विराटनगर । विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको ३३ लाखको सामानमा राजस्व छली भएको पुष्टि भएको छ ।
गत मङ्गलबार मोरङ प्रहरीले विराटनगरबाट राजस्व छली भएको आशङ्कामा ३३ लाखको मोटर्स पार्टपुर्जासहितको भारतीय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । राजस्व अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट भन्सारले जाँचपास गरेर छोडेको सामानमा सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गरी एजेन्टमार्फत् भन्सार कर्मचारीको मिलेमतोमा राजस्व छली भएको पुष्टि भएको हो ।
विराटनगरका ८ वटा फर्मले आयात गरेको उक्त सामानमा सन्दर्भ मूल्यभन्दा कम मूल्याङ्कन गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिबाना गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले जानकारी दिए । ‘आठवटा प्रज्ञापन पत्रबाट ३२ वटा आइटम आयात गरेकोमध्ये दुईवटा सामानमा सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गरेको पाइएको छ’ उनले भने, ‘यसरी मालवस्तुको सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गर्ने फर्मलाई जरिबाना तोकिएको छ ।’ उक्त सामान आयातका लागि सहजीकरण जानकी प्रसाद केन्द्रले गरेको थियो । उक्त केन्द्रका भन्सार एजेन्ट सञ्जय दुगड हुन् ।
यसरी राजस्वले जरिबाना तोकेको दुई दिन पनि बित्न नपाउँदै फेरि मोरङ प्रहरीले शनिबार विराटनगरबाट ट्रकसहित ३६ लाखको सामान नियन्त्रणमा लिएको छ । विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको ट्रकमा रहेको ३६ लाखको सामानमा राजस्व छली गरेको आशङ्कामा प्रहरीले इलेक्ट्रिक सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीले विराटनगर–१६ का ५६ वर्षीय ट्रक चालक रामविवेक महतोले भन्सार छली गरी भारतबाट नेपालतर्फ ना.३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको इलेक्ट्रोनिक सामान र ट्रकसहित अन्दाजी ३६ लाख बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्रकसहितको सामान आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको डिएसपी श्रेष्ठले बताए । एजेन्टले सामान ढुवानीकर्तासँग ‘सेटिङ’ मिलाएर भन्सारका कर्मचारीले सामानको मूल्याङ्कन कम गरिदिने तथा कम परिणाम देखाएर बढी सामान ढुवानीको व्यवस्था मिलाइदिने गरेको उल्लेखित घटनाक्रमले पनि पुष्टि हुने गरेको छ ।
भन्सारबाट जाँचपास भएर निस्किएका सामान लोड गरिएका ढुवानीका साधनलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएपछि राजस्वले अनुसन्धान अघि बढाउँदा कर्मचारीको मिलेमतोमा भन्सार छली भएको पुष्टि हुने गरेको छ । विराटनगर भन्सार कार्यालयले आयातका लागि योग्य भन्दै छाडेका धेरैजसो ढुवानीका साधन अचेल प्रहरी फन्दामा पर्दै आएका छन् । भन्सारले छाडेपछि पनि प्रहरीले किन धमाधम नियन्त्रणमा लिँदैछ ती साधन र आयात गरिएका सामग्री ? ‘भन्सारले प्रक्रिया पूरा गरेर छाडेको कागज दिएको त हुन्छ तर, ढुवानीकर्तासँग ती सामान वैध हुन् भन्ने कुनै प्रमाण हुँदैन’ मोरङका एक प्रहरी अधिकारी भन्छन्, ‘कागजात केही हुन्न । सामानमात्रै हुन्छ । भन्सारले कसरी छाडिरहेको छ, हामी आफै अचम्मित छौं ।’
प्रहरीलाई छक्क पार्ने यस्ता घटना पछिल्लो एक सातामा झन् धेरै भए । भन्सारले सजिलै छाडेका ढुवानीका सामान बोक्ने साधनहरू प्रहरीले नियन्त्रणमा लिनुको कारण के हो ? ‘विराटनगर भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा भन्सारबाट न्यून मूल्याङ्कन कायम गरी सामान भित्रिने गरेको बताउँदै विराटनगर भन्सार स्रोतले भन्यो, ‘यो त्यसैको परिणाम हो ।’ यसअघि भन्सारबाटै जाँचपास भएर निस्किएको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको थियो । सुपारीको जाँचपासलाई लिएर उच्च अदालत विराटनगरले प्रश्न उठाएको छ । यद्यपि राजस्व अनुसन्धान कार्यालयले अहिलेसम्म सुपारीको अनुसन्धान अघि बढाएको छैन ।
यसअघि भन्सार कार्यालयदेखि निस्किएको सामानमा न्यून मूल्याङ्कन र भेइकल एन्ड कन्साइन्मेट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पनि नगरेको भेटिएपछि विराटनगरको शिवम् मोटर्स पार्टस् र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारबाही गरेको थियो । भिसिटिएस नगरी सामान आयात गर्ने फर्मलाई ३ लाख र न्यून मूल्याङ्कन गरी भन्सार छली गरेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरिबाना भएको छ ।
गत असोज १३ गते साँझ भीसीटीएसमा गाडी नम्बर उल्लेख नगरी भन्सार जाँचपास गरेर यार्डबाट निस्किएको ३४ लाख मूल्यको कपडा, मोटर्सको पार्टपुर्जा र हार्डवेयरको सामान लोड गरिएको बीआर ३८ डी ३२४३ नम्बरको ट्याक्टरलाई सशस्त्र प्रहरीको रानी सीमा आउट पोष्ट (बिओपी) ले नियन्त्रणमा लिएको थियो । त्यसबेला ट्याक्टर चालक पङ्कज यादव पनि पक्राउ परेका थिए । यसअघि गत साउन पहिलो साता पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेन्टको मिलेमतोमा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेका दुई ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १८ लाख राजस्व ठगी भएको पुष्टि भएको थियो ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी राजेन्द्र ढुङ्गानाले नियमानुसार जाँच पास भएर गएको सामानमा कसरी सन्दर्भ मूल्य मिलेन आफूहरू अचम्मित भएको बताए । कर्मचारीको लापरबाहीले सन्दर्भ मूल्याङ्कन घटाएर राजस्व छली गरेको पाइए कारबाहीको दायरामा ल्याउने उनले बताए । ‘अहिलेसम्म हामीलाई राजस्वले कुनै पनि आधिकारिक रूपमा पत्र पठाएको छैन’–उनले भने । सन्दर्भ मूल्याङ्कन कम देखाएर राजस्व छलीको घटनामा विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाको समेत मिलेमतो रहेको आशङ्का गरिएको छ । घटनाको विषयमा बुझ्न सापकोटालाई बारम्बार सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।