विजयपुर । तीन वर्षमा सम्पन्न गर्नुपर्ने अँधेरी खोलाको पुल ठेक्का लागेको पाँच वर्षमा पनि सम्पन्न भएको छैन । 

धरान उपमहानगरपालिका–५ तल्लो देउराली र खैरेनीसहित धरान–६ माथिल्लो पानबारी जोड्ने अँधेरी खोलाको पुल ठेक्का लागेको ५ वर्षमा पनि सम्पन्न भएको छैन । ठेकेदार कम्पनी मृत सञ्जीवनी निर्माण सेवा कम्पनीले सम्झौताअनुसार ३ वर्षमा सम्पन्न गर्नुपर्ने थियो ।

तर, पुल ५ वर्षसम्म पनि सम्पन्न नगर्दा यात्रुले सास्ती पाउँदै आएका छन् भने स्थानीयहरू पनि धुलोबाट पीडित बन्दै आएका छन् । ५ वर्षसम्म सम्पन्न नभएको अँधेरी खोला पुलको काम गत असारदेखि ठप्प भएको थियो भने हालसम्म पनि सुरु भएको छैन । स्थानीयका अनुसार असार अन्तिमदेखि काम बन्द भएको थियो । स्थानीयले साउनदेखि  ठेकेदार पनि पुलमा नआएको बताएका छन् ।

सङ्घीय सरकारको आयोजना अन्तर्गत ५ वर्ष पहिले मृत्त सञ्जीवनी निर्माण सेवाले ५ करोड ४२ लाखमा ठेक्का लिएको थियो । निर्माण सेवा कम्पनीले ३ वर्षका लागि ठेक्का पारे पनि ५ वर्षसम्म पुल सम्पन्न नगरेको हो । मृत सञ्जीवनी निर्माण सेवाका हजमुल मियाँले ३ वर्षमा सम्पन्न गर्नका लागि ५ करोड ४२ लाख रुपैयाँमा ठेक्का पारेको बताएका छन् । उनले भने, ‘पुरानै ठेक्का हो । कोभिडका कारणले काम गर्न नपाउँदा सम्पन्न भएन । म्याद थप भएको छ ।’

धरान–५ वडाध्यक्ष मनप्रसाद लिम्बूले कोरोनाकालपछि पनि काम गरेका भए पुल सम्पन्न गर्ने समय भए पनि काम नगर्दा समस्या भएको बताए । उनले भने, ‘२०७९ को असार मसान्तमा नै सम्पन्न गर्ने हस्ताक्षर गरेको थियो । पुनः समय थपिदिएछ ।’ उनले आफूले बारम्बार ठेकेदार कम्पनीलाई ताकेता गरेको बताएका छन् ।

तर, ठेकेदार कम्पनी मृत सञ्जीवनीले काममा ढिलासुस्ती गर्दा सम्पन्न नभएको स्थानीयले बताएका छन् । यता ठेकेदार कम्पनीका मियाँले कोरोना कारणले काम गर्न नपाएकाले म्याद थप भएको बताएका छन् । उनले वर्षाका समयमा बाटो खोल्नका लागि काम बन्द गरेकाले काम रोकिएको दाबी गरे ।

उनले भने, ‘वर्षामा बाटो खोल्नका लागि काम बन्द गरेको हुँ । आवत–जावत नै बन्द गर्न मिलेन ।’ उनले पुल निर्माण सम्पन्न गर्नका लागि चैतसम्म म्याद थप गरेको बताए । उनले भने, ‘चैतसम्म म्याद थप भएको छ । भोलिदेखि नै काम गर्छौैं ।’ उनले एक महिनाभित्रमा पुल सम्पन्न गर्ने बताएका छन् ।