धनकुटा । धनकुटामा ९ वर्षअघि नवजात शिशुलाई कर्तव्य गरी मारेर फरार रहेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी धनकुटामा सोमबार सार्वजनिक गरेको छ ।

वि.सं.२०७० साल असार ७  गते नवजात शिशुको हत्या गरी धनकुटा नगरपालिका–५ बिहीबारे हटियाको खोल्सीमा फाली फरार रहेका साविक भोजपुर जिल्लाको सिद्धेश्वर गाविस हालको भोजपुर नगरपालिका वडा नंं. ४ घर भएका वर्ष ४३ का प्रेमकुमार राउतलाई प्रहरीले काठमाडौँ महानगरपालिका वडा नं. ९ गौशाला क्षेत्रबाट पक्राउ गरेको हो ।

उनी त्यहाँ नक्कली नाम दिएर होटल सञ्चालन गरेर बसेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राउतले एक महिलासँग अनैतिक सम्बन्ध राखी बच्चा जन्माएको र उक्त बच्चालाई मारेर फालेको कसुरमा पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उक्त कसुरमा जिल्ला अदालत धनकुटाको मिति २०७४ कात्तिक २० गतेको सर्वस्वसहित जन्मकैदको फैसला, उच्च अदालत विराटनगर धनकुटा इजलासको २०७५ असोज ८ गतेको  सुरु फैसला सदर र सर्वोच्च अदालतको २०७६ वैशाख १६ गतेको अन्तिम जन्मकैदको फैसला पाएका निजलाई प्रहरीले सार्वजनिक गरेको हो । उनलाई धनकुटा जिल्ला अदालतमा बुझाइएको एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।