वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ को पहाडी क्षेत्र बागदलबारीमा पर्ने पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक मनिषा राई, वराहक्षेत्र–२ को बयरवनबाट दुई घण्टाभन्दा बढी उकालो हिँडेर विद्यालय पुग्छिन् । विद्यालय बिदा भएपछि उत्तिकै हिँडेर घर फर्किन्छिन् । उनी भन्छिन्, ‘जति थाकेपनि बिहान बेलुका हिँड्नु बाध्यता हो । किनभने यहाँको बाटो खराब छ ।’
सोही विद्यालयकी शिक्षिका सम्झना नेपालीको पनि उस्तै समस्या छ । वराहक्षेत्र–३ को कालाबञ्जार घर भएकी उनी बाटो अप्ठ्यारो र टाढा भएकाले बयरवनमै बसेर धाउँछिन् । दूरीको हिसाबले त बयरवन बजारबाट विद्यालयसम्म पुग्न करिब ५ किलोमिटर छ तर, बाटो अप्ठ्यारो भएकाले वर्षायाममा गाडी, टेम्पो केही चल्न सक्दैनन् । हिउँदमा पनि बाटो बिग्रिएर धुलाम्य हुन्छ । बाटोकै कारण टेम्पो भाडा महँगो छ । उनी भन्छिन्, ‘दैनिक ९ सय भाडा तिरेर टेम्पोमा हिँड्न सकिँदैन ।’
वराहक्षेत्र नगरपालिकाको पहाडी भेगका स्कुल पढ्ने विद्यार्थी हिँड्ने, बिरामी हुँदा अस्पताल जाने, दैनिक खाद्यान्न किन्न र गाउँका उत्पादन बेच्न जाने नजिकको बजार बयरवन नै हो । बयरवनको मिलनचोकदेखि सूर्यकुण्डसम्मको सडक अस्त–व्यस्त हुँदा सबैले सास्ती खेप्नुपरेको छ ।
यो सडकबाट वराहक्षेत्र–१ को बागदलबारी, अर्चले, जुगपाख्री, सूर्यकुण्ड, चौदण्डालगायतका गाउँबाट स्थानीयहरू बजार आउजाउ गर्छन् । त्यहाँबाट विद्यार्थीहरू माध्यमिक तह पढ्न वराहक्षेत्र–२ को आदर्श माविमा झर्नुपर्छ । त्यसका लागि उनीहरू बिहानै ७ देखि ८ बजेसम्ममा घरबाट हिँडेर २ देखि अढाई घण्टामा स्कुल पुग्छन् । बाटो खराब भएकाले स्कुल आउन–जान समस्या हुने गरेको कक्षा ७ की छात्रा शिखा राईले बताइन् ।
सूर्यकुण्ड आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेश कार्की सोही बाटो मोटरसाइकलमा झर्दै गर्दा ढुङ्गामा चिप्लिएर लडे । उनी भन्छन्, ‘बाटोभरि खाल्डा छ, जताततै धुलो छ । मोटरसाइकलमा हिँड्दा कता खाल्डो छ, कता ढुङ्गा छ भन्ने भेउ पाइँदैन । लडेर झण्डै घुँडा खुस्कियो ।’
मिलनचोकदेखि सूर्यकुण्डसम्म जम्मा करिब ९ किलोमिटर सडकका लागि बर्सेनि बजेट छुट्टिन्छ तर, बाटोको सुधार नहुँदा त्यो बजेट कहाँ जान्छ ? भनेर अचम्म लाग्ने गरेको डाँडागाउँका कमानसिंह राई बताउँछन् । उनी भन्छन्, ‘कैयौं पटक लाखौं र करोडौंको बजेट आयो तर, अहिलेसम्म सडकको ट्रयाक खन्नुभन्दा बढी केही भएको छैन । कुन खालको विकास हो यो ?’
हरेक पटक चुनावपछि आउने नयाँ नेतृत्वले सूर्यकुण्डको विकासका लागि योजना बनाउँदा उनीहरूकै कार्यकर्ताको हालीमुहाली हुने गरेको उनी बताउँछन् । ‘यहाँका स्थानीयले भनेको केही हुँदैन्, अनि कसरी हुन्छ विकास ?’ उनी आक्रोस पोख्दै भन्छन्, ‘एकातिर टालेजस्तो गर्छन्, अर्कोतिर भत्किसक्छ, कसलाई विश्वास गर्नु र ?’
उक्त बाटोको स्तरोन्नति गर्ने भन्दै प्रत्येक वर्ष लाखौं रुपैयाँको बजेट आउने गरे पनि विकास भने कहाँ जान्छ, कसैलाई थाहा नहुने स्थानीय प्रेम घिमिरे बताउँछन् । उनी भन्छन्, ‘एउटा सरकारले बनाएको बजेटले अलिअलि खिचडी काम हुन्छ, अर्को सरकार आउँदासम्म भत्किहाल्छ । यता टाल्यो, उता भत्किन्छ, काम यसरी नै भइरहेको छ ।’
पहिला वराहक्षेत्र गाविस हुँदादेखि अहिले नगरपालिका बन्दासम्म यो बाटोका लागि धेरै पटक बजेट खन्याइएको छ । सडकमा लाखदेखि करोडौं रुपैयाँको ठेक्का लगाइन्छ तर, स्थानीयले विकासको अनुभव गर्न नपाएको कमानसिंह बताउँछन् ।
हाल सो सडक–खण्ड जोडिने वडा नं. २ स्थित मिलनचौकदेखि सिंहदेवी टोलसम्म करिब १ सय २० मिटर बाटोमा वडाको गौरवको योजना अन्तर्गत ३५ लाख रुपैयाँ विनियोजन गरी आरसीसी ढलान गरी सडक बनिरहेको वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतमले बताए ।
उता सडकको लागि भनेर सडक विभाग विराटनरगले यही आर्थिक वर्षमा ७४ लाखमा ठेक्का पास गरेको छ । सडकमा अहिले तार जाली लगाउने, टेवा पर्खाल र कल्भर्ट निर्माण, माटो कटिङको काम भइरहेको स्थानीय ठेकेदार दीपक निर्माण सेवाका प्रमुख बलबहादुर थापाले बताए । उनी सो सडकका लागि जति नै काम गरे पनि दिगो समाधान हुन नसक्ने दाबी गर्छन् ।
सो सडक निर्माण हुन थालेको डेढ दशक पुगिसक्यो । सडकमा प्रत्येक वर्ष नै ठेक्का लाग्छ तर, बाटोको अवस्था भने अपेक्षा गरे जस्तो कुनै परिवर्तन हुन सकेको छैन । सो सडकमा गाविस हुँदाको समयमा सांसद् विकास कोषअन्तर्गत तत्कालीन सांसद् भीम आचार्यमार्फत् पाएको १० लाख रुपैयाँमा तार जाली, माटो कटिङ, कल्भर्टलगायतको काम गरिएको संयोजक चन्द्र थापा मगरले बताए ।
नगरपालिका बनेपछि सडकमा ठेक्कामार्फत् आ.व.२०७३/०७४ मा करिब ५५ लाख रुपैयाँमा सोही प्रकृतिको तार जाली, कटिङ, कल्भर्ट बनाउने काम गरिएको प्रनिल निर्माण सेवाका प्रमुख प्रदीप बस्नेतले बताए । सडकको काम गाविसदेखि नगरपालिकासम्म आइपुग्दा करोडौं खर्च भइसकेको छ । ठूलो रकम खर्च गरिए पनि सडकको अवस्था भने अस्त–व्यस्त नै छ ।
वराहक्षेत्र नगरपालिका वडा नं. १ का सचिव लक्ष्मण पौडेल वडाले वर्षमा १ करोड बजेट पाउनेमध्ये आधाजसो त पहाडी क्षेत्रको बाटो बनाउँदै सकिने बताउँछन् । उनी भन्छन्, ‘हामीले चाहेर पनि केही गर्न सकिँदैन । यसलाई प्रदेश र सङ्घीय सरकारले ठूलो बजेट विनियोजन गरेर काम गर्न सके केही सुधार हुने थियो ।’
दीर्घकालीन योजना नबनाएसम्म सडकको काम तत्काल राहत दिनेभन्दा बढी केही नहुने उनी तर्क गर्छन् । स्थानीयदेखि सङ्घीय सरकारसम्मका बजेट खर्च भए पनि मिलनचौक–सूर्यकुण्ड सडकको लगानी बालुवामा पानी खन्याएसरह भएको छ ।