धनकुटा । चोरी, डकैती तथा ठगीजस्ता शृङ्खलाबद्ध अपराध बढिरहेकाले त्यसलाई रोक्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रहरी कार्यालय विराटनगरलाई ज्ञापन–पत्र बुझाएको छ । 

फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामाका अनुसार पहाडबाट झरेका सोझा, सिधा सर्वसाधारणलाई लक्षित गर्दै घटना भएको बताए । प्रदेश प्र्रहरी प्रमुख डिआइजी सुदीप गिरीलाई शुक्रबार ज्ञापन–पत्र बुझाएका हुन् । धरानलाई ट्रान्जिट पोइन्ट बनाएर भेडेटार, इटहरी आसपासको क्षेत्र, तरहरा हुँदै धरानक्षेत्रमा पछिल्लो २ वर्ष यता सर्वसाधारण बढी ठगिएको ज्ञापन–पत्रमा उल्लेख छ ।

प्रदेश नं.१ का अन्य स्थानको तुलनामा सुनसरीको धरान र इटहरीमा ठगी गर्ने गिरोह सक्रिय रहेको ज्ञापन–पत्रमा उल्लेख छ । अपराधीहरूले नक्कली सुनको टिल देखाएर किन सर्वसाधारण ठगिरहेका छन् ? भन्ने प्रश्न आम नागरिकमा उब्जिएको भन्दै प्रहरी प्रमुख गिरीलाई ज्ञापन–पत्रमार्फत् ध्यानाकर्षण गराइएको अध्यक्ष लामाले बताए ।

डिआइजी गिरीले ठगीजस्ता अपराधलाई नियन्त्रण गर्न प्रहरी सर्चका लागि निर्देशन दिने प्रतिबद्धता जनाए । उनले तत्काल मातहतमा रहेका प्रहरी अधिकारीहरूलाई फोन गरेर सुनसरी जिल्ला अन्तर्गत इटहरी, तरहरा र भेडेटार आसपासका क्षेत्र हुँदै धरानमा भइरहेको ठगीको घटनामा संलग्न गिरोहलाई पक्राउ गर्न निर्देशनसमेत दिए । प्रदेश प्रहरी प्रमुख गिरीले ठगीको घटनामा पीडित स्वयम्को पनि कमीकमजोरी र संलग्नता हुने हुनाले पत्रकारहरूले सचेतनाको लागि कलम चलाइदिन आग्रह गरे ।

गत भदौ २ गते धनकुटा नगरपालिका–६ का ७४ वर्षीय जिम्मा दोर्जे लामा धरानको भोटेपुलमा ठगीमा परेका थिए । ठगिएका वृद्धले आफूलाई इटहरीबाट पिछा गरी धरानमा झारेर ठगी गरेको बताएका थिए । त्यस्तै गत जेठ २० गते पनि धनकुटा–१ सिप्तिङका ६६ वर्षीय चन्द्रबहादुर राई पनि धरानमै ठगिएका थिए ।

तत्कालीन समयमा उनको आधा तोलाको सुनको औँठी ठगी गरी फरार भएको बताएका थिए । फोनिजले दशैँका बेलामा थप ठगिन सक्ने भन्दै प्रहरी र सर्वसाधारण सबैलाई सचेत रहन ज्ञापनपत्रमार्फत् अपिल गरिएको छ ।