धरान/सौर्य हेल्थ केयर फाउन्डेशन प्रालिले सुनसरीका सञ्चारकर्मीहरुको निःशुल्क स्वास्थ्य जाँच गरेको छ ।
प्रालिले नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा पत्रकारहरुको निःशुल्क स्वास्थ्य जाँच गरेको हो । २०७० साउन २७ गते स्थापित प्रालिले सुनसरीका ३५ जनाभन्दा बढी पत्रकारहरुको निःशुल्क रुपमा मधुमेह, उच्च रक्तचाप, इसिजी, भिटामिन डि खोप प्रदान गरेको प्रालिका सञ्चालक एवम् डा. प्रमोद अग्रवालले बताए । उनले संस्थाले ‘प्रोजक्ट लाइफ’ नामक अभियानको तयारी गरेको बताए ।
सौर्यले समाजमा योगदान दिनेलाई सौर्य युथ अवार्डबाट सम्मानित गरिने भएको छ । यस अवार्डबाट यस वर्ष धरान उपमहागनरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश महेता र धरान ४ मा एकै स्थानमा वृद्धाश्रम र अनाथ बालबालिका आश्रम चलाउने कुशलजंग घलेलाई प्रदान गर्न लागिएको घोषणा गरेको छ । स्वास्थ्य महाशाखाका प्रमुख मेहताले नेपालमा सर्ने भन्दा नसर्ने रोगबाट मृत्यु हुने दर वृद्धि हुँदै गएको बताए । उनले नेपालमा ७९ प्रतिशत नसर्ने रोग जस्तै मधुमेही, उच्च रक्तचाप, क्यान्सर, दमबाट मृत्यु हुने गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले यस्ता कार्यक्रमले पत्रकारहरुको स्वास्थ्य जाँचमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका प्रदेश १ उपाध्यक्ष लवदेव ढुंगाना, महासंघ प्रदेश १ सचिव देवेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।