धरान । २०७२ सालमा धरान–१६ मा कार्यालय विस्तार गरिएको मालपोत तथा नापी कार्यालय अब धरान ६ मा सर्ने भएको छ ।

मालपोत तथा नापी कार्यालय उतातिर सारिने भएपछि कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालको जिल्ला कार्यसमिति र धरान नगर समितिले आपत्ति प्रकट गरेको छ । उसले मालपोत र नापी सार्नमा २०७३ सालका हाकिमहरू मुख्य दोषी रहेको दाबी गरेको छ । जनप्रतिनिधिविहीन भएको अवस्थामा भूमाफियाको चङ्गुलमा फसेर एक-एक कठ्ठा जग्गाको लोभमा परी कार्यालय सारेको पार्टीको दाबी छ । चाहेको अवस्थामा उक्त कुरालाई तथ्यसहित बाहिर ल्याउन सक्ने क्षमता पार्टीसँग रहेको पनि बताएको छ । 

Limbuwan_memorendum_latter

‘मालपोत कार्यालयका तात्कालीन प्रमुख भीमप्रसाद गौतम तथा नापी कार्यालयका तात्कालीन प्रमुख कृष्णप्रसाद न्यौपानेले सो क्षेत्रमा एक–एक कट्ठा जमिन लाभ लिई भुमाफियाहरूको चङ्गुलमा परी जनप्रतिनिधिविहीन स्थानीय सरकारको दुरुपयोग गरी २०७३ सालमा मनोमानी ढङ्गले मालपोत तथा नापी कार्यालय धरान–६ पानबारीमा स्थानान्तरण गर्ने निर्णयलाई अधि बढाउने कार्य गर्यो’ मालपोत तथा नापीका प्रमुखलाई आइतबार बुझाएको ज्ञापन-पत्रमा लेखिएको छ ।

धरानमा २०७२ सालमा मात्रै मालपोत र नापी कार्यालय विस्तार भएका हुन् । त्यसअगिसम्म यहाँका नागरिकले मालपोत तथा नापीको काम गर्नका लागि सुनसरीको सदरमुकाम इनरुवा पुग्नु पथ्र्यो । तर, २०७२ सालमा इनरुवास्थित मालपोत तथा नापी कार्यालयले सेवा विस्तार गर्ने निर्णयबमोजिम धरान–१६ स्थित कृषि विकास बैङ्कको खाली रहेको भवनमा राखेको थियो । त्यसले सुनसरी क्षेत्र नम्बर १ बासीलाई राहत पुगेको थियो । सुनसरी १ मा क र ख गरी दुई क्षेत्रमध्ये रामधुनीका ६ र ७ वडावासी भने अहिले पनि इनरुवाबाटै सेवा लिँदै आएका छन् । 

मालपोत कार्यालयका तात्कालीन प्रमुख भीमप्रसाद गौतम तथा नापी कार्यालयका तात्कालीन प्रमुख कृष्णप्रसाद न्यौपानेले सो क्षेत्रमा एक–एक कट्ठा जमिन लाभ लिई  धरान–६ पानबारीमा स्थानान्तरण गर्ने निर्णयलाई अधि बढाउने कार्य गर्यो 

लिम्बुवानले तत्कालीन मालपोत तथा नापीका हाकिमहरूले एक–एक कठ्ठा जग्गा लिएको विषय तत्कालीन समयमा पनि ब्यापक उठेको थियो । तत्कालीन समयमा हाकिमहरूले लिएको जग्गा आफ्नो नाममा नराखी आफन्तको नाममा नामसारी गरेको केही स्रोतले ब्लाष्टलाई पनि बताएका थिए । तर, एकाएक त्यो विषय हराउँदै गयो । फेरि मालपोत तथा नापी सार्ने तयारी गरिएपछि भने लिम्बुवानले विरोध जनाउँदै आएको छ । 

‘धरान ६ पानबारीमा सार्ने निर्यणले सिङ्गो क्षेत्र नं. १ बासीलाई नै असुविधा र असुरक्षित हुने भएकोले यो निर्णयलाई तत्काल खारेज गरी १ नं. क्षेत्रका सेवाग्रहीहरुलाई साविक धरान १६ को मालपोत तथा नापी कार्यालयबाटै सहजतापूर्वक निरन्तर सेवा प्रवाह गर्न साथै सम्बन्धित दोषि उपर छानबिन गरी सत्यतथ्य पत्ता लगाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ’ अध्यक्ष अमर इजमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

किन असुरक्षित भनियो ? 

धरान–६ को पानबारी पुग्नका लागि जङ्गल पार गर्नुपर्ने हुन्छ । करिब दुई किलोमिटर दूरीभित्र जङ्गल क्षेत्र पर्छ । जहाँ सेउती र सेहरा खोला पनि पर्छ । ती खोलामा पुल लगाइए पनि आवातजावतका हिसाबले केही जोखिमपूर्ण मानिन्छ । साँझ हुनेबित्तिकै त्यो ठाउँ लगभग सुनसान हुन्छ । 

दैनिक करोडौँ रुपैयाँ आर्थिक कारोबार हुने कार्यालय असुरक्षित स्थानमा लगिनु आफैमा अपरिपक्व र अवैज्ञानिक निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सुनसरी क्षेत्र नम्बर १ का बासीलाई पनि पायक नपर्ने भएकाले कार्यालय सार्न नहुने पार्टीको ठम्याइ रहेको अध्यक्ष इजमले बताए । लिम्बुवानले प्रहरी तथा अन्य सुरक्षा प्रशासनको कार्यालय पानबारीमा विस्तार गर्न उपयुक्त हुने बताएको छ ।