विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । उनी संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुखबाट शपथग्रहण गरेपछि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । नियुक्त भएका मन्त्रीहरूमा एमालेबाट तिलकुमार मयाङ्बो, राप्रपाका भत्ती सिटौला र जसपाकी निर्मला लिम्बु रहेकी छिन् । नियुक्त भएका चारै जना मन्त्रीहरु हाल बिना विभागीय छन् ।
मुख्यमन्त्रीमा दाबी गर्दै आएको माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने अडानका साथ सरकारमा सहभागिता जनाएको छैन । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ ।