विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा बच्चाको क्यान्सरको उपचार सेवा सुरु गरेको छ । कान्ति बाल अस्पतालसँगको सहकार्यमा अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले जानकारी दिए ।
कान्ति बाल अस्पतालबाट बच्चाका क्यान्सर रोग विशेषज्ञ डा. विश्व गिरीसहितको टिम आएपछि अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको हो ।
क्यान्सरको उपचारको लागि कोसी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीको नेतृत्वमा टिम रहेको छ । ‘क्यान्सर लागेका बिरामी बच्चालाई काठमाडौं लानुपर्ने अवस्था थियो । त्यसको अब अन्त्य भएको छ’ मेसु खरेलले भने, ‘अब कोसी अस्पतालमा क्यान्सर भएका बच्चाको सफल उपचार हुनेछ ।’
अस्पतालमा चाँडै मिर्गौला प्रत्यारोपणको लागि तयारी गरिँदै आएको मेसु खरेलले बताए । मानव अङ्ग प्रत्यारोपरण केन्द्रसँग सहकार्य गरेर मिर्गौला प्रत्यारोपण गरिने उनले बताए । यसको लागि तयारी भइरहेको जानकारी दिए ।
२५ शय्याको आइसियु
कोसी अस्पतालमा आइसियुका शय्या वृद्धि गरिएको छ । १२ शय्या रहेको आइसियु कक्षलाई ५० शय्यामा पुर्याएको अस्पतालका मेसु यज्ञराज खरेलले बताए । ‘बिरामीको चाप बढेपछि आइसियुको शय्या थप गरिएको छ’ उनले भने, ‘यसको लागि बजेट सङ्घीय सरकारले विनियोजन गरिदिएको छ ।’
अस्पतालमा गरिने ल्याव रिपोर्ट पनि अनलाइन प्रणालीबाटै वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए । ‘अस्पतालमा गरिने प्रयोगशालाको रिपोर्ट अनलाइनबाट दिने प्रणालीको विकास गर्ने तयारीमा रहेका छौं’ उनले भने, ‘चाँडै ल्यावको रिपोर्ट पनि अनलाइनबाटै दिनेछौं ।’