विजयपुर । धरान–५ का वडाध्यक्षको घरमा आक्रमण गर्ने समूहका मुख्य आरोपीका रूपमा रहेका पूर्ववडाध्यक्ष सन्तोष लिम्बू र उनका दाजु लक्ष्मी भनिने जीवन लिम्बू हालसम्म पक्राउ परेका छैनन् ।
पीडित वडाध्यक्ष मनप्रसाद लिम्बूले जाहेरी दिएको ६ दिन बित्दा पनि मुख्य आरोपी पूर्ववडाध्यक्ष सन्तोष र उनका दाजु पक्राउ नपरेका हुन् । पक्राउ नपरेपछि प्रहरी प्रशासनमाथि नै नागरिकले प्रश्न उठाउन थालेका छन् । वडाध्यक्षले मनप्रसादले भने, ‘कुनै कारणविना घरमा आई आक्रमण गर्ने व्यक्ति हालसम्म पक्राउ नगर्नाले आशङ्का उत्पन्न भएको छ ।’ उनले थपे, ‘प्रहरी पनि डराएको हो कि, मिलोमतो हो कि, नभए किन पक्राउ पर्दैनन् ?’ राजनीतिक दबाव र प्रभावमा पक्राउ नगरेको हुनसक्ने अध्यक्ष मनप्रसादले आशङ्का व्यक्त गरेका छन् । उनले भने, ‘पक्राउ नगर्नुमा आशङ्का मात्रै होइन, आपत्ति नै छ ।’ सन्तोष नेपाली काङ्ग्रेस धरान नगर उपसभापति हुन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार घटनामा संलग्नमध्येका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आरोपी नवीन लिम्बू र रबिन श्रेष्ठ छन् । घटनामा ११ जनालाई प्रतिवादी बनाएर वडाध्यक्ष मनप्रसाद लिम्बूले माघ ८ गते इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका थिए । मुख्य आरोपी पक्राउ नपर्नुका विषयमा डीएसपी श्रेष्ठले खोजी भइरहेको बताए । उनले भने, ‘फोनको लोकेसन यतै देखिन्छ । फेला पार्न सकेका छैनौँ । घरमा गयो भेटिँदैन । सबैका घरभित्र पस्न सक्ने अधिकार प्रहरीलाई छैन । त्यसरी घर–घर छिरेर पक्राउ गर्नुपर्ने अपराध पनि होइन ।’
जनप्रतिनिधिको घरमा समूह नै लगेर आक्रमण गर्नुलाई प्रहरीले सामान्य रूपमा लिएको छ । यता वडाध्यक्ष मनप्रसादले सन्तोष लिम्बूका कारणले वडावासी नै त्रसित बनेकाले यसलाई गम्भीर घटनाको रूपमा लिनुपर्ने बताए । उनका अनुसार सन्तोष समर्थित समूहले पहिले पनि आक्रमण गर्ने प्रयास गरेको थियो । उनले भने, ‘साउन–भदौमा छोरालाई आक्रमण गर्न खोजेको थियो । मेरो छोरालाई काट्न भनेर बोरामा कट्टी लिएर आएका थिए । आफैले छिमेकमा झगडा नगरौँ भनेर मिलाएँ ।’ उनका अनुसार खोलाको मिक्सगिट्टी निकालेको फोटो खिचेको विषयमा आक्रमण गर्न आएका थिए । माघ ८ गते धरान उपमहानगरपालिकाले अँधेरी खोला किनारको सार्वजनिक जग्गा मिचेर आरोपीमध्येका एक नवीन लिम्बूले घर बनाएका थिए ।
उक्त घर उपमहानगरपालिकाले भत्काइदिएपछि पूर्व वडाध्यक्ष सन्तोष समर्थित समूहले वर्तमान अध्यक्ष मनप्रसादको घरमा आक्रमण गरेको थियो । अध्यक्ष मनप्रसादका छोरा, भतिजलगायतलाई आक्रमण गरेका थिए । उनले घर नभत्काऊ वा भत्काउनै परे पनि व्यवस्थापन गरेर भत्काऊ भनेर पीडितको पक्षमा नै आफूले बोलेको बताए । उनले सन्तोषसँग व्यक्तिगत रिसइबीसमेत नभएको प्रष्ट्याए । उनका अनुसार समूहले छोरा, भतिज कुटपिट गरेको बताउँदै भने, ‘मेरो ८३ वर्षीय आमालाई किन कुटपिट गरियो । यसलाई प्रहरीले सामान्य रूपमा लिन मिल्छ ?’ उनले वडावासी पूर्ववडाध्यक्ष सन्तोष लिम्बूको त्रासका कारण नबोल्ने गरेको बताए । उनले भने, ‘कुटी पो हाल्छ कि ? काटी पो हाल्छ कि ? मार्छ कि ? भनेर सर्वसाधारण नागरिक बोल्न सक्दैनन् ।’
सोही दिन सन्तोष समर्थित समूहले वडासदस्य प्रेमबहादुर दाहाललाई पनि आक्रमण गरेको थियो । वडासदस्य दाहालले आफू छोरालाई उपचारका लागि अस्पताल जाँदै गरेको अवस्थामा मोटरसाइकल रोकी आक्रमण गरेको बताए । उनले भने, ‘मलाई घर भत्काएको थाहा थिएन । भत्काएर डोजर फर्किसकेको रहेछ । छोरो लिएर अस्पताल जाँदै थिएँ । रोकेर हुलहुज्जत गरे । हेल्मेट फुटाइदिए ।’
अध्यक्ष मनप्रसाद लिम्बूले जनप्रतिनिधिलाई कुट्ने अधिकार कसले दियो र शक्ति कहाँबाट आयो भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनका अनुसार नगरले खोला उत्खनन् गर्न रोके पनि उत्खनन् भइरहेको छ । नगरले बहुजातीय सङ्ग्रहालयको निर्माणका लागि संरक्षण गरेको जग्गामा उत्खनन् गरेकाले नै खाल्डो बनेको बताए । उनले भने, ‘मिक्सगिट्टी झिकेर खाल्डो छ; अँधेरी खोलाबाट पनि ढुङ्गा निकाल्ने कार्य भइरहेको छ ।’