विराटनगर । नालामाथि सुतेको एक युवा । तन्ना ओढेका छन् । आगोले पोलेर कम्मरदेखि तलको भाग पिल्सिएको छ । तीन दिनदेखि विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक कक्षनजिकै उपचार नपाएर जीवन–मरणको दोसाँधमा छन्, धनकुटाको हिले घर बताउने ४० वर्षीय गोविन्द श्रेष्ठ ।
अस्पतालको आइसोलेसनमा बसेका उनी अत्यधिक पीडा भएपछि शनिबार घिसिँ्रदै बाहिर आए । उनको कम्मरदेखि मुनि दुवै खुट्टाको छाला पिल्सिएको छ ।
उपचार नपाउँदा घाउमा झिँगा भन्किएको छ । दुर्गन्धले छेउमा जान सक्ने अवस्था छैन । बिरामीसँग कोही पनि कुरुवा नभएका कारण इमर्जेन्सी शाखाले समेत उनको उपचारमा चासो दिएको छैन । गम्भीर बिरामी भए पनि उनलाई बेडमा समेत राखिएको छैन । उनी बोल्न सक्ने अवस्थामा छैनन् ।
रातको समयमा सिमेन्टको चिसो भूर्इंमा सुत्ने गरेको अस्पतालमा आएका अन्य बिरामीका कुरुवाहरूले बताए । कामविशेषले इमर्जेन्सी वार्डमा शनिबार गएका विनोद सिंहले बिरामीको दयनीय अवस्था रहेको बताए । सबैको साथ सहयोगले बेवारिसे बिरामीलाई बचाउनु पर्ने उनले बताए ।
बेवारिसे बिरामीहरूको जिम्मा विराटनगर महानगरपालिकाले लिनुपर्ने हो । तर, विराटनगर महानगरपालिकाले पनि चासो देखाएको छैन । बेवारिसे बिरामी हेर्ने एक जना कर्मचारी खटाएको थियो । नगरपालिकाले कर्मचारीलाई पैसा नदिएपछि बेवारिसे बिरामी हेर्ने कर्मचारी पनि आउन छोडेको बताइएको छ ।
कोसी अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. यज्ञ खरेलले सर्जरी वार्डमा बेवारिसे बिरामीलाई राखेर उपचार गरेपछि अलिक ठीक हुँदै गएको बताए । ‘सर्जरी वार्डमा राखेपछि अस्पतालले डिस्चार्ज दिएको थियो । बिरामीलाई स्याहार गर्ने मान्छे नहुँदा समस्या भएको हो । अहिले आइसोलेसनमा राखेर हेरचार गर्दै आएका छौं’–उनले भने । डा. खरेलले बेवारिसे बिरामीलाई हेरचार गरिदिने मानिसको आवश्यकता रहेको बताए ।
विराटनगरमा सामाजिक काम गर्दै आएको युवाहरूको समूहले विराटनगर महानगरपालिकासँग समन्वय गरी बेवारिसे बिरामीको उपचारमा सहयोग पुर्याएको बताएको छ ।
विराटनगर महानगरपालिकाको सीसीएमसीसँग सहकार्य गरेर बेवारिसे बिरामीको रेखदेखको लागि एक जना कर्मचारी खटाइएको बताउँदै फेरि पनि खटाउन आग्रह गरेपछि विराटनगर महानगरपालिकाले खटाइदिने बताएको समूहले जनाएको छ । खानपिनको व्यवस्था कोसी अस्पतालले गर्ने व्यवस्था मिलाएको पनि समूहले जनाएको छ ।