विराटनगर । विराटनगरमा एक १८ वर्षीया किशोरीमाथि फिल्मीशैलीमा बलात्कार भएको छ ।

उनका प्रेमीलाई पाँचजना युवाले कब्जामा लिएर प्रेमिकामाथि सामूहिक बलात्कार भएको हो । प्रेमीसँग जन्मदिन मनाएर घर आउँदै गरेकी ती किशोरीलाई पाँचजना युवाले सामूहिक बलात्कार गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–४ इक्राहीका २९ वर्षीय सन्तोष मण्डल रहेका छन् । पक्राउ परेका मण्डल सामूहिक बलात्कार गर्नेमध्येका एक रहेको प्रहरीको भनाइ छ । उनका अन्य चारजना साथीहरू फरार छन् । फरारको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।

विराटनगर–१६ घर भएकी ती किशोरीको १६ भदौमा जन्मदिन रहेको थियो । उनको जन्मदिन प्रेमीले विराटनगरस्थित कोसी अस्पतालअगाडिको एउटा क्याफेमा मनाए । प्रेमिकाको जन्मदिन मनाएपछि ती युवाले मोटरसाइकलमा राखेर घर पु¥याउन हिँडे । घर पुग्नुभन्दा अगाडि उनीहरू विराटनगर–१४ जतुवाअगाडिको नहरमा गफ गरेर बसेका थिए ।

प्रेमी र प्रेमिका गफ गरेर बसिरहेका बेला पाँचजनाको समूहले युवालाई नियन्त्रणमा लिएर युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘गफ गरेर बसिरहेका बेला मादकपदार्थ सेवन (मापसे) गरी राति आएका युवाहरूले केटालाई नियन्त्रणमा लिएछन् । दुईजना केटाले प्रेमीलाई नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘त्यसपछि उक्त समूहको नियन्त्रणबाट युवा उम्किएर भाग्न सफल भए । तर, भाग्न खोजे पनि लखेट्दै गएर युवतीलाई भने आफ्नो कब्जामा लिँदै सामूहिक बलात्कार गरेको पाइयो ।’

भाग्न सफल भएका युवाले गाउँमा गएर हो–हल्ला गरे । स्थानीयहरू जम्मा हुन थालेपछि बलात्कारमा संलग्नहरू युवतीलाई छाडेर घटनास्थलबाट फरार बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटबाट युवा र युवतीको टाउको, अनुहार, कुहिनालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि उनीहरू घर फर्किएका छन् ।

अर्को पनि सामूहिक बलात्कार
यस्तै मोरङको जहदा गाउँपालिका–७ मा भदौ १६ गते राति १० बजे ३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुईजना युवालाई पक्राउ गरेको छ । प्रहरीले जहदा–७ का २८ वर्षीय सञ्जय सोरेन र २५ वर्षीय राहुल साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

चिनजानकै युवाले बोलाएर लगेपछि घरनजिकको खेतमा पु¥याएर महिलालाई सामूहिक बलात्कार गरेको डिएसपी श्रेष्ठले बताए । महिलाको मुख थुनेर पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो । पक्राउ परेका दुवैलाई मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।