धरान । पाँचथरको कुम्मायक गाउँपालिका–२ माङ्जाबुङकी मनिषा आचार्यको सुत्केरी गराएपश्चात् अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । १९ वर्षीया आचार्यको ‘नर्मल डेलिभरी’ गरिएको थियो । तर, एकाएक रक्तश्राव नथामिएपछि उनलाई जिल्लास्थित फिदिम अस्पताल लाने क्रममा मृत्यु भएको चिकित्सकले बताए । 

सुत्केरीपछि हुने अत्यधिक रक्तश्रावका कारण उनको निधन भएको पाँचथर अस्पतालका डा. बुद्धिबहादुर थापाले जनाए । एम्बुलेन्स अभावका कारण समयमा उनलाई अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको भनिएको छ । सुत्केरी मृत्यु घटना नौलो होइन । पछिल्लो समय सुत्केरीहरूले अकालमै ज्यान गुमाएको थुप्रै उदाहरणहरू भेटिन्छन् । नेपालको कर्णाली प्रदेश यस मामलामा अग्रपङ्क्तिमा आउँछ । केही उदाहरण हेरौँ, २०७९ असोजमा कर्णाली प्रदेशको सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छन्त्यालको पनि अत्यधिक रक्तश्रावकै कारण मृत्यु भयो । उनको समस्या पनि आचार्यको भन्दा फरक छैन । गाउँमा भरपर्दो स्वास्थ्य संस्थाको अभावमा उपचार हुन नसक्दा अकालमै उनले ज्यान गुमाउन पुगिन् ।

यस्तै २०७९ कात्तिक १५ गते पनि अदानचुली गाउँपालिका–५ काँखेकी २० वर्षीया रङ्गीता शाहीले पनि अकालमै ज्यान गुमाइन् । सुत्केरी व्यथा लागेको ६ घण्टासम्म उपचार नपाएकै कारण उनको मृत्यु हुन पुगेको थियो । यी उदाहरणहरू कर्णाली प्रदेशका साझा समस्या हुन् तर, प्रदेश १ मा पनि त्यो समस्या कम छैन । केही स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले गरेको अनुसन्धानमा ‘कम उमेरमा विवाह गर्ने र बच्चा जन्माउन समस्या हुने’ कारण पनि मृत्यु धेरै हुने गरेको छ । 

बीएमजे नामक एक जर्नलमा प्रकाशित लेखका अनुसार नेपालमा १५ वर्षदेखि १९ वर्षसम्मका किशोरीहरू आमा बन्ने अनुपात उच्च रहेको देखाएको छ । उक्त लेखमा १७ प्रतिशत किशोरीहरू आमा बन्ने गरेको तथ्य सार्वजनिक गरेको छ । प्रजनन् क्षमता भइनसकेका कारण पनि किशोरी आमाहरूको मृत्यु अधिक हुने गरेको चिकित्सकहरू बताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसूति विभागमा कार्यरत डाक्टर सूर्यप्रसाद रिमाल (एसपी)का अनुसार किशोर अवस्थामा प्रसूति एकदमै जोखिमपूर्ण हुन्छ । त्यो बेलामा बढी रक्तश्राव हुने र रक्तचाप बढ्ने समस्या बढी हुने गरेको छ । ‘टिनेज प्रेग्नेन्सी रिस्क फ्याक्टर हो । त्योबेलामा धेरै रक्तश्राव हुन सक्ने र ब्लडप्रेसर बढ्ने सम्भावना अधिक हुन्छ’–उनले भने । 

डा. अरुणा उप्रेतीले गत असार ३ गते नागरिक दैनिकमा लेखेको एक लेखका अनुसार तीन वर्षमा ७ सय ८९ सुत्केरीले अकालमा ज्यान गुमाएको उल्लेख गरेकी छन् । सरकारले सुत्केरी मृत्युलाई रोक्नका लागि ५ करोड रुपैयाँ बजेट पनि छुट्याएको प्रसङ्ग उनले उल्लेख गरेकी छन् । यसमा सरकार असफल भएको उनको लेखबाट प्रष्टिन्छ । नेपालमा सुत्केरी मृत्यु भयावह रूपमा बढ्दै गएको विभिन्न आँकडाहरूले पनि प्रष्ट पार्दछ । पूर्वी नेपालको पहाडी क्षेत्रका आमाहरूले गर्भावस्था सम्बन्धी जटिलताहरूबाट बढी ग्रस्त रहेको बीएमजी जर्नलको लेखमा उल्लेख छ । उक्त लेख प्रदेश १ का विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूले तयार पारेका हुन् । 

पाँचथरको कुम्मायकमा भएको मृत्युमा एम्बुलेन्स समयमा नपाउँदा भनिए पनि रक्तश्रावको प्रमुख कारण खुलाइएको छैन । माङ््जाबुङका प्रमुख सचिन्द्र मेहताका अनुसार वडाको बर्थिङ सेन्टरमा सुत्केरी व्यथा लागेको दुई घण्टामा नर्मल डेलिभरी भएको थियो । तर, केही सयमपश्चात् रक्तश्राव सुरु भएको उनको भनाइ छ । उनी भन्छन्, ‘बच्चा भएको केही समयमा रक्तश्राव सुरु भयो, औषधि दिएपछि ठीक पनि भयो, तर, साँझ ४ बजेपछि अचानक अचेत भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजाने क्रममा मृत्यु भयो ।’ 

आचार्यको मृत्युको प्रमुख कारण एम्बुलेन्स नपाउनुलाई लिइएको छ । समयमा पुग्न नसक्दा रातको ९ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । यता शिशुको अवस्था भने सामान्य रहेको चिकित्सकले बताएका छन् ।