विजयपुर । धरान उपमहानगर प्रमुख हर्कराज राई र वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूको विवाद उत्कर्षमा पुगेको छ । वडाध्यक्षसहित कार्यपालिका सदस्य विवादले कार्यपालिकाले गर्नुपर्ने निर्णयहरू रोकिँदा धरानको विकासमा दीर्घकालीन असर पर्ने देखिएको छ ।

यो विवादको सुरुवात मुख्यरूपमा गत असोज १३ गतेको कार्यपालिका बैठकबाट भएको देखिन्छ ।  कार्यपालिका बैठकमा नगरप्रमुख राईले सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले फरक धारणा राखे । त्यसपछि प्रमुख राईले देवानलाई बैठकस्थलबाट बाहिर निस्किन निर्देशन दिएका थिए । त्यसपछि नीति विपरीत कार्यपालिका सदस्यको अपमान गरेको भन्दै वडाध्यक्षसहित कार्यपालिका सदस्यहरू बैठकस्थलबाट बाहिरएका थिए । त्यसरी बिथोलिएको बैठक हालसम्म बस्न सकेको छैन ।

कार्यपालिका सदस्यहरूले नगरप्रमुख राईले आत्मालोचना गरी माफी माग्नुपर्ने अडान राख्दै आएका छन् । उक्त विषयले नै शुक्रबार बोलाइएको कार्यपालिका बैठक पनि बस्न सकेन । शुक्रबार २० वटै वडाका वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गरी बैठक बस्न नसक्नुका कारण सार्वजनिक गर्दै नगरप्रमुख राईलाई बैठक बस्ने वातावरण बनाउन अनुरोध गरेका थिए ।

वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा ‘उपभोक्ता समिति गठनमा रोक, विना निर्णय साबुन उद्योगको निर्माण कार्य सुरु, बीपी पार्कको नाम परिवर्तन गरी आफ्नो फोटो राखी श्रम संस्कृतिपार्क नामकरण गरेको, सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको, जातीय सद्भाव भड्किने गरी ‘चमारे’ भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मसम्मानमा चोट पु¥याएको, सेवाग्राहीहरूलाई प्रहरी लगाएर धरपकड गर्न खाजेको र राष्ट्रसेवक कर्मचारीलाई अपमानित गर्ने गरेको’ उल्लेख गरेका थिए ।

शुक्रबार नगरप्रमुख राईले पनि पत्रकार सम्मेलन गरेर वडाध्यक्षहरूले लगाएका आरोपको खण्डन गरे । पत्रकार सम्मेलनमा प्रमुख राईले कार्यपालिकामा आफू नीतिअनुरूप नै प्रस्तुत भएको दाबी गर्दै कुनै पनि अवस्थामा माफी नमाग्ने अडान लिए । नगरप्रमुख राई वडाध्यक्षसहित कार्यपालिका सदस्यको विवाद सुल्झाउन लाग्नुको सट्टा भड्काउने किसिमले अभिव्यक्ति दिँदै आएको भन्दै विरोध भइरहेको छ । 

कार्यपालिका सदस्य र नगरप्रमुख राईको टकराव बढ्दै जाँदा धरानको विकासमा दीर्घकालीन असर पर्ने बुद्धिजीवी प्रा.डा. टङ्कप्रसाद न्यौपानेले बताए । उनले कार्यपालिका बैठकमा नगरप्रमुख राईले दिएको अभिव्यक्ति गलत भएको बताए । उनले भने, ‘कार्यपालिका सदस्यहरूले पनि बैठक बहिष्कार गर्नु हुँदैनथ्यो ।’ विवादले धरानको विकासमा नराम्ररी असर पर्ने प्रा.डा. न्यौपानेले बताए ।

अर्का बुद्धिजीवी डा. राजेन्द्र शर्माले पनि नगरप्रमुख र वडाध्यक्षहरूको विवादले विकासमा दीर्घकालीन असर पर्ने बताए ।  उनले भने, ‘छिटो विवाद समाधान नगरे ५ वर्ष त असर पर्छ नै । त्यसको परिणाम लामो समय देखिन्छ ।’ उनले नगरप्रमुख राईमा मैमत्तापन देखिएको बताए । उनले भने, ‘मैमत्ता खालको प्रमुख भए, उनमा कसले के गर्छ भन्ने भयो । भाषाशैली उद्दण्ड भयो ।’ 

प्रमुख राईले खानेपानीमा जनसहभागिता जुट्यो भनेर घमण्ड गर्न नहुने बताउँदै डा. शर्माले भने, ‘विगतका नगरप्रमुखहरूले पनि थुप्रै सडक तथा विकास निर्माणका कार्यमा श्रमदान गरेका थिए ।’ उनले थपे, ‘नगरप्रमुख राईले दूधले नुहाएका छैनन्, अन्य पनि सबै खराब होइनन् । धरानको विकासमा संयुक्तरूपमा लाग्नुपर्छ ।’  कार्यपालिकाको विवाद समाधानमा उपप्रमुख र प्रशासकीय प्रमुखले समन्वयात्मक भूमिका निर्वाह गर्न सुझाए ।

  धरान नगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले व्यक्तिगत कुराहरू लिएर विवाद गरी जनताका कामलाई ओझेलमा पार्न नहुने बताए । उनले भने, ‘मेयरले केही सुधार गर्नुपर्छ । वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूले पनि केही सुधार गर्नुपर्छ ।’ उनले कार्यपालिका बैठक बसाउन आफूले प्रयत्न गरिरहेको बताए ।

शुक्रबारको पत्रकार सम्मेलनमा नगरप्रमुख राईले आफूले माफी नमाग्ने बताउँदै बरु वडाध्यक्षहरूलाई राजीनामा दिन माग गरे । कार्यपालिका बैठक बस्न नसक्नुमा वडाध्यक्षहरू नै कारण भएको र उनीहरू विकास विरोधी भएको आसय बारम्बार उनले सामाजिक सञ्जालमा व्यक्त गर्दै आएका छन् । पत्रकार सम्मेलनमा नगरप्रमुख राई भने, ‘भनेको नमान्ने वडाध्यक्षहरूले राजीनामा दिए हुन्छ ।’ 

यस विषयमा बुद्धिजीवी डा.शर्माले नेपालका कुनै पनि कानूनमा वडाध्यक्षको राजीनामा माग्ने व्यवस्था नभएको बताए । उनले भने, ‘नगरप्रमुखलाई कानूनी व्यवस्था थाहा छैन । जे पायो त्यही बोल्दिनुहुन्छ । जसले धरानेको इज्जत जाँदैछ ।’