विराटनगर । अधिकाश खोला र जंगल छेउमा रहेको मोरङका २१ वटै क्रसर उद्योगहरू मापदण्ड विपरीत संचालनमा रहेको पाइएको छ ।
चार दिन लगाएर गरेको अनुगमनको क्रममा जिल्लामा संचालित क्रसर उद्योगहरू मापदण्ड विपरीत रहेको पाइएपछि बन्द गर्न निर्देशन दिएको हो ।
तीन वटा क्रसर उद्योगलाई थप जविरना पनि गरिएको छ । उर्लावारी १ मा रहेको पंचेश्वर क्रसर उद्योगलाई २० हजार जरिवाना तथा बन्द गर्न समेत निर्देशन दिएको छ । अनुगमन टोलीलाई दर्ता नविकरण समेत उद्योगले नदेखाएको अनुगमन समितिका सदस्यहरुले बताएका छन । यस्तै ग्रामथान गाउँपालिकामा रहेको विराट कंकिट उद्योग प्रालिलाई बन्द गरी १० हजार रुपैयाँ जरिवना गर्न निर्देशन दिएको छ । उक्त उद्योगले दर्ता नविरकण नगरेको र खरिद बिक्री खाता अद्यावधि नगरेको पाइएको छ ।
मोरङको बेलबारी सुन्दरहरैंचा, उर्लावारी, केरावारी, ग्रामथान र मिक्लाजुङमा २१ वटा क्रसर उद्योग रहेका छन् । ती सबै उद्योगले प्रक्रिया पुरा नगरेकाले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्न निर्देशन दिएको अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय अधिकारी हरिप्रसाद भट्टराईले बताए । मापदण्ड विपरितका क्रशर उद्योगहरूलाई तत्काल बन्द गर्न गृहमन्त्रालयले निर्देशन दिएपछि जिल्ला प्रसाशन कार्यालय मोरङ, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रतिनिधि प्रहरी प्रसाशन लगायतको संयुक्त टोलीले मोरङमा सञ्चालित उद्योगहरुको अनुगमन गरेको थियो । पुस २४ देखि २७ गतेसम्म ४ दिन लगाएर अनुगमन भएको थियो । मापदण्ड विपरित संचालन भएका क्रसर उद्योग बन्द गर्न सिफारिस गरिएको अनुगमन समितिले जनाएको छ ।
अनुगमन गर्ने क्रममा मापदण्ड विपरित र कानुन विपरित सञ्चालित २१ क्रसरलाई कारवाही गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको अनुगमन समितिका संयोजक भट्टराईले बताए । केरावारी ८ मा रहेको जयमाता दि सम्राट क्रसर प्रालिले नविकरण तथा आवश्यक प्रक्रिया पूरा नगरी क्रसर उद्योग संचालन गरेको पाइएको छ । खरिद विक्रि अधावधिक नभएको, स्टक प्रमाणित नगरेको, अबैधरुपमा खानी संचालन गरेको अनुगमनमा भेटिएको थियो । जयमाता दि सम्राट क्रसमा र पूर्व सांसद चन्द्र गुरुङ लगायतको स्वामित्व छ ।
केरावारी ८ मै रहेको कृष्ण क्रसिङ प्रालिलाई पनि तत्काल बन्द गर्न निर्देशन दिइएको छ । यो क्रसर केरावारी गाँउपालिका अध्यक्ष र निवर्तमान अध्यक्षको हो । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेवाट नविन थापा मगर र काग्रेसका रोहितकुमार कार्कीबीच कडा टक्कर परेको थियो । यस्तै केरावारी ८ को खदम खोलाको डिलमा रहेको महादेव मिनरल इण्न्डस्ट्रिज, क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको अनुगमन समितिले जनाएको छ । अन्य उद्योग जस्तै मापदण्ड पालना नगरेको अनुगमन समितिको रिपोर्टमा उल्लेख गरिएको छ । यो उद्योगमा सोही वडाका वडा अध्यक्ष मनोजकुमार खडकाको लगानी रहेको छ । खड्का र स्थानीय कमलकुमार बस्नेतको संयुक्त नाममा दर्ता रहेको छ । यो उद्योगमा गाउँपालिकाका निर्वतमान अध्यक्ष कार्कीको समेत लगानी रहेको छ ।
मापदण्ड विपरीत खोला उत्खन्न गरेको भन्दै प्रत्येक वर्ष स्थानीयले आन्दोलन गर्दै आएका छन । ग्रामथान गाउपालिकामा रहेको विराट क्रमटि उद्योग प्रालि पनि अवैध ठहरिएको छ । यो उद्योगले नविकरण नगरी संचालन गरेको छ । बन्द गर्न सिफारिस गरिएको अनुगमन समितिले जनाएको छ ।
केरावारी गाउँपालिका वडा नम्बर ८ मा नै संचालित शिवम एग्रिगेट इन्डस्ट्रिज क्रसर उद्योगलाई तत्काल नै बन्द गर्न समितिले सिफारिस गरेको छ । यो उद्योग दर्ता नविकरण नै नगरी संचालन गरिएको छ । कांग्रेसको मोरङ क्षेत्र ६ का सभापति देवु तामाङ यस उद्योगका संचालक हुन ।
लेटाङ नगरपालिकाको ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स घरेलु तथा साना उद्योग कार्यालयमा बिनादर्ता सञ्चालन भएको सबैभन्दा ठूलो उद्योग हो । उक्त उद्योग चारकोशे झाडीभित्रै सञ्चालनमा छ । बेलबारी नगरपालिकाको एनएआई एग्रिगेट इन्डस्ट्रिज,केराबारी गाउँपालिकामा सञ्चालनमा रहेको कृष्ण क्रसिब इन्डस्ट्रिज, गोविन्द प्रसाद भट्टराईको नाममा दर्ता भई मिक्लाजुङ गाउँपालिकामा सञ्चालनमा रहेको पूर्वेली क्रसर उद्योग कानुनी प्रक्रिया विपरीत सञ्चालनमा रहेको अनुगमन समिततिका संयोजक भट्टराइले बताए ।
सुन्दरहरैंचा नगरपालिकामा रहेको शंकर रोडा उद्योग, पशुपति स्टोन क्रसिब, सिद्धकाली रोडा ढुंगा, इस्टर्न एग्रिगेट एण्ड स्टोन मिल, जयश्री तिरुपति क्रसर उद्योग, बेलबारीको माधव एग्रिगेट एन्ड स्टोन, पथरी शनिश्चरेको जयश्री तिरुपति क्रसर उद्योग मापदण्ड बिपरित सञ्चालनमा रहेको अनुगमन समितिले जनाएको छ ।