विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित हाडजोर्नी विभागका चिकित्सक डा. रोशन कलवारलाई नेपाल मेडिकल काउन्सिलले कारबाही गर्ने निर्णय गरेको छ ।
मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार चैत २ गते बसेको काउन्सिलको पुर्ण बैठकले डा. कलवारलाई १ महिनासम्म कारबाही गर्ने निर्णय गरेको हो ।
डा. कलवारले शल्यक्रिया कक्षमा चिकित्सकीय मूल्य, मान्यता र आचरणको न्यूनतम् मापदण्ड पालना नगरेकाले १ महिनासम्म कारबाही गर्ने निर्णय गरिएको हो । डा. अधिकारीले कारबाहीस्वरूप डा. कलवारलाई १ महिनासम्म अरूको निगरानीमा काम गर्न लगाइएको बताए ।
उनले भने, ‘१ म्हिनासम्म डिपार्टमेण्ट हेडको निगरानीमा काम गराउने र त्यसको रिपोर्ट काउन्सिलमा पठाउन लगाएका छौँ । गल्ती भेटिएमा थप कारबाही हुन्छ ।’ उनले भने, ‘डा. कलवारलाई विभागले साइन रड प्रयोग नगर्नू भनेको रहेछ । उनीहरूले सोही कुरा भनेकाले कारबाही भएन ।’
२०७८ पुस २७ गते सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साहको खुट्टाको शल्यक्रियामा कुन रड लगाउने विषयमा डा. कलवारको समूहमा विवाद उत्पन्न भएको थियो । विवादका कारणले ८ घण्टा बढी समय लगाएर शल्यक्रिया गरिएको थियो ।
बिरामीका आफन्तले चिकित्सकको लापरबाहीका कारणले ज्यान खतरामा परेको र खर्च पनि वृद्धि भएको भन्दै प्रहरीमा समेत उजुरी दिएका थिए । उक्त घटनाको विषयमा छानबिन गरी कारबाहीको माग गर्दै प्रतिष्ठान प्रशासनले काउन्सिलमा उजुरी दिएको थियो । डा. कलवार आफैले पनि उजुरी दिएका थिए ।
उजुरी परेपछि घटनाको छानबिन गर्न काउन्सिलका आचार–संहिता तथा स्वास्थ्य समिति संयोजक डा. हरिहर वस्तीको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको थियो । छानबिन समितिमा काउन्सिलका सदस्य डा. कालुसिंह खत्री र हाडजोर्नी विशेषज्ञ डा. गणेश गुरुङ सदस्य रहेका थिए ।
छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा काउन्सिलको पूर्ण बैठकले कारबाही गर्ने निर्णय गरेको हो । डा. कलवारले अमेरिकी दातृसंस्थाले निःशुल्क दिएको साइन नेल बिक्री गर्ने गरेको पुष्टि नै भएको थियो । उनले निःशुल्क रड बिक्री गरेको पीडितहरूले बताएका थिए ।
प्रहरीमा उजुरी दिएपछि डा. कलवारले पीडितहरूको पैसा फिर्ता दिई माफीसमेत मागेका थिए । बिक्री गरेको पुष्टि भएपछि प्रतिष्ठानले डा. कलवारलाई साइन नेल प्रयोग गर्न रोक लगाएको थियो । पुस २७ गते डा. कलवारले रोक लगाएको साइन नेल आफै झोलामा बोकेर ल्याई जबरजस्ती प्रयोग गर्ने प्रयास गरेका थिए । उनकै नेतृत्वमा रहेको अन्य चिकित्सकहरूले साइन नेल प्रयोगमा रोक लगाइएकाले प्रयोग नगर्न आग्रह गर्दा विवाद उत्पन्न भएको थियो ।