धनकुटा । धनकुटामा जारी पाँचौं धनकुटा महोत्सवमा शनिवार राति प्रहरी र मेला हेर्न आउने दर्शकबीच झडप हुँदा दर्जनौं मेला हेर्न आएका दर्शक घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार धनकुटा मारेककटहरेकी कक्षा ६ मा पढ्ने बालिका श्रेया कटुवाल, महालक्ष्मी नगरपालिका जितपुरका युकेजीमा पढ्ने प्रकट श्रेष्ठ, उनकी आमा कुसुम श्रेष्ठ, ११ वर्षीय सुनिल लिम्बू, धनकुटा–५ की शान्ता योगी, सित्तलपाटीकी विनिता लिम्बू, हिलेका नन्दकुमार तामाङ, आइत राई, उदीप राई, विशाल तामाङ, धनकुटा–७ की अंशु सुवेदी, पाख्रीबासका अनिस कार्कीलगायत घाइते भएका छन् । प्रहरीले कम्तिमा २१ जना घाइते भएको जनाएको छ ।

त्यसमध्ये सात–आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गायक प्रमोद खरेलको प्रस्तुति हेर्न हजारौं दर्शक शनिबार साँझ धनकुटा–५ मा रहेको महोत्सवस्थल पुगेका थिए ।

साँझ करिब ८.३० बजेको समयमा महोत्सवस्थलमा दर्शक नअट्ने स्थिति भएपछि आयोजकले सुरक्षाकर्मीलाई गेट बन्द गर्न लगाइएको थियो । बाहिर रहेका दर्शक र सुरक्षाकर्मीबीच विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो ।

गेटमा सुरक्षाकर्मी र दर्शकबीच विवाद भै झडपको स्थिति सिर्जना हुँदा महोत्सवस्थलभित्र रहेका बालबालिका, ज्येष्ठ सबै उमेरका मान्छे भागाभाग हुँदा सयौं दर्शक घाइते भएको अनुमान गरिएको छ ।

उक्त घटनापछि महोत्सवस्थल, जिल्ला अस्पताल तनावग्रस्त र अस्त–व्यस्त भएको थियो । बिरामीहरूलाई धनकुटा, तेह्रथुमलगायतका एम्बुलेन्समार्फत् उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

dkt123p