विराटनगर  । वित्तीय संस्था सहकारीकै कर्मचारीको बदमासीको कारणले सोझा र आर्थिक विपन्न विराटनगर–१२ रानीसिंचाइका ६४ वर्षीय लखनलाल मण्डल धानुकको नाममा रहेको जग्गा अर्कै व्यक्तिलाई बिक्री वितरण गरिदिने र लिनेविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

मण्डलले धितोमा जग्गा राखेको नेपाल सहकारी संस्थाका सचिव विराटनगर–१२ का ४० वर्षीय निर्मलकुमार दाहाल र जग्गाधनीलाई थाहै नदिई सहकारीसँग मिलेर जग्गा लिने विराटनगर–१३ की ३७ वर्षीया सिर्जना खातीविरुद्ध मोरङ प्रहरीमा ‘ठगी’ मा बिहीबार उजुरी दर्ता भएको हो । 

विराटनगर महानगरको न्यायिक समितिमा परेको निवेदनका आधारमा छानबिन गर्दा मण्डल ठगीमा परेको जनाइएको छ । न्यायिक समितिले यो विषय ठगी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमार्फत् अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको छ । सोही आधारमा उजुरी दर्ता गरेपछि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । ‘घटनाको विषयमा हामीले पनि जानकारी पायौं । अहिले उजुरी दर्ता भएको छ’ एसपी कोइरालाले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ थप विषय अनुसन्धानपछि खुल्ने उनले बताए । 

सहकारी संस्थामा धितो राखेको विराटनगर–११ (क) ५४५ किता नम्बर रहेको १७ धुर जग्गा मण्डललाई थाहै नदिई विराटनगर–१३ घर भएकी सिर्जना खातीको नाममा २०७६ माघ १९ गते पास भएको पाइएको थियो ।

यस्तो छ घटना 

लखनलाल मण्डलले २०६८ सालमा विराटनगर–१२ मा रहेको साविकको न्यू जनता बचत तथा ऋण सहकारी र हालको नेपाल सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिएका थिए । उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिलाइदिएका थिए । मण्डल पेटको बिरामी भएपछि ब्याजमा राजु आबद्ध रहेको सहकारीमा जग्गा धितो राखेर ऋण लिएका थिए । ६८ हजारको सावाँ र ब्याज गरी मण्डलले विभिन्न मितिमा ६ लाख रुपैयाँ राजुलाई बुझाएका छन् । तर, मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा गरिदिएनन् । लेखपढ नगरेका मण्डलले विश्वास गरेर राजुलाई बुझाएको पैसाको भौचर पनि नलिएको उनले बताए । मण्डलको घरदेखि राजुको घर तीन सय मिटर दक्षिणमा पर्दछ । उनीहरूको घरमा आवत–जावत नियमितजस्तै हुने गथ्र्यो । मण्डलको जेठा छोराको नाम पनि राजु हो । त्यही भएर मण्डललाई राजुले मित बाबु भनेर सम्बोन्धन गर्थे । विश्वासमा परेका मण्डलले आफ्नो नाममा भएको जग्गा थाहै नपाई राजुले श्रीमती सिर्जना खातीको नाममा पास गरेका थिए ।

विराटनगर–१२ मा मण्डलको जग्गा भएको ठाउँमा हाल धुरको ६ लाखले कारोबार हुने गरेको छ । सिटी सफारी चलाएर आम्दानी भएको र छोराले विदेशबाट पठाएको पैसा मण्डलले पटक–पटक गरी ६ लाख रुपैयाँ राजुलाई बुझाएका थिए । 

‘ऋण लिएको पैसा बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा मेरो नाममा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लिएर गयो । उसले जे–जे भन्यो, तेहीअनुसार मैले सही र ल्याप्चे पनि लगाइदिएँ । लेखपढ गर्न आउँदैन । त्यसैको फाइदा उठाउँदै राजुले आफ्नो श्रीमतीको नाममा जग्गा पास गरिदिएछ’–मण्डलले सुनाए । 

श्रीमतीको नाममा जग्गा पास गरेकै दिन २८ लाख रुपैयाँमा १७ धुर जग्गा किनेको देखाउन मण्डलको नाममा नबिल बैङ्कमा खाता खोलिदिएको खुलेको छ । सन् २०२० फेब्रुअरी ३ तारिखमा लखनलाल मण्डलको नाममा नबिल बैङ्कमा खाता खोलेको देखिएको हो । उक्त खाता खोलेको दिन जग्गा किनेको देखाउन सिर्जना खातीले २८ लाख रुपैयाँ जम्मा गरेकी छन् ।

रकम जम्मा गरिएकै दिन आरती चौधरीको नाममा ७ लाख, ६ लाख र ७१ हजार ५ सय रुपैयाँ चेक काटेर झिकेको बैङ्क स्टेटमेन्टमा देखिन्छ । खाता खोलेको दिन १३ लाख ७१ हजार ५ सय रुपैयाँ झिकेका छन् । 

खाता खोलेको दोस्रो दिन २०२० फेब्रुअरी ४ गते लखनलाल मण्डलका नाममा ७ लाखको चेक बेन्जु तम्राकारले भजाएको देखिएको छ । सोही दिन अर्को ७ लाखको चेक लखनलाल मण्डलकै नाममा काटेर पीन्टुकुमार ठाकुरको नाममा साटेको बैङ्क स्टेटमेन्टमा देखिन्छ । मण्डलको खाताबाट झिकेको रकम राजु र सिर्जनाले दिएको खुलेको छ ।  

अहिले मण्डलको खातामा १७ हजार २ सय ४८ रुपैयाँ मौज्दात देखिन्छ । पैसा झिक्नेहरू सिर्जना र राजु आबद्ध भएका सहकारीका कर्मचारीहरू हुन् । उनीहरूले बयानको क्रममा उक्त रकम राजु र सिर्जनाले चेक काटेर दिएको बताएका छन् । 

‘जग्गा आफ्नो नाममा आउने भनेपछि राजु र सिर्जनाले भनेअनुसार बैङ्कमा गयौं । त्यहाँ पनि मालपोतमा जसरी कागजपत्रमा सही गर्न लगाए । उनीहरूले भनेअनुसार गर्दै गएँ । अहिले आएर थाहा पाएँ कि २८ लाखमा जग्गा बेचेको भनेर’ भावविह्वल हुँदै मण्डलले भने, ‘मैले २८ लाख देख्नै पाएको छैन । कहाँबाट मैले दुःख गरेर आर्जेको जग्गा बेच्छु । जग्गाको नाममा तेही एक टुक्रा छ । जस्तापाताको छानो हालेर तेही जग्गामा हामी ९ जनाको परिवार ओत लागेर बसेका छौं । त्यो जग्गा बेचेर हामी कहाँ बस्नु ?’ जालझेल गरेर मण्डलको नामको जग्गा आफ्नो श्रीमतीको नाममा पास गरेको दुई वर्षपछि राजुको २०७८ पुसमा मृत्यु भएको छ ।