग्राम पञ्चायतअन्तर्गत भरफोरी ग्राम, थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको थियो । ग्राम पञ्चायत राज जिरोगाका मुखिया नूतन कुमारीले राजकुमारका नेपाली बुबा पनि भारतीय रहेको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेर दिएकी छन् । ठाकुरप्रसाद भारतीय नागरिक भएको र भारतमा उनका दुई छोरा रहेको उनले प्रमाणित गरेर पत्र दिएकी छन् ।
स्रोतका अनुसार राजकुमार सिंह भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुबा बनाएको ठाकुरप्रसाद सिंहको नागरिकतामाथि पनि छानबिन सुरु गरेको थियो । नागरिकताको छानबिन गर्न सप्तरी प्रहरीको एक टोली वीरपुर थाना पुगेर थानाका एसएचओ (सिनियर हाउस अफिसर) राजेशकुमार मण्डललाई उनका बारेमा छानबिन गर्न अनुरोध गरेको थियो । भीमनगरस्थित थानाका सव–इन्स्पेक्टर शत्रुधनप्रसाद साहको नेतृत्वमा गएको टोलीले उनको गाउँमा पुगेर सोधपुछ गरेको थियो । सप्तरीका सइ जयप्रकाश साहको नेतृत्वमा एक टोली सिंह भारतीय नागरिक भएको प्रमाण जुटाउन वीरपुर पुगेको थियो । राजकुमार सिंह स्वर्गीय रामबालक सिंहका चार छोरामध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिकता भएको सबै प्रमाण भेटिएको थियो ।
सिंह भारतीय नागरिक भएको र भारतमा पनि उनको आपराधिक पृष्ठभूमि नै रहेको अनुसन्धानबाट खुलेपछि सप्तरी प्रहरीले भारतीय प्रहरीसँग सहयोग मागेको थियो । पक्राउ परेका सिंहको साथबाट बरामद भएको उनको सवारीचालक अनुमति पत्रमा र नेपाली नागरिकता प्रमाण–पत्रको नम्बरका आधारमा उनको नागरिकता कीर्ते भएको खुलेको थियो । नेपाली नागरिकता नम्बर २–०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस वडा नम्बर २ रहेको छ । तर, उक्त नम्बरको नेपाली नागरिकता प्रमाण–पत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा २–०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो ।
सवारी चालक अनुमति पत्रमा ठेगाना तत्कालीन पकरी गाविस–२ सप्तरी रहे पनि उक्त ठाउँमा सिंह थरका एक जना पनि नरहेको स्थानीयको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले भने आफू यस विषयमा जानकार नभएको भन्दै मिसिल हेरेपछि मुद्दाको अवस्थाको बारेमा विस्तृत बताउन सकिने प्रतिक्रिया दिएका छन् । ‘म जिल्ला प्रहरी कार्यालय सप्तरी आएको ४–५ महिना भएको छ’ उनले भने, ‘त्यसैले यस विषयमा जानकारी छैन ।’