विराटनगर । प्रदेश १ सरकारले चार वटा सरकारी अस्पतालाई विरामी बोक्ने सुविधा सम्पन्न एम्बुलेन्स दिएको छ । प्रदेश १ मा रहेका झापाको मेची हस्पिटल, उदयपुर हस्पिटल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी र इनरुवा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरि उक्त हस्पतालाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, स्वास्थ्यमन्त्री जयराम यादवले हस्तान्तरण गरे । २१ प्रकारका स्वास्थ्य उपकरणहरू जडान गरिएको अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेहरू अस्पताललाई हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए ।
‘सरकारले वितरण गरेको एम्बुलेन्स ‘ख’ वर्गमा पर्दछ । रिफर गर्नुपर्ने विरामीलाई यो एम्बुलेन्समा राखेर अर्को अस्पतालसम्म लैजान आवश्यक पर्ने उपकरणहरू गरिएको छ,’ उनले भने । एम्बुलेन्स भित्र इसीजि, मनिटर, नभुलाइजर व्याग, सिपीआर बोर्ड, अक्सिजनलगायतका उपकरणहरू जडान गरिएको उनले बताए ।
‘सिकिस्त भएका विरामीलाई थप उपचारको लागि अर्को सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने अवस्थामा आएको खण्डमा यो एम्बुलेन्स प्रयोग गरेर विरामीको ज्यान बचाउन प्रदेश सरकारले एम्बुलेन्स ल्याएको हो,’ उनले भने ।
कोभिड १९ को महामारीको बेला उपचार नपाउँदै बाटैमा विरामीको मृत्यु हुने गरेको थियो । यसरी बाटैमा उपचार नभएर विरामीको मृत्यु हुन नदिन स्वास्थ्य उपकरण जडान गरिएको एम्बुले खरिद गरेर अस्पतालाई वितरण गरेको उनले बताए । भन्सार छुटमा ल्याएको एम्बुलेन ५९ लाखमा खरिद गरेर सरकारले वितरण गरेको हो ।
प्रदेश सरकारले थप पाँच अस्पतालमा पनि एम्बुलेन्स अर्को चरणमा वितरण गर्ने तयारी गरेको छ ।