धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षको स्तरोन्नति गरिएको छ ।
आकस्मिक कक्षमा आउने बिरामीहरूलाई सुलभ र अझ बढी प्रभावकारी रूपमा उपचार सुविधा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण तथा बेडहरू वृद्धि गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आकस्मिक कक्षमा २० थान बेड तथा १५ थान ट्रली थप गरेको छ ।
त्यस्तै सिकिस्त तर, भेन्टिलेटरको आवश्यक नपर्ने बिरामीहरूका लागि हाईडिपेन्डेन्सी युनिट (एचडियु) बेडहरू पनि जडान गरिने प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणि पोखरेलले जानकारी दिए । उनले भने, ‘भविष्यमा आवश्यकता अनुसार बेडको सङ्ख्यामा पनि वृद्धि गर्दै लगिने योजना छ ।’
आकस्मिक कक्षमा आउने बिरामीहरूको चापलाई मध्यनजर गर्दै चिकित्सकहरूको लागि विज्ञापनसमेत खोलिएको सह–प्रवक्ता पोखरेलले बताए । उनका अनुसार आकस्मिक कक्षका आवश्यक स्थानहरूमा १० थान प्यासेन्ट मनिटर पनि जडान गरिएको छ । मनिटर जडानले बिरामीको स्वास्थ्य अवस्थाबारे लगातार निगरानी गरी बिरामीको गुणस्तरीय उपचार गर्नमा थप सहयोग मिल्ने प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी सिकिस्त बिरामीहरूका लागि डिफिब्रिलेटर, बिपप मेसिन, हाई फ्लो डिभाइसलगायत थप गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आकस्मिक कक्षमा आउने बिरामीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षणहरू इमर्जेन्सी ल्यावबाट नै गर्न सकिने व्यवस्था पनि गरिएकोले बिरामीले परीक्षणका लागि प्रतिष्ठान बाहिर जानु नपर्ने प्रतिष्ठानले जनाएको छ ।
बिरामीहरूलाई दबाव दिई वा विभिन्न प्रलोभन देखाई प्रतिष्ठानबाहिर परीक्षण गर्न पठाउने गरेको पाइएमा जो सुकैलाई पनि प्रतिष्ठानले कडाभन्दा कडा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।
आकस्मिक कक्षका बिरामीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण औषधिहरू पनि त्यहाँ रहेको फार्मेसीबाट सहजै उपलब्ध हुने व्यवस्था गरिएको जनाइएको छ । इमर्जेन्सीमा सरसफाइमा विशेष ध्यान दिई सम्बन्धित कर्मचारीहरूलाई तदारुकताका साथ सरसफाइमा ध्यान दिन निर्देशन दिइएको सह–प्रवक्ता डा.पोखरेलले बताए ।