धरान । इटहरी उपमहानगरपालिका–१९ का लालबहादुर विश्वकर्मा (गोपाल) माथि अन्याय भएको भन्दै सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैको ध्यानाकर्षण भएको छ ।

मालिकको गलत कामको सिकार निरीह मजदुर बन्नुपरेको भन्दै अहिले नागरिक अभियन्ताले ‘लालबहादुर विश्वकर्मा बचाऊ अभियान’ सञ्चालन गरिरहेका छन् ।

शनिबार लालबहादुरको परिवारलाई भेट्न इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल उनको घरमा पुगे । प्रमुख पौडेलसमक्ष लालबहादुरकी श्रीमती दिलकुमारी विश्वकर्माले गुनासो पोखिन्, ‘खाँदै नखाएको विष लाग्यो । बनीबुतो गरेर पाल्नुपर्ने ज्यान जेल जानुप¥यो । त्यत्रो जरिबाना कहाँबाट ल्याउने अब, हामीलाई ठूलो अन्याय भएको छ, सबैले सहयोग गरिदिनुहोस् ।’

प्रमुख पौडेलले निर्दोष मानिसले सजाय पाउन नहुने भन्दै विश्वकर्माको परिवारलाई नआत्तिन आग्रह गरे । अझै पुनरावेदन अदालत हँुदै उच्च अदालतसम्म न्याय माग्ने ठाउँ भएको भन्दै आवश्यक सहयोग गर्ने बताए । उनले भने, ‘अदालतले अरूलाई लालबहादुर नबनाओस् ।’

लालबहादुरको न्याय पाउने आशा अझै जीवित रहेको भन्दै इटहरी उपमहानगरले पनि पहल गर्ने उनले आश्वासन दिए । इटहरी–२० मा  रहेको सिंहदेवी ज्वेलर्समा कालिगडको रूपमा कार्यरत उनलाई जिल्ला अदालत सुनसरीले ३ करोड १४ लाख ११ हजार जरिबाना तोकेपछि विश्वकर्मा परिवारको विचल्ली भएको छ ।

दीपक विश्वकर्मा गजमेरले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा सुन, चाँदीका गरगहना बनाउने कालिगडका रूपमा काम गर्ने लालबहादुरलाई फसाइएको भन्दै अहिले सामाजिक सञ्जाल तातेको छ । दीपक गजमेर विश्वकर्मा र उनका परिवारले सुन पसलको साथै सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिज प्रालि नामको बचत पासबुक बनाई धेरै ब्याजसहित मुनाफा दिने भन्दै प्रलोभन देखाई स्थानीय २ सय ७५ जनाबाट १८ करोड बढी रकम ठगी गरेको प्रमाणसहित उक्त रकम बिगो तिराउने सुनसरी जिल्ला अदालतले फैसला सुनायो ।

पीडित भनिएका लालबहादुरले अदालतमा बयान दिँदा पनि साहु दीपकका बुबा कृष्णबहादुर अनपढ रहेका र उनको आदेश निर्देशनमा २ वटा पासबुकमा दस्तखत गरेको र कालिगड बाहेक पसलमा अन्य जिम्मेवारी आफ्नो नरहेको बताएका छन् । त्यस्तै साहु र उनको परिवार तथा जाहेरवालाहरूले लालबहादुर विश्वकर्मा निर्दोष रहेको बकपत्रमा बयान दिएका छन् ।

तर, २०७८ पौष १९ गते सुनसरी जिल्ला अदालतले ज्वलेर्स सञ्चालक दीपक विश्वकर्मा र उनको परिवारसहित लालबहादुर विश्वकर्मालाई अन्य सजायसहित बिगो रकमको बराबर गरी तिराउने भन्ने फैसला गरिदियो र सुनसरी जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्याको इजलासले एक वर्ष ६ महिना कैद र तीन करोड १४ लाख ११ हजार रूपैयाँ जरिबाना तोकेको छ । यो आदेशविरुद्ध लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिएका छन् । उनी अहिले झुम्का कारागारमा छन् ।

दीपकका बुबा कृष्णबहादुर विश्वकर्मा ज्वेलर्समा हुँदा बचतकर्ताले ल्याएको रकम समात्ने र पासबुकमा पैसा बुझेको भरपाइस्वरूप सही गर्ने काम लालबहादुरले गर्थे । उनले भरपाइ गरेको रकम १० लाख बराबरको रहेको बताइएको छ ।

त्यही प्रमाणका आधारमा लालबहादुरलाई प्रहरीले दीपकसहित उनका बाबु कृष्णबहादुर विश्वकर्मा, दिदी सीता विश्वकर्मा यसअघि नै पक्राउ परेका छन् भने दीपकका भाइ कमल फरार छन् । ०७४ सालमा ३० दिन हिरासतमा बसेर धरौटीमा रिहा भएका लालबहादुर ७८ पुस १९ मा सुनसरी जिल्ला अदालतको फैसलाले जेल चलान भएका हुन् ।