प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
नेपालको संविधानको धारा ७६ को उपधारा ( ४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । दाहाल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एकीकृत समाजवादी)का १०, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक सांसद् छन् ।
यस अघि नियुक्तिमा समर्थन नदिएका एकीकृत समाजवादी, लाेसपा र काँग्रेसले पनि विश्वासकाे मत दिने भएकाे छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।
त्यस्तै, संसदकाे सबैभन्दा ठूलाे दल काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन परिसरमा बसेकाे बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेकाे छ ।