धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि ‘घोपा बचाउ अभियान’ चलाइरहेको ‘हामी नेपाल’ समूहले अभियान नचलाउन राजनीतिक दबाव आएको बताएको छ ।

एक साताभन्दा लामो समयदेखि प्रतिष्ठानको डेन्टल गेटअगाडि शान्तिपूर्ण आन्दोलन गरिरहेको समूहले आफूहरूले विशुद्ध रूपमा अस्पतालको सुधारका लागि दबावमूलक अभियान सञ्चालन गरिरहेको तर, आन्दोलन रोक्न विभिन्न दबाव आउन थालेको जनाएको छ । सोमबार धरानको हाङ्कुक साराङ रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुदन गुरुङले भने, ‘हामी कुनै राजनीतिक दलमा आबद्ध छैनौं । अस्पतालको बेहाल देखेर सुधारका लागि सहयोग गर्न मात्र आएका हौं । अरू केही उद्देश्य छैन ।’

प्रतिष्ठानबाहिर हरेक दिन आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा ‘हामी नेपाल’ समूहले धरानवासीलाई प्रतिष्ठान सुधारका लागि दबाव दिन आह्वान गर्दै प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीको मोबाइल नम्बर सार्वजनिक गरेका थिए । उपकुलपति गिरीको नम्बरमा धेरैले म्यासेज गरेर प्रतिष्ठान जोगाउन आग्रह गरेका थिए ।

तर, उपकुलपति गिरीले आफूलाई म्यासेजमार्फत् धम्कीसमेत आएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अभियानकर्मीलाई बोलाएर आइतबार सोधपुछ गरेको थियो । संयोजक गुरुङले घोपा बचाउ अभियान रोक्न राजनीतिक दलका नेताहरूले प्रहरीलाई दबाव दिइरहेको बताए । उनले भने, ‘प्रहरीलाई धेरै नेताले फोन गरेर दबाव दिएका रहेछन् । क–कसले दबाव दिएका छन् भन्ने थाहा छ तर, अहिले नाम सार्वजनिक गर्दैनौं । आवश्यक परेमा गरौंला ।’

उनले आफ्नो समूहबाट कसैले पनि उपकुलपतिलाई धम्की दिने काम नगरेको बताए । उपकुलपति सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनको मोबाइल नम्बर भने साङ्केतिक रूपमा दबाव दिनका लागि सार्वजनिक गरेको बताए तर, कसैलाई हानि हुने काम नगरेको गुरुङले बताए ।

पूर्व महान्यायाधिवक्ता डा.युवराज सङ्ग्रौलालगायतसँग कानूनी परामर्श र सहयोग लिएर आफूहरूले अभियान थालेको र अहिले धरानसँगै काठमाडौंमा पनि आन्दोलन सुरु भएको संयोजक गुरुङले बताए । उनले घोपा बचाउन अभियान चाँडै पोखरामा पनि थालिने बताएका छन् ।

धरानवासीले बीपी प्रतिष्ठानभन्दा ‘घोपा क्याम्प’ का नामले चिन्ने भएकाले ‘घोपा बचाउन अभियान’ नामबाट आन्दोलन सुरु गरेको बताउँदै उनले भने, ‘हाम्रा मागहरू कुनै पनि राजनीतिक छैनन्, हामी कसैको झण्डा बोक्दैनौं । हामी अस्पताल सुधार होस् भन्ने चाहन्छौं । यदि धरानवासीले यो आवश्यक छैन भन्छन् भने हामी फर्कन्छौं ।’ अभियन्ताहरू काठमाडौंबाट आएका हुन् । उनीहरूले काठमाडौंमा पनि ठूला अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रतिष्ठानमा लामो समयदेखि भइरहेको बेथितिबारे उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषी कर्मचारी तथा पदाधिकारीमाथि कारबाही गर्नुपर्ने, वैकुण्ठ अर्यालको नेतृत्वमा तयार गरिएको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन तुरुन्त लागू गर्नुपर्ने, खरिद तथा टेण्डर प्रक्रिया पारदर्शी बनाउन सम्पूर्ण विवरण वेबसाइटमा राख्नुपर्ने, समस्या समाधान गर्न नसके जिम्मेवारीमा रहेका पदाधिकारीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेलगायतका माग गर्दै ‘हामी नेपाल’ समूह आन्दोलित छ । आन्दोलनमा धरानको युवापुस्ताले पनि सहयोग गरिरहेको छ । तर, राजनीतिक दलहरूले भने यस विषयमा बोलेका छैनन् ।

संयोजक गुरुङले दबावमूलक आन्दोलनबाट समस्या समाधान नभए स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय घेर्ने, त्यसपछि पनि समस्या समाधान नभए सामूहिक अनसन बस्ने बताए ।