धरान । ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि उस्तै’ भन्ने उखान नेपालका कर्मचारीहरूको हकमा अति सुहाउँदो छ ।

सरकारले अहिले प्रविधिको विकाससँगै जनताको सुविधाका लागि धेरै कुरा अनलाइनबाट गर्न सकिने बनाएको छ । नेपालमा पनि कोरोना खोपका लागि सुविधासहितको अनलाइन क्युआर कोडमा सेटिङ गर्ने गरेको पाइएको छ ।

विदेश जाँदा अनिवार्य चाहिने कोरोना खोपको क्युआर कोडमा फारम परेको पाँच दिनसम्म रिजल्ट नदिएको पत्रकार गोपाल देवानले जानकारी दिए ।

उनले आफ्ना एक आफन्तलाई वैदेशिक रोजगारमा पठाउने क्रममा स्वास्थ्य मन्त्रालयको क्युआर कोड लिन सकिने अनलाइन साइट (https://vaccine.mohp.gov.np/public-request-form) प्रयोग गर्दा फारम भरेको ५ दिनसम्म रिजल्ट नदिएको बताए ।

छिटो छरितो र सहजताको लागि अनलाइन प्रविधि प्रयोग गरे पनि कर्मचारीको ढिलाइको शिकार आफन्त बनेको बताए । उनका अनुसार सबै डकुमेण्टहरू भरेर प्रविष्टि गर्दा तपाईंको डाटा सफलतापूर्वक प्राप्त भयो भन्छ तर, तल अर्को सूचना आउँछ– ‘तपाईंको आवेदन पुनः प्रमाणीकरणको प्रक्रियामा छ । धेरै नै आवेदन प्राप्त भइरहेकोले हाम्रो प्रमाणीकरण प्रक्रियामा केही ढिलाइ हुन गएकोमा हामी क्षमाप्रार्थी छौँ । केही समय प्रतीक्षा गर्नुहोला ।’

यो सूचना अफलाइनमा कुनै सरकारी कार्यालयमा आफ्नो काम लिएर गएका सेवाग्राहीलाई त्यहाँका कर्मचारीले कि खाजा, चिया खान गएको कि त अन्य काममै व्यस्त भएजस्तो गर्ने गरेको प्रसङ्गसँग दुरुस्तै मिल्छ । अन्य थुप्रै विदेशी वा देशकै शेयर भर्ने मेरो शेयर अनलाइनले विवरण भरेको १ मिनेटमै रिजल्ट दिइहाल्छ । जबकि अहिले कुनै आइपिओ खुल्दा नेपालमा २७, २८ लाखले आइपिओ भर्छन् तर, अनलाइन सेवामा ढिलासुस्ती हुँदैन ।

नेपालको अर्थतन्त्रको एक दर्बिलो खम्बा मानिएको रेमिट्यान्स वैदेशिक रोजगारमा गएका करिब ६० लाख नेपालीहरूको कमाइको परिणाम हो, जुन खरबौँ हुनजान्छ । तर, त्यसरी नेपाली अर्थतन्त्र धान्ने वैदेशिक रोजगारमा जान लागेकाहरूलाई विभिन्न प्रकारका दुःख दिने गरिएको छ ।

यो कोरोना खोपको अनलाइन रिजल्ट अर्को एक प्रकरण हो । कर्मचारीहरूले अनलाइन रिजल्टलाई समेत सेटिङका आधारमा चलाइरहेको नाम नबताउने सर्तमा एक म्यान पावर कम्पनीका सञ्चालकले बताए । उनले त्यसरी अनलाइन फारम भरेर नहुने, १०–१५ दिन नै लाग्ने बरु ब्रोकरलाई २५ सय दिएको खण्डमा ३ घण्टामै क्युआर कोड रिजल्ट हातमा आउने जानकारी दिए ।

पत्रकार देवानले पनि त्यही प्रक्रियाबाट मात्र काम बनेको बताए । ‘यसरी प्रविधिमा समेत सेटिङ गर्ने स्वास्थ्य मन्त्रालयको यो अनलाइन सेवालाई अनुगमन गर्ने कुनै निकाय छ कि छैन ?’–उनले प्रश्न गरेका छन् ।