विराटनगर । प्रदेश १ को नवनिर्वाचित सभामुखमा बाबुराम गौतमले सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सभामुख गौतमले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् ।
प्रदेश प्रमुखसमक्ष सपथ लिएपछि गौतमले प्रदेशसभाको तेस्रो बैठकको दोस्रा सत्र बिहीबार नै सञ्चालन गरे । प्रदेशसभाको बैठकले उपभामुखको निर्वाचन शनिबार ११ बजेको लागि तोकेको छ । सभामुखमा माओवादी केन्द्रका सांसद् गौतमको मात्रै उम्मेदवारी परेको थियो । बिहीबार बसेको प्रदेशसभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो ।
माओवादी उम्मेदवार गौतमलाई सत्तापक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद् प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बने ।
को हुन् गौतम ?
ओखलढुङ्गाको लिखु गाउँपालिका–९ स्थायी ठेगाना भएका गौतम २०४६ सालको पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको एकाइ अध्यक्ष भएका उनले त्यहीँबाट एसएलसी गरेका हुन् । त्यसपछि काठमाडौंको आरआर क्याम्पस अध्ययनको क्रममा उनले अखिलबाटै स्ववियुको राजनीति गरेका थिए ।
२०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा लागेका उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए । ०५४ सालदेखि ०५६ सालसम्म जेल परेका उनी ०५७ सालदेखि ०६० सालसम्म माओवादी कमाण्डरको रूपमा ओखलढुङ्गामा काम गरे । ०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासङ्घको महासचिव भएका उनी शान्ति प्रक्रियापछि पनि मजदुर सङ्गठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले मजदुर सङ्गठनमा रहँदा झापा, मोरङ र सुनसरीमा लामो समय काम गरेका छन् ।
२०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगोलमा काम गर्न थाले । ०७२ सालदेखि अहिलेसम्म उनी ओखलढुङ्गाको इन्चार्जको भूमिकामा छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका उनी हालसम्म संसदीय राजनीतिमा प्रवेश गरेका थिएनन् ।
०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका उनी सभासद् बन्न भने पाएनन् । ०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि उनी उम्मेदवार बन्न पाएनन् । यो पटकको निर्वाचनमा भने ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र २ बाट काङ्ग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाका नेतृत्व गर्ने ठाउँमा पुग्ने निश्चित भएको छ ।
राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गरेका उनी जनयुद्धको कारण शैक्षिक योग्यता थप्न नपाएको बताउँछन् । आफू निर्विरोध निर्वाचित हुने अवस्थामा पुग्दा नयाँ जिम्मेवारी थपिएको भन्दै उनी यो भूमिकालाई आफूले सफलतापूर्वक सम्पन्न गर्ने बताउँछन् । यद्यपि उनीसँग कानून निर्माण र प्रक्रियाबारे पर्याप्त ज्ञान अभाव देखिन्छ । उनका लागि प्रदेश १ को अत्यन्तै तरल अवस्थामा रहेको संसदीय राजनीतिलाई सहज ढङ्गले डोर्याउने र सरकारसँग समन्वय गर्न उनलाई चुनौती देखिन्छ ।
उपसभामुखको निर्वाचन शनिबार
प्रदेश १ को उपसभामुखको निर्वाचन भोलि (शनिबार) ११ बजे लागि तोकिएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन पुस ३० गते बिहान ११ बजेका लागि तोकेका हुन् ।
दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । एमालेले उपसभामुखमा भोजपुरकी सिर्जना राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गरेपछि उपसभामुखको निर्वाचन मिति तोकिएको हो ।
सभामुखमा उम्मेदवारी नदिएको नेपाली काङ्ग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । कसलाई उठाउने भन्ने टुङ्गो लागिसकेको छैन । काङ्ग्रेसका नेता उद्धव थापाले उपसभामुखको उम्मेदवार कसलाई बनाउने विषयमा छलफल भइरहेको बताए ।
संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले
प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर, प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ ।
प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।
प्रदेशसभा नियमावलीको नियम ९ मा सभामुखले सदनमा उपसभामुखका लागि निर्वाचन मिति तोकेपछि प्रदेशसभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने व्यवस्था छ ।