धरान । परिवर्तनका लागि सामाजिक अभियानको तेह्रौं ‘सामाजिक स्वास्थ्य क्लिनिक’ धरान–१३ को कृषि उपज बजार स्थलमा गरिएको छ । 

बजारका व्यवसायी र धरान १३ वासीलाई लक्षित गर्दै क्लिनिक सञ्चालन गरिएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । अभियानले पाक्षिक रूपमा गर्दै आएको क्लिनिकमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरिएको छ । तर, कृषि बजारमा भने त्यहाँका व्यवसायीहरूको जाँच गरिएके थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा क्लिनिक गरिँदै आएको छ । 

samajik_healt_clinic_dharan (2)

कृषि बजार स्थलसँगको सहकार्यमा आयोजित क्लिनिकमा ७७ जनाले सेवा लिए । अध्यक्ष बरालका अनुसार स्वास्थ्यका लागि समय दिनेभन्दा पनि आफ्नो व्यापार, व्यवसायमा तल्लीन रहेका व्यवसायीलाई लक्षित गरी कार्यक्रम गरिएको हो । उनका अनुसार क्लिनिकमा सहभागीअनुसार उपलब्धिमूलक रहेको छ । अभियानका सदस्य तथा कार्यक्रम संयोजक त्रिभुवन बरालले वडामा रहेका ज्येष्ठ नागरिकलाई सेवा दिने उद्देश्ले अहिले वडा वडामा अभियान सञ्चालन गरिरहेको बताए । यसअघि भने धरान मोडल कलेजमा आयोजना हुँदै आएको थियो । नवौं संस्करणसम्म मोडल कलेजमा गरिएको भए पनि त्यसपछि धरान १८, धरान २, धुलिखेल समाज धरानमा कार्यक्रम गरिएको हो । 

क्लिनिकमा मुटु, उच्चरक्तचाप, मधुमेह रोगको परीक्षण गर्दै आइरहेको छ । डा. साहले मानिसहरूले आफ्नो स्वास्थ्यमा हेलचेक्राइ गर्ने र जब गम्भीर हुन्छन् तबमात्रै अस्पताल जाने प्रचलन रहेकाले यस्ता क्लिनिक प्रभावकारी भइरहेको बताए । कार्यक्रममा प्रतिष्ठानकी नर्स निशा श्रेष्ठले पनि सहयोग गरेकी थिइन् । कार्यक्रममा अभियानका अभियन्ताहरू वर्षा अग्रवाल, प्रशान्त अग्रवाल, विदुर थापा, विजय श्रेष्ठ, जेनिश शाक्य, निशान नेपाल, हेम ढकाल, चक्र खड्का, ऋषिराम भट्टराईलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रमको समापनमा धरानका पूर्व नगर प्रमुख तथा कृषि बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मनोजकुमार मेन्याङ्बोले युवाहरू मिलेर यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद प्रकट गरे । बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटुवालले अबका दिनमा मजदुरहरूका लागि पनि स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिदिन अभियानलाई आग्रह गरे ।