विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोरमैला व्यवस्थापन नगर्दा चौतर्फी चुनौती देखिएको छ ।

प्रतिष्ठान क्षेत्रपछाडिको चारकोसे जङ्गलपूर्व हरियाली वन क्षेत्रदेखि पश्चिममा प्रतिष्ठान क्षेत्रमा असरल्ल फोहोर देख्न सकिन्छ । उक्त फोहोर भने अन्त कहीँको नभएर प्रतिष्ठानकै हो । प्रतिष्ठानले फोहोर व्यवस्थापन नगर्दा प्रतिष्ठान पछाडिको क्षेत्र कुरूप बन्नुका साथै मानव स्वास्थ्य, पर्यावरणदेखि लिएर जलवायुमा समेत असर पर्दै आएको छ ।

प्रतिष्ठानमा विभिन्न प्रकारका फोहोर उत्पादन हुने गरेको छ । विशेषगरेर प्रतिष्ठानमा ‘इन्फेक्टेड’ र ‘नन् इन्फेक्टेड’ फोहोर उत्पादन हुन्छ । इन्फेक्टेड फोहोर प्रतिष्ठानले उपकरणको माध्यमबाट व्यवस्थापन गरे पनि नन् इन्फेक्टेड फोहोर प्लाष्टिक, सिसा, कागज, कपडा, प्याड, ग्लोब्सलगायतका फोहोर अव्यवस्थित तरिकाले फाल्ने गरिएको छ ।

ती फोहोर प्रतिष्ठान पछाडिको जङ्गल क्षेत्रमा फालिने गरेको छ । यस्ता फोहोर प्रतिष्ठानमा दैनिक ८ देखि १० हजार किलो उत्पादन हुन्छ । उक्त फोहोरको उपयुक्त व्यवस्थापन नहुँदा पर्यावरण, वनस्पति र मानव स्वास्थ्यमाथि नै असर पर्ने हुँदा चुनौती थपिँदै गएको छ । उक्त फोहोरमा आगो लगाउँदा बस्ती र जङ्गलमा धुवाँ फैलिन्छ । अहिले पनि जलाउने गरिएको छ ।

bp-fohor2

फोहोर व्यवस्थापन संवेदनशील विषय भए पनि प्रतिष्ठान प्रशासन उदासीन बन्दा चुनौती थपिँदै गएको हो । प्रतिष्ठानमा विभिन्न किसिमका फोहोर उत्पादन हुन्छन् । तिनीहरूको व्यवस्थापन गर्ने आ–आफ्नै प्रोटकलहरू रहेका छन् । तर, प्रतिष्ठानले प्रोटोकलको अवलम्बन गरेको देखिँदैन । जसका कारणले पर्यावरणदेखि मानव स्वास्थ्यमा जोखिम बढेको हो ।

धरान उपमहानगरका वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका वातावरण अधिकृत भेषराज घिमिरेले अस्पतालको फोहोरमैला छुट्टै किसिमको हुने हुँदा व्यवस्थापनको गाइडलाइन पनि फरक नै हुने बताए । उनले भने, ‘फरक–फरक फोहोरको व्यवस्थापन गर्ने प्रोटोकल पनि फरक नै हुन्छ ।’

अस्पतालका इन्जेक्सन, ब्लेड भएको फोहोरलाई अटोक्लेप गर्नुपर्ने र प्लाष्टिकजन्य फोहोरलाई रिसाइकल गरेर पुनः प्रयोग गर्नुपर्ने बताए । कुहिने फोहोर खाल्डो खनेर पुर्नु पर्ने उनले बताए । उनले नेपाल सरकारले नै फोहोर व्यवस्थापनमा ध्यान पुर्याउन नसकेको  बताए ।

उनले भने, ‘अस्पतालजन्य फोहोर पहिले निर्मलीकरण गरेर मात्रै व्यवस्थापन गर्नुपर्छ ।’ डम्पिङ गर्दा पनि कुकुर नपुग्ने स्थानमा गर्नु पर्ने उनको भनाइ छ । उनले नेपालमा ल्याण्डफिल्ड साइड नभएकाले समस्या भएको बताए । उनले फोहोरमैला जलाउँदा पर्यावरणमा असर पर्ने बताउँदै भने, ‘प्लाष्टिक जलाउँदा कार्बन डाईअक्साइड उत्पादन हुन्छ । यसले ओजोन तह पातलो हुन्छ । अन्ततः सबै क्षेत्रलाई असर गर्छ ।’

fohor-bp

लिक्विड भएका पदार्थहरू जलाउँदा वनस्पतिलाई पनि असर गर्छ । उनले भने, ‘प्लाष्टिकजन्य पदार्थबाट नाइट्रोजन उत्पादन भई वनस्पतिलाई असर गर्छ ।’ प्लाष्टिकजन्य फोहोर जलाउनाले क्यान्सर हुनसक्ने उनले बताए । यस विषयमा प्रतिष्ठानका सह–प्रवक्ता डा. चूडामणि पोखरेलले वार्डमा नै फोहोर फरक–फरक २ तरिकाले विभाजन गर्ने बताए ।

प्रतिष्ठानमा सामान्य फोहोर करिब ८ हजारदेखि  १० हजार किलो उत्पादन हुने बताए । उनले भने, ‘इन्फेक्टेड फोहोर प्रोटोकलअनुसार मेसिनबाट व्यवस्थापन गर्छौं । सामान्य फोहोर जङ्गलमा व्यवस्थापन गर्छौं ।’ उनले जङ्गलमा खाल्डो खनेर  गाड्ने गरेको बताए । तर, प्रतिष्ठानको कुनै पनि फोहोर गाडेको देखिँदैन ।

जलाउने गरेको पाइन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘दैनिक १० हजार किलो फोहोर खाल्डोमा हाल्दा पनि छिट्टै भरिने भएकाले बाहिर देखिएको हुनसक्छ ।’ उनले फोहोर व्यवस्थापनका लागि उपमहानगरसँगको समन्वयमा पानवारीमा रहेको फोहोरलाई प्रशोधन गरी वायो ग्याँस र कम्पोष्ट मल उत्पादन गर्ने भेन्चर वेस्ट टु इनर्जी प्रा.लि.लाई व्यवस्थापन गर्न दिने कुरा अघि बढेको बताएका छन् ।

उनले भने, ‘कुरा भए पनि ठोस निर्णय भएको छैन ।’ जङ्गल क्षेत्रमा चुरोट खानेहरूले आगो लगाइदिने गरेको बताउँदै उनले भने, ‘दिउँसो अस्थायी सुरक्षा व्यवस्था पनि गरेका छौँ ।’ तर, उक्त क्षेत्रमा सुरक्षाकर्मी भने देखिँदैन । उनले अहिले फोहोर व्यवस्थापनका लागि छुट्टै समूह बनाई गाइडलाइन बनाएको बताए ।

fohor-bp1