धरान । छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ ।

यो भेरियन्ट १० गुणा बढी सङ्क्रामक रहेको बताइन्छ । विज्ञहरूले यो भाइरस नेपालमा पनि फैलिन सक्ने जनाएका छन् । ओमिक्रोनकै ‘एक्सई’ भेरियन्ट देखिएको जनाइएको छ ।

ओमिक्रोनका यसअघि देखिएका बिए १, र बिए २ भन्दा दश गुणा बढी सङ्क्रामक रहेको बताइन्छ । यो भाइरस भारतसँगै थाइल्यान्ड, न्यूजिल्यान्ड र बेलायतमा पनि देखिएको छ ।

ओमिक्रोनको भेरियन्ट नै उत्परिवर्तन (म्युटेसन) भई नयाँ भेरियन्ट देखापरेको जनाइएको छ । ओमिक्रोनमा पनि ३२ गुणासम्म उत्परिवर्तन गर्ने क्षमता रहेको यसअघि नै विश्व स्वास्थ्य सङ्गठनले जनाएको थियो । धेरैमा एकैपटक सङ्क्रमण फैलाउन सक्ने भएकाले यस भाइरसलाई ‘हाइब्रिड’ भाइरसका रूपमा विश्व स्वास्थ्य सङ्गठनले मानेको छ ।

नेपालमा भने हालसम्म यो भेरियन्टबाट सङ्क्रमित भएको पुष्टि भइसकेको छैन तर, भारतसँगको खुल्ला सीमाका कारण पनि चाँडो फैलिन सक्ने अनुमान गरिएको छ ।

विज्ञहरूले यसलाई खतरापूर्ण हुने भनी बताएका छैनन् । किनकि यसअघिको डेल्टा भेरियन्ट एकदमै खतरनाक रहेको थियो । कुनै पनि भाइरसको उत्परिवर्तन जति चाँडो हुन्छ, त्यति नै खतरामुक्त हुने विज्ञहरूले जनाएका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाएका कारण पनि समस्या कम हुने बताइएको छ । तर, पनि सतर्कता अपनाउनका लागि भने आग्रह गरिएको छ ।