भद्रपुर । झापा कारागारबबाट निस्कने फोहोर पानी बग्ने ढलको उचित प्रवन्ध नभएका कारण त्यहाँबाट दैनिक निस्किएको हजारौं लिटर फोहोर पानी पूर्वपट्टि पसेर बस्तीलाई असर गरिरहेको छ । कैदीबन्दीबाट उत्सर्ग हुने फोहोरजन्य पानी तथा दिसापिसाव व्यवस्थापनको निकास दिने ढल सहज नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जनबढी घरपरिवार प्रत्यक्ष असर व्यहोर्न बाध्य छन् । दुई दशकयता कारागारको अस्त–व्यस्त फोहोर उचित व्यवस्थापनको माग गर्दै आएका पीडित स्थानीयले न्यायोचित समाधानको बाटो नपाएको गुनासो गरेका छन् ।
वि.सं.२०६२ सालयता नेतृत्वमा पुगेका सबै सरकार प्रमुखसँग स्थानीय बासिन्दाले कारागारको फोहोर पानीको व्यवस्थापनका लागि सहज निकासको माग राखेर पटक–पटक ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएपनि समस्या हल हुन नसकेको पीडितको आरोप छ । कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले दुईवर्ष अगाडि उत्तरपट्टि एउटा शोष ट्याङ्की निर्माण गरेको छ । तर, सो ट्याङ्कीले मात्र फोहोर पानी रोक्न नसकेकोले पूर्वपट्टिको बस्तीमा पानी पसेर डुबानको समस्या घटेको छैन ।
सहजै बग्ने ढल निर्माण नभएसम्म फोहोर पानीका कारण उत्पन्न समस्या हल नहुने स्थानीय दुर्गाबहादुर खड्का बताउँछन् । कारागारको फोहोरले आसपासका नागरिकको स्वास्थ्यप्रति नकारात्मक असर गरिरहेको उनको भनाइ छ । कारागारबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्न पीडित स्थानीय बासिन्दाले स्थानीयदेखि सङ्घीय सरकारसम्म दबाब दिँदै आएपनि जिम्मेवार निकायले सुनुवाइ नगर्दा फोहोरको उचित व्यवस्थापन हुन नसकेको पीडित कविता नेपालले बताइन् ।
स्थानीयको जनजीवन दिसाजन्य वस्तुबाट उत्पन्न विभिन्न सरुवा रोग र प्रदूषणले कष्टकर बन्दै गएको उनले गुनासो गरिन् । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको २० वर्ष बितिसकेको बताउँदै कारागारको उत्तरतिर एउटा शोष ट्यांकी त निर्माण भयो तर पनि, बस्तीतिर बग्ने फोहोर पानी नरोकिएको भिष्मराज भट्टराईले गुनासो पोखे । जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित भट्टराईले बताए ।
उनका अनुसार भद्रपुर नगरपालिका खुला दिसामुक्त कसरी भयो ? कारागारको मलमुत्र पूर्वपट्टिको बस्ती तथा खेतवारीमा छरपष्ट हुने गरेको छ । के खुला दिसामुक्त यही हो ? भट्टराईले भने । स्थानीय देखि केन्द्रसम्म जानकारी गराएपनि सुुनुवाइ नभएको पीडित उर्मिला पोखरेलले बताइन् । चुनावका समयमा नेता आएर सवै समस्या हल हुन्छ भन्ने गरेको र निर्वाचित भइसकेपछि कारागार देखि देखि किन बसोवास गरेको भन्ने जवाफ पीडितले पाउँने गरेको उनको आरोप छ ।
कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर बढी दुर्गन्ध भएर हिउँदमा निकै फैलिने गरेको उनले बताइन् । कारागारभित्रको फोहार पानी त्यहीँ वरिपरि बग्ने भएकोले सँधै दुर्गन्ध र फोहोरसंँग बस्नु पर्ने बाध्यता रहेकोले स्वास्थ्यमा समस्या आउने गरेको पीडितहरूको दुखेसो छ । उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेतीबाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा जमिन बाँझिएको वर्षौं भएको बताउँछन् ।
स्वच्छ वातावरणमा जीवनयापन गर्ने अधिकारलाई जिल्ला कारागारबाट निस्कने फोहोरले अतिक्रमण गरेको भन्दै पीडितहरू यसलाई समयमै ध्यान दिएर जिम्मेवार निकायले रोक्न नसकेको आरोप लगाउँछन् । नागरिकको जीवन सङ्कटमा पार्ने दिसाजन्य फोहोर व्यवस्थापन नगरी स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार हनन् भइरहने पीडित स्थानीयको आरोप छ ।
कारागारको समस्या पुरानै रहेको झापा कारागारका जेलर मोहनलाल पनेरुले बताए । कारागार गहिरो स्थानमा भएका कारण कारागारबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या देखिएको उनले जनाए । व्यवस्थापनका लागि शोष टयाङ्की निर्माण भएपनि अग्लो भएका कारण फोहोर पानी नपसेको उनले जनाए । तत्कालका लागि वैकल्पिक उर्जा वायो ग्यास कम्पनीसँग सम्झौता भएपनि सदर भएर नआइसकेको उनले जनाए । सघन सहरी विकाससँग टयाङ्की निर्माणको स्टीमेट वनाएर पालिकासँग आर्थिक सहयोग माग्ने योजना वनाइएको उनले बताए । दीर्घकालिन समाधानका लागि गहिरो वनाएर पाइपमार्फत मेची खोलामा निकास नपुर्याएसम्म समस्या रहिरहने उनले बताए ।
फोहोर– मैलाबाट दीपक पाण्डे,कविता नेपाल, भिष्मराज भट्टराई, विज्ञान राई,अङ्किता श्रेष्ठ,,कालिका न्यौपाने,टिकाप्रसाद भट्टराइ,रवि बस्नेत ,खड्ग न्यौपाने लगायत वस्तीनै पीडित छन् ।
समस्यै – समस्याको भूमरीमा झापा कारागार जकडिएको छ । कतै स्थानीयको समस्या त कतै कैदीबन्दीको पीडा भएर झापा कारागार समस्याको भूमरीमा परिरहेको भएपनि सरकारी संयन्त्रले समस्या हल गरी सुधारको बाटोमा लैजान सकेको छैन । सदरमुकाम समेत रहेको नेपालकै पुरानो नगर भद्रपुर नगरपालिकाभित्र रहेको कारागारबाट दैनिक पाँच हजार लिटर फोहोर पानी निस्कने गरेको छ । भद्रपुर नगरपालिका ९ नम्बर वडामा रहेको जिल्ला कारागारबाट उत्पन्न हुने फोहोरजन्य पानी तथा दिसापिसाव व्यवस्थापनका लागि निकास दिने ढल नभएका कारण गाउँनै प्रत्यक्ष डुबानमा परेको भएपनि कारागारको फोहोरजन्य पानीको अस्तव्यस्तताले सदरमुकाम आसपासका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर परिरहेकोे छ ।
झापा कारागारमा बुधबारसम्म पुरुषतर्फ १ हजार ३ सय ८५ र २ नाबालकसहित ७९ जना महिला रहेको कारागार प्रशासनले जनाएको छ ।