विजयपुर । हात्तीले गाउँ पसेर विध्वंश मच्चाउन थालेपछि रामधुनी नगरपालिका वडा नं. ७ कुमारखत र पञ्चायनका बासिन्दा ४ रात निदाउन पाएनन् । अझै पनि निदाउन सक्ने अवस्थामा छैनन् ।
रामधुनी–७ कुमारखत र पञ्चायन क्षेत्रमा मङ्सिर २६ गतेदेखि जङ्गली हात्ती आएर अड्डा जमाएपछि स्थानीयबासी निदाउन नसकेका हुन् । हात्तीले जनधनको क्षति गर्ने त्रासले उनीहरू जागै बस्नुपरेको हो ।
पञ्चायत मावि चौसठ्ठी बिगाहाकी शिक्षिका तथा स्थानीय पुष्पा लिम्बूले जङ्गली हात्ती गाउँ प्रवेश गरी विध्वंश मच्चाउन थालेपछि ४ रात निदाउन नसकेको बताइन् । उनका अनुसार हात्ती गाउँमा पसेर १ घरमा क्षति पनि गरेको छ । उनले भनिन्, ‘हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा त्यस घरकी एक बालिका सामान्य घाइते भएकी छन् । उनी परीक्षा दिन पनि आउन सकेकी छैनन् । धन्न नानी बचाउन सफल भएछन् ।’
उनका अनुसार सो घरका सबै सरसामान हात्तीले नष्ट गरेको छ । उनले भनिन्, ‘अन्नपात केही छैन । एउटा भाँडा मात्र छ रे ।’ उक्त घरका सपरिवार अहिले छिमेकीकोमा सहारा लिएर बसेका छन् । उनले भनिन्, ‘४ रात सुत्न पाइएन । अहिले पनि त्रास उस्तै छ ।’
शुक्रबार सो क्षेत्रबाट हिँडेका हात्ती शनिबार पुनः नडाहादेखि फर्किएको जानकारी आएको उनले बताइन् । रामधुनी–७ का वडाध्यक्ष केशव गौतमका अनुसार मङ्सिर २६ गते झण्डै दर्जन जति हात्ती आएका थिए । उनले भने, ‘२ वटा बच्चा पनि थिए ।’ उनले एकघर पूर्णरूपमा क्षति भएको बताउँदै भने, ‘एउटा घर भत्काउँदा करिब डेढ लाखको क्षति भएको छ ।’
उनका अनुसार ती हात्ती पूर्वतिरबाट आएको अनुमान गरिएको छ । उनले भने, ‘यस्ता अटेरी हात्ती कहिले देखिएको थिएन । अन्य बेला आउने हात्ती घरेलु हातहतियार र राँको देखाउँदा भाग्थे ।’ ती हात्ती नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेद्ने प्रयास गर्दा पनि नभागेको उनले बताए । उनले भने, ‘१० हजार रुपैयाँको त पटका मात्रै पड्कायौँ ।’
हात्ती नभागेपछि नगरपालिकाको बारुण यन्त्र (दमकल) को साइरन बजाएपछि भने शुक्रबारदेखि हात्ती देखिएका छैनन् । उनका अनुसार हात्तीले अन्य ५ घरमा आंशिक क्षति पुर्याएको छ । उनले भने, ‘क्षति पुर्याएको घर बस्नै नहुने अवस्थाको भयो, हात्तीले विभिन्न ठाउँका स्थानीयको ३ मनभन्दा बढी धान पनि क्षति गरेको छ ।’