विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले जग्गाको विवादलाई लिएर छिमेकीमाथि लखेटी–लखेटी निर्घात कुटपिट गरेका छन् ।
कुटपिटबाट एकै परिवारका सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । यादव समूहको कुटपिटबाट घाइते हुनेहरूमा झोक्राहा नरसिंह गाउँपालिका–३ फूलचौकका ४५ वर्षीय राजकुमार मण्डल, सोही ठाउँका ५५ वर्षीय सत्यनारायण मण्डल, ३६ वर्षीय पवन मण्डल, ४५ वर्षीय सवर्ण मण्डल, ४५ वर्षीया देवकीदेवी मण्डल, ७६ वर्षीया गौरीदेवी मण्डल र २४ वर्षीया रञ्जनाकुमारी मण्डल रहेकी छन् । उनीहरूको उपचार विराटनगरस्थित न्यूरो हस्पिटलमा भइरहेको छ ।
घाइतेमध्ये सबैभन्दा गम्भीर ४५ वर्षीय राजकुमार र पवन रहेका छन् । राजकुमारको टाउकोमा रगत जमेको कारणले चिकित्सकले न्यूरो अस्पतालको पोस्टप वार्डमा राखेका छन् । पूर्वअध्यक्ष यादवको आक्रमणबाट सत्यनारायणको दाहिने हात भाँचिएको छ । यस्तै पवनको टाउकोमा गहिरो चोट लागेको कारणले ९ टाँचा लगाएको छ । सवर्णको देब्रे हात काटिएको छ भने गौरीदेवीको ढाडमा र रञ्जनाकुमारीको तिघ्रामा गहिरो चोटपटक लागेको छ ।
घाइते हुनेहरू एकै परिवारका सदस्यहरू हुन् । उनीहरूलाई आक्रमण गर्ने महेन्द्र यादव छिमेकी रहेको घाइतेका आफन्त देवकुमार मण्डलले बताए । उनका अनुसार महेन्द्र यादवसहित, जितनारायण यादव, लक्ष्मी यादव, जयप्रकाश यादव, दीपक यादव, राजकुमार यादव, रामदेव यादव, ढुनाइ यादव, विरेन यादव र ओमप्रकाश यादवले रड, भाटा, मुङ्ग्रोले लखेटी–लखेटी आक्रमण गरेको आरोप लगाएका छन् ।
‘मङ्गलबार बिहानदेखि जाडो निक्कै बढेको थियो । हामी घरमै बसिरहेका थियौं । ११ बजेतिर महेन्द्र यादवसहित एक सयको सङ्ख्यामा एउटा ट्याक्टर लिएर हाम्रो जमिन खन्न आएपछि हामीले रोक्न जाँदा हामीमाथि आक्रमण गरेका हुन्’ घाइतेका आफन्त हस्पिटलमा भेटिएका देवकुमार मण्डलले भने, ‘अहिलेसम्म आक्रमण गर्ने मुख्य मान्छेलाई प्रहरीले पक्राउ गरेको छैन । हामीलाई आक्रमण गरेको लौकही प्रहरी चौकीका प्रहरीहरूले पनि देखेका छन् । आक्रमण गर्ने महेन्द्र यादव पूर्वअध्यक्ष पनि हुन् । त्यही पहुँचको आधारले प्रहरीले उनलाई समात्न नचाहेको हुनसक्छ ।’
यसरी हातहतियारसहित मरणासन्न हुने गरी कुटपिट गर्नेमाथि कडा कारबाही हुनुपर्ने उनले माग गरेका छन् । आक्रमण गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिन भाइ शिवनन्द मण्डल गएको उनले बताए ।
यता आक्रमणको आरोप लागेका महेन्द्र यादवले दाजु ढुनाइ यादवले वर्षौंदेखि भोगचलन गर्दै आएको आफ्नो जग्गा जोत्न जाँदा विपक्षीहरूले रोकेपछि झडप मात्र भएको बताए । ‘दाजु ढुनाइ यादवले २ बिघा भोगचलन गर्दै आउनुभएको थियो । मङ्गलबार भोगचलन गरेको जग्गा ट्याक्टर लिएर जोत्न जाँदा विपक्षीले रोकिदियो । यतिकैमा विवाद सुरु भयो । त्यही बीचमा अर्को पक्षबाट पनि प्रहार गरियो । अनि प्रतिकारमा उत्रिँदा आक्रमण भयो’ उनले भने, ‘मेरो भतिज जितनारायण र जयप्रकाश यादव पनि घाइते भएका छन् । उनीहरूको हातमा चोटपटक लागेको छ ।’ आक्रमणमा आफ्नो कुनै पनि संलग्नता नरहेको उनको भनाइ छ ।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटनाको अनुसन्धान गर्न घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाएको बताए । ‘झगडा हुने बितिक्कै प्रहरी टोली घटनास्थलमा पुगेको छ । अहिले जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली गएको छ’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ अहिले घटनामा संलग्न भएका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पनि सुरु गरिएको उनले बताए । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । ‘अहिले हामीले अनुसन्धान सुरु गरिएको छ’ एसपी ढकालले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’
के हो जग्गा विवाद ?
सुनसरीको झोक्राहा नरसिंह गाउँपालिका–३ मा ५ बिघा १८ कठ्ठा ३ धुर जग्गा रहेको छ । उक्त जग्गा देवकुमार मण्डलले २००६ सालदेखि भोगचलन गर्दै आएको उनको भनाइ छ ।
यता पूर्वअध्यक्ष महेन्द्र यादवको दाजु ढुनाइ यादवले २०३२ सालदेखि २ बिघा जग्गा भोगचलन गर्दै आएको दाबी छ । यही बीचमा देवकुमार मण्डलको ठूलो बुबा गुलत मण्डलले २०३७ सालमा सुनसरी अदालतमा मुद्दा हाले । यो मुद्दा जिल्ला हुँदै सर्वोच्च अदालत पुग्यो । सर्वोच्चले २०७५ भदौ २० गते फैसला गरेको थियो ।
फैसलामा ऐलानी जग्गा भएकाले मालपोत कार्यायलले निर्णय नगरेसम्म कसैले पनि जोतभोग नगर्नू भन्ने आदेश पनि थियो ।यही बीचमा महेन्द्रका दाजु ढुनाइ यादव र विरेन यादवसहित मङ्गलबार ट्याक्टर लिएर खेत जोत्न गएपछि झडप भएको स्थानीय बताउँछन् ।