धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज (मङ्गलबार) देखि बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरे पनि वैशाख १५ सम्म बिमित बिरामीको उपचार सेवालाई निरन्तरता दिने भएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले मागदाबी गरेअनुसार बोर्डले शोधभर्ना नगरेपनि सर्वसाधारणको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै थप एकमहिना जारी राख्ने जनाएका छन् । उनले भने, ‘बीपी प्रतिष्ठान स्वायत्त स्वास्थ्य शैक्षिक संस्था भएकाले सञ्चालनका लागि आफै आर्थिक आय आर्जन गरेर बिरामीहरूलाई सर्वसुलभ रूपमा सामान्यदेखि जटिल किसिमका उपचार सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ । बिरामीको उपचार गरेर आएको रकम नै मुख्य आयस्रोत हो । बिमा बोर्डले रकम नदिँदा आर्थिक सङ्कट आइलागेकाले बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गर्नुपरेको हो । तर, सर्वसाधारणको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर वैशाख १५ सम्म बिमा कार्यक्रम जारी राख्नेछौं ।’
उनले बिमा बोर्डले रकम नपठाइदिँदा प्रतिष्ठान चरम् आर्थिक सङ्कटमा परे पनि बिमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको बताए । बिमित बिरामीको उपचार सेवा गरेबापत प्रतिष्ठानले पाउनु पर्ने रकम करिब २६ करोड रुपैयाँभन्दा बढी छ । रकम उपलब्ध गराउनका लागि प्रतिष्ठानले यसअघि पटक–पटक ताकेता गरे पनि रकम नपाएपछि प्रतिष्ठानले चैत १५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने चेतावनी दिएको थियो ।
प्रदेश १ र मधेश प्रदेश, भारतीय सीमावर्ती क्षेत्रका जटिल बिरामीको उपचार गर्ने पूर्वकै एकमात्र रिफरल सेन्टर भएकाले तत्कालका लागि थप एक महिनासम्म बिमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए ।
उनले ०७४ साल साउनदेखि नेपाल सरकारको नीतिअनुसार बिमा बोर्डमार्फत् बिमा कार्यक्रम सञ्चालन गरे पनि बिमितको रकम शोधभर्ना प्रक्रियामा बोर्डले ढिलाइ गर्दा सरोकारवाला निकायसँग पटक–पटक छलफल र पत्राचार गरेको बताए । उनले भने, ‘तर समाधान नभएकाले एक महिना अघि विमा कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको थियो ।’
बोर्डले रकम नपठाएपछि अस्पताल सञ्चालनको मुख्य आयस्रोतको रूपमा रहेको दैनिक आम्दानीको ठूलो हिस्सा महिनौंसम्म प्राप्त नहुँदा आर्थिक सङ्कट आइपरेको उपकुलपति डा. गिरीले बताए । उनले बोर्ड र प्रतिष्ठानवीचको समस्या समाधान गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारबाट आवश्यक समन्वय गरी प्रतिष्ठान संचालनमा सहयोग गर्न अनुरोध गरेका छन् ।
प्रतिष्ठानले मागदाबी गरेअनुसार करोडौं रुपैयाँ बोर्डबाट नपाइरहेको बेला धरानका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी र अन्य केही राजनीतिक दलहरूले रकम ल्याउन विज्ञप्तिबाजी गरेपछि प्रतिष्ठानले आर्थिक सङ्कटको बेला राजनीतिकरण नगर्न आग्रह गरेको छ । प्रतिष्ठानको तर्फबाट उपकुपति डा. गिरीद्वारा जारी विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको नीति एवम् कार्यक्रमअनुसार सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमको विषयलाई लिएर विगत एक–दुई दिनदेखि विभिन्न सञ्चार माध्यम तथा प्रेस विज्ञप्ति जारी गरेर अनावश्यक टिकाटिप्पणी भएकोप्रति प्रतिष्ठानको ध्यानाकर्षण भएको छ ।
यसैबीच प्रतिष्ठानका प्रमुख प्रशासक अशोक साहले बिमा बोर्डले बिमितको उपचार सेवा गरेबापत प्रतिष्ठानलाई ०७४ साउनदेखि हालसम्ममा बिमित बिरामीलाई करिब ७७ करोड रुपैयाँको उपचार सेवा दिएको जनाएका छन् । उनका अनुसार ०७८ मङ्सिरसम्ममा बोर्डले ४७ करोड ७१ लाख ६१ हजार ७ सय ४० रुपैयाँ मात्र पठाएको बताए ।
उनले प्रतिष्ठानले बिमितको उपचार गरेबापत बन्ने कागजातहरूका आधारमा शोधभर्नाका लागि बोर्डमा मागदाबी पत्र पठाउने गरे पनि ती मागदाबीका १० देखि १५ प्रतिशत काजजातको प्रमाणीकरण नगर्दा पहिलेकै हिसाब थपिँदै करोडौं रुपैयाँ रकम हुनपुगेको बताए । यसैबीच सोमबार साँझ बिमा बोर्डले ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैयाँ पेस्कीस्वरूप प्रतिष्ठानको खातामा पठाएको अस्पताल प्रशसान प्रमुख साहले जानकारी दिएका छन् ।
प्रतिष्ठानका सह–प्रवक्ता डा.चूडामणि पोखरेलले प्रतिष्ठानले थप एक महिनासम्म बिमा कार्यक्रम स्थगित नगर्ने निर्णय गरेको तर, यो बीचमा सरोकारवाला निकायहरूले समस्या समाधानका लागि गम्भीरतापूर्वक भूमिका खेलिदिन आग्रह गरे ।
बिमा बोर्ड र प्रतिष्ठानबीच रकमको विवाद चलिरहँदा मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उस्तै समस्या रहेको खुलेको छ । बिमितको उपचारमा लागेको खर्च नदिएको भन्दै उक्त अस्पतालले चैत १५ गतेदेखि बन्द गर्ने चेतावनी दिएको छ । स्वास्थ्य बिमाबोर्डमा पत्र लेख्दै ३ करोड १७ लाख ४० हजार ९ सय ३० रुपैयाँ तत्काल नपठाए बिमा कार्यक्रम बन्द गर्ने चेतावनी दिएको हो ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेण्ट डा. रविकुमार साहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘०७७ पुस १६ गते ७ लाख १६ हजार रुपैयाँ बोर्डबाट पठाइएको भनिएकोमा हालसम्म उक्त रकम पनि प्राप्त भएको छैन । ०७८ चैत ३ गतेसम्म २२ हजार ५ सय ४४ जना बिमित बिरामीको उपचार गरेबापतको रकम ३ करोड १७ लाख ४० हजार ९ सय ३० रुपैयाँ बोर्डबाट पाउनुपर्ने देखिएको तर, उक्त रकम प्राप्त नभएकाले अस्पताल संचालन गर्न ओपिडि, ल्याव, इमर्जेन्सी, एक्स–रे, भिडियो एक्स–रे, अप्रेशन, डेण्टलमा अति आवश्यक सामग्री खरिद गर्न नसकिएको जानकारी गराउँदछौं ।’