विराटनगर । नेपालबाट भारततर्फ मानव अंगको तस्करी हुने गरेको पाइएको छ । तस्करी हुन लागेको मानव अंग सहित प्रहरीले एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।
विराटनगर १५ रानी नाकादेखि भारततर्फ तस्करी हुन लागेको मानव अंगसहित भारत बिहार प्रदेश पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई सशस्त्र प्रहरीले मंगलबार पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) रानीका सशस्त्र प्रहरी निरीक्षक प्रभात गौतमको प्रहरी टोलीले उनलाई मानव अंगसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले उनको साथबाट मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुर्कुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ । सिंन्हाले कार्टुनमा राखेको मानव अंग प्रहरीले बरामद गरेको थियो ।
उनको साथबाट प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसिपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमामा बुझाउने सशस्त्र प्रहरी बल मोरङ प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । नेपाल प्रहरीको अनुसन्धानपछि थप विषय खुल्ने उनले बताए ।
सशस्त्र प्रहरीले यसअघि पनि भारतबाट नेपालतर्फ मानव अंग तस्करी गरेर ल्याउने क्रममा विराटनगर १५ रानीदेखि बरामद गरेको थियो । प्रहरीले विराटनगरको ढाटबाट गत असोज १८ गते मारुती भ्यानमा हालेर भारत लैजाने तयारी गरेको अवस्थामा मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो । प्रहरीले त्यसबेला भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई पक्राउ गरेको थियो ।
यस घटनाले भारतबाट नेपाल र नेपालबाट भारततिर मानव अगंको तस्करी भइरहेको पुष्टि गर्दछ । अवैध धन्दा नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रको विशेष टोली परिचालित रहेको उनले बताए । उनका अनुसार सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिस र सवारी साधनमाथिको चेकजाँच तीव्र बनाइएको छ ।
‘सीमा क्षेत्रबाट यस्ता वस्तु बरामद हुनु निक्कै गम्भीर विषय हो,’ उनले भने, ‘त्यही भएकाले निगरानी बढाएर उच्च सतर्कता अपनाउँदै कडाई गर्न थालिएको छ ।’ प्रहरीले उक्त वस्तु परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ ।
प्रहरीले सोधपुछ गर्दा उनीहरूले उक्त वस्तु कहाँबाट ल्याएको र कसको हो भनेर नबताएको एसपी लामिछानेले बताए । बरामद गरिएको मानव अंग कति पुरानो हो भन्ने पनि खुल्न बाँकी छ । तर विगतका केही घटनाबाट भने मानव खप्पर र हड्डीको तस्करी हुने गरेको पुष्टि भइसकेको छ । मान्छे मरेपछि जातीय परम्परा अनुसार दाहसंस्कार गरिन्छ । कतिपय जातजातिले शवलाई आगोमा जलाएर नष्ट गर्छन् भने कतिपयको जमिनमा गाडेर अन्त्येष्टि गर्ने परम्परा छ ।
शव गाडेको ठाउँबाट भने खोतलेर मानव अंगहरु निकाल्ने गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ । तर केका लागि हो भन्ने अहिलेसम्म यकिन हुन सकिरहेको छैन । ‘पैसा कमाउने ध्याउन्नमा रहेका तस्करहरूले चिहान खनेर मानव खप्परलगायतका अंग सङ्कलन गर्छन् । कतिपय घटनाले काठमाडौँमा मानव खप्पर र हाड खोर किनबेच भइरहेको देखाएको थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
मानव खप्पर र नली हड्डीको प्रयोगको कुनै वैज्ञानिक आधार भने भेटिएको छैन । तर अपराध मानेर यसको उत्खनन्, ओसारपसार र कारोबारमा प्रतिबन्ध लगाइएको छ । प्रहरीका अनुसार तान्त्रिक विद्या, धन प्राप्ति लगायतका लागि भनेर भ्रम छरिएका कारण तस्करी हुने गरेको पाइन्छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनले भारतका सङ्ग्रहालयमा विक्रीका लागि लान लागेको आशंका गरेको छ ।
पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसार पसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्नेभएकोले साथीसँग मागेर लैजान लागेको बताए । उनले आफू हाल एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नशीपमा रहेको बताएका छन् ।